मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
सुदीप शिवाकोटी हेटौँडा
२०७७ जेठ ४ आइतबार २०:३१:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

कोरोना संक्रमित सुत्केरीको मृत्युपछि मन्त्रीसहितको टोली सिन्धुपाल्चोकमा

कन्ट्याक्क ट्रेसिङका क्रममा २० जनाको स्वाब संकलन, स्थानीय सबैलाई सतर्क रहन आग्रह

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
सुदीप शिवाकोटी हेटौँडा
२०७७ जेठ ४ आइतबार २०:३१:००

कोरोना संक्रमणका कारण सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पताल ल्याउने क्रममा बिहीबार मृत्यु भएपछि मन्त्रीसहितको टोली बाह्रबिसे पुगेको छ ।

सामाजिक विकासमन्त्री युवराज दुलालसहितको चिकित्सक टोली आइतबार सुत्केरी महिलाको स्थायी घर बाह्रबिसे पुगेको हो । २९ वर्षीया सुत्केरीको मृत्युको कारण कोरोना संक्रमण भएको पुष्टिपछि थप संक्रमण फैलिन नदिन र कन्ट्याक्ट ट्रेसिङसँगै स्वाब संकलनका लागि चिकित्सक, स्वास्थ्यकर्मी टोली र प्रयोगशालाका कर्मचारीसहित बाह्रबिसे पुगेको मन्त्री दुलालले जानकारी दिए ।

उनका अनुसार आइतबार कन्ट्याक्ट ट्रेसिङको क्रममा स्थानीय २० जनाको स्वाब संकलन गरिएको छ । विशेषगरी सुत्केरीको सम्पर्कमा आएका आफन्तजन, परिवार र छरछिमेकको स्वाब संकलन गरिएको उनले बताए । संकलन गरिएको स्वाब केन्द्रीय प्रयोगशाला काठमाडौंमा परीक्षणका लागि पठाइएको छ ।

‘हाम्रो टोलीले स्वाब संकलन गरिएका सबैलाई होम क्वारेन्टाइनमा आवश्यक सुरक्षा अपनाएर बस्न आग्रह गरेका छौँ,’ मन्त्री दुलालले भने, ‘स्थानीय बासिन्दा पनि अहिले सतर्क भएका छन् ।’ उनले स्वाब संकलनलाई जारी राख्दै चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालाका कर्मचारीसहितको टोलीले थप अनुसन्धान र कन्ट्याक्ट ट्रेसिङको काम गर्ने बताए ।

कोरोना संक्रमणबाट मृत्यु भएकी सुत्केरी महिलाको परिवारलाई राहत, क्षतिपूर्ति रकमका लागि प्रदेश सरकारले छलफल गर्ने मन्त्री दुलालको भनाइ छ । उनले कोरोना सहयोग कोषको रकमबाट राहत, क्षतिपूर्ति दिने व्यवस्थाअनुसार कार्यविधि पारित भइसकेकाले मन्त्रिपरिषद् बैठकमा थप छलफल हुने बताए ।

स्वाब संकलनका लागि प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रमेशप्रसाद अधिकारीको नेतृत्वमा ऱ्यापिड रेस्पोन्स टोली गठन गरिएको छ । टोलीले त्यस क्षेत्रमा सोमबारसम्म कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनको काम गर्ने कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशालाका निर्देशक नारायण कार्कीले बताए ।

उनका अनुसार त्यस क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङबाट करिब एक सयजनाको स्वाब संकलन गर्ने टोलीको तयारी छ । स्वास्थ्य निर्देशनालयका निर्देशक अधिकारीको नेतृत्वमा गठन गरिएको टोलीमा प्रयोगशाला निर्देशक कार्की, अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाईं र जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको तीनसहित ६ जना रहेका छन् ।

सुत्केरी महिलाको कोरोनाबाट धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । उनी कोरोना संक्रमणबाट मृत्यु हुने नेपालको पहिलो व्यक्ति हुन् । 

स्वास्थ्यकर्मी लिएर बाह्रबिसे पुगेका मन्त्री दुलाल, बागमती प्रदेशका वनमन्त्री अरुण नेपाल, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसहितको सरकारी अधिकारीले मृतकको घर पुगेर सान्त्वना दिएका छन् । मृतकको घरमा सासूआमा, १० वर्षीय छोरा र दिदीको पाँच वर्षीय छोरा छन् । मृतकको सम्पर्कमा आएकाको पहिचान गरी सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ ।