१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ ४ आइतबार २२:२६:००
Read Time : > 1 मिनेट
अर्थ

इन्धनको मूल्य नघटाउन मन्त्रीलाई पेट्रोलियम व्यवसायीको चिठी (पत्रसहित)

Read Time : > 1 मिनेट
२०७७ जेठ ४ आइतबार २२:२६:००

पेट्रोलियम व्यवसायीले गत १ जेठमा इन्धनको मूल्य नघटाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई पत्र लेखेको पाइएको छ ।

जेठ २ मा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नयाँ मूल्य सूची घटेर आउने अनुमानका आधारमा एक दिनअघि नै बागमती पेट्रोलियम डिलर्स एसोसिएसनले मन्त्री भट्टलाई मूल्य नघटाउन दबाब दिने उद्देश्यले पत्र लेखेको हो । एसोसिएसनमा उपत्यकासहित बागमती प्रदेशका पेट्रोलपम्प व्यवसायी सदस्य छन् ।

बाँसबारीमा रहेको खड्का आयल स्टोरका सञ्चालक अच्युत खड्का यसका अध्यक्ष छन् । उनको पम्पलाई नाकाबन्दीका बेला इन्धन कालोबजारी गरेको र डेढ वर्षअघि चालकको हड्तालका कारण इन्धन अभाव भएका बेला तेल लुकाएर बिक्री नगरेको आरोपमा अनुगमनकारी निकायले पटक–पटक पम्प बन्द गरेर कारबाही गरिसकेका छन् ।

अध्यक्ष खड्काले मन्त्रालयमा सचिव बैकुण्ठ अर्याल र आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई मन्त्रीसम्म पुग्ने गरी पत्र दिएको बताए । ‘मैले सचिव (अर्याल)का अगाडि जिएम साब (पौडेल)लाई पत्र दिएको हुँ’ उनले भने, ‘मूल्य घटाउनु हुँदैन भनेर पत्र लेखेको हो । मैले के भनेको हो भने ट्रक ढुवानी, ट्याक्सी भाडाको भाउलगायत घटेन । अनि किन भाउ घटाउनु भनेर सुझाव दिएको हुँ । म अध्यक्ष भएको नाताले डिलर र उपभोक्ताको कुरा उठाएको हो ।’

स्रोतका अनुसार खड्काले लेखेको पत्रलाई पम्प व्यवसायीको केन्द्रीय संगठन पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले समर्थन गरेको छैन । एसोसिएसनका एक केन्द्रीय सदस्यले भने, ‘हामी व्यवसायीले मूल्य घटाउनु र बढाउनु भनेर पत्र लेख्दैमा केही हुँदैन । फेरि लबिङ नै गर्नु थियो भने भेटेर कुरा राखेको भए हुन्थ्यो । पत्र नै लेखेर संगठनको बेइज्जत नगरेको भए हुन्थ्यो ।’

मन्त्री भट्टले पहिलेदेखि नै लकडाउनभर मूल्य नघट्ने सार्वजनिक टिप्पणी गर्दै आएका थिए । यस्तोमा मूल्य नघटाउनु भनेर पत्र लेख्नु कुनै अर्थ नभएको ती व्यवसायीको भनाइ छ । स्रोतका अनुसार खड्का आफूलाई नेकपा (पूर्वमाओवादी) निकट भन्ने गर्छन् । त्यसैले मन्त्री भट्टको नजरमा पर्न यस्तो पत्र लेखेर ‘चाप्लुसी’ गरेका हुन् । अर्कातिर अहिले बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपोमा नयाँ प्रमुख प्रदीप यादव पुगेका छन् । थानकोटमा व्यवसायीले रुचाएको मान्छेलाई प्रमुख बनाउने प्रचलन छ । तर, यसपटक व्यवसायीसँग सरसल्लाह नगरी यादवलाई केन्द्रीय कार्यालयबाट पठाइएको हो ।

निगमकै हितमा काम गरिरहेको देखाएर यादवको नजरमा समेत पर्न खड्काले पत्र लेखेको स्रोतको भनाइ छ । त्यस्तै लकडाउनका बेला पम्पले उठाएको तेल बिक्री नभई अण्डर ट्यांकीमै मौज्दात रहेका बेला मूल्य घट्दा घाटा पर्ने डरका कारण पनि मूल्य नघटाउन दबाब दिने उद्देश्यले पत्र लेखिएको स्रोतको भनाइ छ ।

यता, आयल निगमका प्रवक्ता बिनितमणि उपाध्यायले खड्काको पत्र आएको भोलिपल्ट २ जेठमा एक विज्ञप्ति जारी गर्दै मूल्य समायोजन नगरेको जानकारी दिएका थिए । पेट्रोलियमको माग अत्यन्त न्यून रहेकाले मूल्य समायोजन नभएको विज्ञप्तिमा उल्लेख छ । लकडाउनका कारण इन्धन खपत करिब २० प्रतिशत मात्र रहेको आयल निगमले जनाएको छ ।