५६ दिनअघिसम्म झम्सिखेलको माहोल अर्कै थियो । रेस्टुराँको हबको परिचय नै बनाएको यो क्षेत्र फरक स्वाद खोज्दै हिँड्नेहरूका लागि राम्रो गन्तव्य थियो । खानाका विविध परिकारसँग लाइभ म्युजिकले झम्सिखेल गुञ्जायमान रहन्थ्यो । कोरोना भाइरसको प्रसार रोक्न ११ चैतमा देशव्यापी लकडाउन गरिएयता झम्सिखेल फुर्सदमा छ । होटेल, रेस्टुराँ, पब र कफिसपमा ताल्चा झुन्डिएका छन् । विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको झम्सिखेलमा स्थानीय बासिन्दा पनि फाट्टफुट्ट मात्र देखिन्छन् अहिले ।
ललितपुरको झम्सिखेललाई काठमाडौंको पर्यटकीय केन्द्र ठमेलसँग तुलना गरिन्छ । त्यसैले हो, काठमाडौं उपत्यकाका बासिन्दाले यसलाई ‘झमेल’ उपनाम दिएको पनि । त्यो झमेल १० चैतसम्म लाइभ थियो, लकडाउनयता सुनसान छ । केही सपिङ मार्ट र किराना पसल वेला–वेलामा खुलेको देखिन्छ । छोटो समयमा दैनिक उपभोग्य वस्तु खरिद गर्न आउने ग्राहकबाहेकको चहल–पहल शून्य छ ।
लकडाउनयता झम्सिखेल फुर्सदमा छ । होटेल, रेस्टुराँ, पब र कफिसपमा ताल्चा झुन्डिएका छन् । स्वदेशी–विदेशी पर्यटकको आकर्षणको यो केन्द्रमा स्थानीय बासिन्दा पनि फाट्टफुट्ट मात्र देखिन्छन् अहिले।
पुल्चोकबाट हर्मन बेकरी सप हुँदै झम्सिखेल चोक पुग्दा स्वदेशी÷ विदेशी पर्यटकको बाक्लो चहलपहल देखिन्थ्यो । सडकसम्मै आइपुग्ने मगमग बासनामा झमेल मगमगाउँथ्यो । साँझ पर्नासाथ लाइभ म्युजिक घन्किन थाल्थ्यो ।
झम्सिखेल चोकको थकाली किचेनका कर्मचारीलाई ग्राहकलाई खाना पस्किन भ्याइनभ्याइ हुन्थ्यो । हाँसको छोइला पस्किने रेस्टुराँहरूमा बस्न टेबल खाली नभएर ग्राहकले पालो कुर्नुपथ्र्यो । अहिले थकाली किचेन मात्र होइन, ‘श्याम दाइ’ ‘दाजुभाइ’, ‘माइला दाइ’ र ‘दुर्गा भाउजू’का ‘स्पेसल हाँसको छोइला रेस्टुुराँ’ सबै लकडाउनमा छन् ।
पुल्चोकबाट झम्सिखेल छिर्ने चोकमै ग्राहकको भिडभाड रहने बोसोरहित मःम रेस्टुराँ बन्द छ । छेवैको ‘द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन’ पनि बन्द छ । अलि अगाडि उद्यमी अरुण चौधरीले पाँचतारे होटेल बनाउन जग खन्दै थिए, लकडाउनपछि बन्द भएको छ । लकडाउन भए पनि हर्मन बेकरी भने खुला छ ।
सानेपा हाइटमा रहेका पार्टी प्यालेस तथा ब्यांक्वेट ‘क्लासिक भेन्यु’ र ‘हेरिटेज गार्डेन’का गेटमा पनि ताल्चा झुन्ड्याइएको छ । छेवैमा रहेका ‘आमाको भान्छा’ र ‘द एल्लो हाउस’मा पनि ताल्चा मारिएको छ ।
