इजरायलका लागि चिनियाँ राजदूत आफ्नै निवासमा मृत फेला
इजरायलका लागि चिनियाँ राजदूत दु वेई राजधानी तेल अबिवको हर्जलियास्थित आफ्नै निवासमा मृत भेटिएका छन् ।
इजरायली मिडियाका अनुसार ५८ वर्षीय दु वेई आफ्नै ओछ्यानमा मृत भेटिएका थिए । के कारणले उनको मृत्यु भएको भन्ने अहिलेसम्म पत्ता लागेको छैन ।
सन् २०२० को फेब्रुअरीमा इजरायलका लागि राजदूतका रूपमा उनलाई नियुक्त गरिएको थियो । यसभन्दा अगाडि वेई युक्रेनका राजदूत थिए । उनको परिवार भने इजरायलमा नरहेको बताइएको छ ।
इजरायली स्वास्थ्य अधिकारीहरूले राजदूत वेईको शरीरमा कुनै चोटपटक नलागेकाले पनि राजदूत वेईको मृत्यु हृदयघात वा अन्य कुनै प्राकृतिक कारणबाट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् । इजरायली प्रहरीले घटनाको अनुसन्धान थालिसकेको बताएको छ ।
वेईले राजदूतको नियुक्ति लिएपछि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीन र इजरायलबीचको सम्बन्ध थप सृदृढ बनाउने बताएको दूतावासको वेभसाइटमा प्रकाशित भएको थियो ।
उनी फेबु्रअरीमा इजरायल पुगेर १५ दिन क्वारेन्टाइनमा बसेका थिए । उनले गत महिना कोरोना महामारीलाई लिएर चीनलाई गलत आरोप लगाइएको बताएको थियो ।
यही शुक्रबार उनले अमेरिकी विदेशमन्त्री माइक पोम्पिओको कडा आलोचना गरेका थिए । गत साता इजरायलको भ्रमणमा चीनले कोरोना भाइरससम्बन्धी सूचना लुकाएको आरोप अमेरिकी विदेशमन्त्री पोम्पियोले लगाएका थिए ।