मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ ४ आइतबार १८:१४:००
Read Time : > 2 मिनेट
खेलकुद

फर्कियो जर्मनीमा बुन्डेस लिगा

Read Time : > 2 मिनेट
२०७७ जेठ ४ आइतबार १८:१४:००

दुई महिनापछि जर्मन बुन्डेस लिगा फुटबल प्रतियोगिता शनिबार रातिदेखि सुरु भएको छ । यसले युरोपियन फुटबल बजारमा एउटा सकारात्मक सन्देश दिएको छ ।

बुन्डेस लिगाले बिस्तारै युरोपका अन्य ठूला प्रिमियर लिग पनि छिट्टै सुचारु हुन सक्ने सन्देश दिएको छ । कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि युरोपको सबै फुटबल लिग मे महिनादेखि स्थगित थियो । बुन्डेस लिगापछि अन्य प्रिमियर लिगको स्वरूप कस्तो होला भनेर समर्थक प्रतीक्षामा छन् । युरोपियन फुटबल महासंघले सम्भवतः विनादर्शक नै अन्य लिग पनि सञ्चालन गर्न अनुमति दिन सक्छ । 

सुरक्षा जाँचपछि मैदानमा
बुन्डेस लिगामा शनिबार बोरुसिया डर्टमुन्ड र साल्केबीच प्रतिस्पर्धा थियो । यी दुई क्लबको भिडन्तमा कोभिड–१९ विरुद्ध कस्तो सुरक्षा रणनीति अपनाइन्छ भन्ने प्रश्न थियो । जर्मन सरकार र जर्मन फुटबल महासंघले निर्देशन गरेको नियमअनुसारै खेलाडीदेखि अफिसियलसम्मले सुरक्षा रणनीति अपनाएका थिए ।

खेलाडी प्रतिस्पर्धामा उत्रनुअघि एक साता होटेलमै क्वारेन्टाइनमा बसेका थिए । नियमित रूपमा उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । सबै प्रक्रियापछि मात्र खेलाडीलाई मैदानमा प्रवेश गराइएको थियो । यसअघि खेलाडी र स्टाफ एकै बसमा सवार हुन्थे । योपटक खेलाडीहरू फरक–फरक बसमा आए ।

खेलाडीलाई बसमा समेत सामाजिक दूरी कायम गरेर राखेको अनुभूति दिएको छ । पूर्वसूचनाअनुरूप रंगशालामा मिडिया, चिकित्सक तथा सुरक्षाकर्मी मात्र थिए । उनीहरूको पनि तापक्रम जाँच भएको थियो । खेलमा प्रयोग भएको बल ‘डिसइन्फेक्टेड’ थियो । मध्यान्तरपछि सबै बल स्यानिटाइज गरियो । 

मास्क अनिवार्य
जर्मन फुटबल महासंघले प्रतिस्पर्धा दौरान विस्थापन्न खेलाडी तथा प्रशिक्षकलाई अनिवार्य रूपमा मास्क लगाउन भनिएको थियो । खेलाडी, प्रशिक्षक, सुरक्षाकर्मी सबैले सामाजिक दूरी अपनाए । सामाजिक दूरी कायम राखिँदा खेलाडीहरू दर्शक बस्ने सिटमा बसेका देखिन्थे । खेलाडीहरूले अभ्यास गर्दा मास्क लगाएका थिए ।

खेलाडी विस्थापन्न हुँदा मैदान छाडेका खेलाडी मास्क लगाएर बेन्च पुग्थे । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक हुने भनिएको खेलमा डर्टमुन्डले साल्केलाई ४–० ले सहजै हरायो । यता लेपिजले फ्रेवर्गसँग १–१ को बराबरीमा खेल सकायो । रेफ्रीले प्रशिक्षकलाई विनामास्क टचलाइनसम्म जान अनुमति दिएका थिए 

कहीँ कुइना त कहीँ हात मिलाएर खुसी
कोरोना भाइरसले फुटबल नियममा नराम्रो असर गरेको छ । जित वा गोल गरेको क्षणमा खेलाडी एक–आपसमा अँगालो मार्ने तथा हात मिलाएर खुसी मनाउने चलन छ । तर, अहिले यो कार्यमाथि पूर्ण रूपमै प्रतिबन्ध लगाइएको छ । बुन्डेस लिगामा शनिबार भएका ६ खेलमा १६ गोल भएका थिए । यसक्रममा खेलाडीहरू गोल गर्दा साथीहरूसँग कुइना मिलाएर खुसी मनाउन बाध्य भए ।