सपिङ मार्टहरूमा भौतिक दूरी राखेर ग्राहक सामान खरिद गरिरहेका देखिन्छन् । झम्सिखेलका ‘सिङ–मा’, ‘रोडहाउस क्याफे’, ‘ड्यानराइन’, ‘मोक्ष’, ‘थाई घर’, ‘डोको डेली’, ‘चिकेन स्टेसन’, ‘सेभेन सिजन लङ एन्ड बार’, ‘चाइनिज हटपट’, ‘द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन’, ‘जिजी मचान’, ‘हिमालयन जाभा’, ‘रेडमड’, ‘जिम्बु थकाली’, ‘साकुरा जापानिज’ ‘द बफेट रेस्टुराँ एन्ड बार’ सबै बन्द छन् ।
अर्बपति व्यवसायी विनोद चौधरीको होटेल भिभान्ता मात्र होइन, ग्रेटर झम्सिखेलमा पर्ने कुपन्डोल हाइटका समिट होटेल, ग्रिनविच भिलेज, ट्र्यांकुलिटी स्पा, ब्रिजमान बेड एन्ड ब्रेकफास्ट, ब्ल्याक पेपर कफी एन्ड पब, म्याक्सिम ब्यांक्वेट पनि कोभिड–१९ महामारीको अन्धकार हट्ने प्रतीक्षामा छन् ।
देव कलेज, सेन्टमेरिज स्कुल, सेन्ट जेभियर्स स्कुल, आइडल मोडेल स्कुल र ब्रिटिस स्कुलले पनि झम्सिखेलको चमक थपिदिएका छन् । अहिले ती सबै बन्द छन् । साँझ–बिहान विद्यार्थी ल्याउन–लैजान लाइन लाग्ने नीलो, हरियो र रातो नम्बर प्लेटका महँगा गाडी अहिले देखिँदैनन् । विदेशी कूटनीतिक नियोग, आइएनजिओ, दातृ निकायका कर्मचारी र नेपालकै सम्भ्रान्त वर्गका छोराछोरीले ब्रिटिस स्कुलमा पढ्छन् ।
दुई दशकको चमक
ठमेल, दरबारमार्गलगायत पुराना हबहरूको विकल्पका रूपमा झम्सिखेल उदाएको दुई दशक पनि भएको छैन । सन् २००२ मा सिङ–मा रेस्टुराँ खुल्दा यो आवासीय क्षेत्र थियो । नेपालको सम्भ्रान्त वर्ग, विदेशी कूटनीतिक नियोग र दातृसंस्थाका कर्मचारी यतै बस्दै आएका छन् । तर, त्यतिवेला यो क्षेत्र रेस्टुराँको हब बन्ने कल्पना थिएन । मलेसियाका क्रिस्टिन र टिङलुङ तथा सिंगापुरका क्रिस्टिना र जेसनदम्पती मिलेर सिङ–मा रेस्टुराँ सञ्चालनमा ल्याए । उनीहरूले नै झम्सिखेलमा रेस्टुराँको बजार खोलिदिए ।
उनीहरूको रेस्टुराँले सिंगापुर र मलेसियाली परिकारका साथ नेपाली सम्भ्रान्त वर्ग र विदेशीलाई तान्यो । ग्राहकको चहलपहल बढेपछि सन् २००३ मा चन्दन कायस्थले रोडहाउस क्याफे सञ्चालनमा ल्याए । निराकार याक्थुम्बाले मोक्ष रेस्टुराँ खोले, जुन लाइभ म्युजिकका कारण लोकप्रिय बन्यो ।
त्यसपछि झम्सिखेल आवासीय क्षेत्रका घरहरू धमाधम रेस्टुराँमा परिणत हुन थाले । लकडाउन खुलिहाले पनि झमेललाई पुरानो चमक फर्काउन समय लाग्नेछ । किनकि, कोभिड–१९ को खोप या औषधि बनेर आममानिसको पहुँचमा नआउँदासम्म ढुक्कसँग रेस्टुराँ गएर रमाउने वातावरण बन्नेछैन ।