१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
निर्ग नवीन
२०७७ जेठ ४ आइतबार १४:२७:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

युवा–विद्यार्थी आन्दोलन र मण्डले प्रवृत्ति

Read Time : > 5 मिनेट
निर्ग नवीन
२०७७ जेठ ४ आइतबार १४:२७:००

नेपालको राजनीतिक वृत्तमा वेलामौकामा चर्चामा आइरहने शब्द हो, मण्डले । केही खास प्रकारका राजनीतिक घटनाक्रम विकसित हुँदा यसको प्रयोगले व्यापकता पाउँछ । यस शब्दको व्युत्पत्ति हेर्दा ‘मण्डल’ शब्दमा ‘ए’ प्रत्यय लागेर बनेको देखिन्छ । मण्डल शब्दले वृत्ताकार स्वरूप, परिधि, घेरा आदि अर्थ दिन्छ । समाजविज्ञानमा समान उद्देश्यका मानिसहरूको समूह वा झुन्डलाई मण्डल भनिन्छ । यसको प्रयोगसापेक्ष अर्थ खोज्ने हो भने भाषाशास्त्रीय नभई राजनीतिक जरा खोतल्नुपर्ने हुन्छ ।

तीसको दशकमा पञ्च, कांग्रेस र कम्युनिस्टसमर्थक विद्यार्थी संगठन नेपाल स्वतन्त्र विद्यार्थी मण्डल, नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सक्रिय थिए । तिनै विद्यार्थी संगठनलाई छोटकरीमा मण्डल, नेविसंघ र अनेरास्ववियु भनिन थालियो । पञ्चसमर्थक विद्यार्थी संगठनलाई छोटकरीमा मण्डल भनिने हुँदा त्यसमा एकलखे लगाउँदै उक्त विद्यार्थी संगठनका सदस्य र त्यो प्रवृत्ति जनाउन मण्डले शब्द निर्माण भयो । तर, समयक्रममा यो शब्द यति विकृत, दुर्गन्धित र घृणित शब्द बन्यो कि प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने नेपाली बृहत् शब्दकोशमा नै मण्डले शब्दको अर्थ ‘छुल्याहा, बद्नामी कमाएको, उद्यत, अरूको अहित चिताउने, उपद्रवी’का रूपमा थपियो । 

मण्डले शब्द एक संगठनको नाम हुँदै कालान्तरमा प्रवृत्तिको रूपमा प्रयोग हुन थाल्यो । यो प्रवृत्ति पञ्चायतमा दरबारको हन्डी खाएर सत्ताइतरका विचार मास्ने जमातका रूपमा देखिन थाल्यो । समयक्रममा बालुवाटार सत्ताको साझेदार बन्यो । बालुवाटारको हन्डी खानेले प्रश्नको बन्ध्याकरण गर्न सुरु गरे । नेपाली समाजको गति त्यतिमा रोकिएन । बालुवाटार सत्ताको सर्वेसर्वा भयो । सत्ताका मण्डले निर्माणको केन्द्र बालुवाटार भयो । मण्डले सत्ताको स्वाभाविक अंग हो वा मण्डलेविनाको सत्ता निर्माण हुने विकासको चरणमा नेपाली सामाज नपुगेको हो ? 

मण्डले प्रवृत्ति कुनै निश्चित पार्टी, विचार र वादको घेरामा सीमित रहेन, यो प्रवृत्ति पञ्चायतदेखि प्रजातन्त्र र प्रजातन्त्रदेखि गणतन्त्रसम्म उस्तै देखियो

मण्डले प्रवृत्ति कुनै निश्चित पार्टी, विचार र वादको घेरामा सीमित रहेन । यो प्रवृत्ति पञ्चायतदेखि प्रजातन्त्र र प्रजातन्त्रदेखि गणतन्त्रसम्म उस्तै देखियो । मण्डलेका रूप, रंग र आकार फेरिए, तर यसको आधारभूत चरित्र फेरिएन । मण्डले प्रवृत्ति सत्ताको रक्षक र सत्ताविरोधी भक्षक भएर उभिन छोडेन । मण्डलेहरूले निर्माण गरेको शासन ढल्नुका कारण मण्डले प्रवृत्ति नै जिम्मेवार रह्यो । व्यवस्था मण्डले प्रवृत्तिविरुद्ध लडेर स्थापित हुने र त्यसैलाई जन्माउँदै अन्त्य हुने चक्रको निरन्तरताको क्रमभंगता हुन सकेन ।