कतिपय गोलमा खेलाडीले सामान्य खुसी देखाए । गोल गरेको प्रत्येक क्षणमा सामाजिक दूरी अपनाएको देखिन्छ । तर, हर्थ बर्लिनका खेलाडीले कोभिड–१९ का नियम तोडे । बर्लिनले होफेहेनमाथि ३–० को जित निकाल्यो । बर्लिनका खेलाडीले प्रत्येक गोलमा एक–आपसमा हात मिलाउनेदेखि शारीरिक एट्याचमेन्ट क्रियाकलाप देखाए । जुन गलत थियो । यस सम्बन्धमा जर्मन फुटबल महासंघले बर्लिन क्लबसँग सोधपुछ गर्ने भएको छ ।

महासंघले लिगा सुरु गर्नुअघि नै स्पष्ट रूपमा सामाजिक दूरी तथा हात मिलाउन नहुने निर्देशन दिएको थियो । जुन बर्लिनका खेलाडीले तोडेका छन् । नयाँ नियमअनुसार खेलमा पाँच खेलाडी परिवर्तन भएका छन् । अब अन्य प्रिमियर लिग सुरु हुँदा पनि क्लबले पाँच खेलाडी परिवर्तन गर्न पाउनेछ । 

सामाजिक दूरीमै अन्तर्वार्ता
पूर्वविजेता बोरुसिया डर्टमुन्डले फराकिलो जित हात पारेपछि उसका खेलाडीहरू चर्चित सेलिब्रेसन मनाउन मैदानको छेउमा गए । योपटक उनीहरूको जितमा साथ दिने एकजना पनि समर्थक रंगशालामा थिएनन् । दर्शकविहीन रंगशालामा डर्टमुन्डका खेलाडीले चर्चित ‘साउथ बैंक’ सेलिब्रेसन गरे । खेल सकिएको अन्तिम ह्विसलसँगै रेफ्री र खेलाडीले बुट जुधाएर एक–आपसमा धन्यवाद दिए ।

बाहिर मिडिया सेन्टरको ढोकाअगाडि स्थानीय सञ्चारकर्मीले खेलाडीसँग सामाजिक दूरी राखेरै अन्तर्वार्ता लिए । सञ्चारकर्मीले खेलाडी तथा म्यानेजरलाई माइक्रोफोनमा समेत दूरी अपनाइएको थियो ।

बर्लिनका खेलाडी कारबाहीमा पर्न सक्ने
जर्मन सरकार र फुटबल महासंघले जारी गरेको सामाजिक दूरीअनुरूप नै बुन्डेस लिगा फुटबल सुचारु भयो । तर, बर्लिनका दुई खेलाडीले आफूलाई मैदानमा रोक्न सकेनन् । उनीहरूले सामाजिक दूरी अपनाएनन् । डेड्रिक बोयाटा र गुजिचले गोल गरेपछि एक–आपसमा अंकमाल गर्नुका साथै चुम्बन पनि गरेका थिए ।

खेलपछि उनीहरूको यस क्रियाकलापको विरोध भएको छ । यस्तो क्रियाकलापले बुन्डेस लिगामाथि नै समस्या आउन सक्ने एजेन्सीहरूले जनाएका छन् । यता लिग कमिटी व्यवस्थापनले बर्लिनका खेलाडीले देखाएको क्रियाकलापप्रति छानबिन हुने बताएको छ ।

समर्थकविनाको फुटबल असम्भव
फुटबल समर्थकले बुन्डेस लिगा सुरु भएको दिनलाई सुखद पक्षका रूपमा लिएका छन् । धेरैले खुसी मनाउँदा त्यति संंख्यामै विरोध गर्ने पक्ष पनि छन् । बायर्न म्युनिख तथा इंग्ल्यान्डका पूर्वमिडफिल्डर ओवेन हाग्रेभ्सले बुन्डेस लिगालाई स्कुलमा खेलेको बास्केटबलको संज्ञा दिएका छन् ।

‘मैले समर्थकहरू मिस गरेँ, यो खेल हेर्दा म अचम्म परेँ,’ ओवेनले भने, ‘समर्थकविनाको फुटबल कहिले पूरा हुन सक्दैन ।’ ओवेनले समर्थकविनाको फुटबल कल्पना गर्न नसकिने बताए । ‘फुटबलको मुटु नै समर्थक हुन्, त्यो पक्ष नै नरहँदा यसलाई कसरी आत्मसात् गर्न सकिन्छ,’ उनले भने ।