मण्डले प्रवृत्ति सारमा यथास्थितिवाद हो । यथास्थितिको रक्षार्थ परिचालित हुने प्रवृत्ति हो । आफैँले निर्माण गरेको पद्धति वा विधिविधान नमान्ने आधारभूत चरित्र हो । प्रगतिशीलतामाथि प्रहार गर्ने यसको प्रधान चरित्र हो । यसको कुनै समूहगत पक्षधरता वा हित भन्ने हुन्न । निश्चित कसैको स्वार्थमा निर्माण हुने र उसैका प्रयोजनमा गतिविधि गर्ने गर्दछ । यो प्रवृत्तिले नेपाली समाजको रूपान्तरणको अभियानमा पर्खाल बनेरै उभियो र यो क्रम जारी नै छ । यहाँ जस्तो प्रवृत्तिको कुरा गरियो, यसको निर्माण हुनुमा निश्चित समयमा विकसित भएका घटनाक्रमको भूमिका छ, यसको मुख्य ऐतिहासिक घटना यस्ता छन् ।

राजा महेन्द्रले ०१७ पुस १ गते दुईतिहाइ मत प्राप्त संसद्लाई ‘कु’ गरी निर्दलीय निरंकुश पञ्चायत घोषणा गरे । पञ्चायतले जारी गरेको राष्ट्रिय निर्देशन ऐनका आधारमा सरकार समर्पित विभिन्न वर्गीय संगठनलाई कब्जामा ल्याउने नीति बन्यो । सोही नीतिअन्तर्गत ०१९ सालमा विष्णुप्रसाद बस्यालको संयोजकत्वमा १७ सदस्यीय नेपाल विद्यार्थी संगठन राष्ट्रिय तयारी समिति गठन गरी सरकारपक्षधर विद्यार्थी संगठन स्थापना भयो । ०२२ असार ४–११ सम्म चलेको अधिवेशनले हेमन्तबहादुर बिसीको सभापतित्वमा नेपाल विद्यार्थी संगठन केन्द्रीय कार्यसमिति गठन भयो । 

राजाद्वारा गठित र चाकडी, चाप्लुसी र पदबाट फाइदा लिन खोज्ने मात्र संगठित भएकाले यसले आफूलाई विद्यार्थीको बीचमा स्थापित गर्न सकेन । यो सरकारी भत्ताबाट सेमिनार र गोष्ठी आयोजना गरेर भत्ता पचाउने संगठनमा फेरियो ।

०२३ साल भदौ १७ गते नेसनल कमर्स क्याम्पसका विद्यार्थीले वाणिज्य दिवसको अवसरमा रानिपोखरीस्थित नाचघरमा सांस्कृतिक कार्यक्रम राखेका थिए । डिआइजी नारायण सिंह सो कार्यक्रमका सहभागी छात्रा कलाकार लुगा फेर्ने कोठामा प्रवेश गरी अभद्र व्यवहार गरेको विरोधमा उत्तेजित भीडले बागबजारस्थित नेपाल विद्यार्थी संगठनको कार्यालय तोडफोड ग¥यो । यो घटनाले राष्ट्रिय निर्देशन ऐनसमेत खारेज भयो । सरकारले नेपाल विद्यार्थी संगठनबाट आफ्नो रक्षा हुन नसक्ने देखेपछि ०२४ को वैशाखमा स्वतन्त्र संगठन खोल्न पाउने व्यवस्था गर्‍यो ।

कांग्रेस–कम्युनिस्टका विरुद्ध नेपाल विद्यार्थी संगठन स्थापना गरेका ६ महिनापछि अर्थात् ०२५ सालमा पदम ठकुरीको सभापतित्वमा राष्ट्रवादी विद्यार्थी मण्डल नामको सरकारपक्षधर विद्यार्थी संगठन निर्माण भयो । राजा महेन्द्रको प्रमुख उद्देश्य खाँटी पञ्च निर्माण गर्नु थियो । यसको दैनिक काम व्यवस्थाविरोधीमाथि निर्ममतापूर्वक प्रस्तुत हुनु थियो । मण्डलको दिनचर्या सत्ताको उन्मादमा बलात्कार, डकैती, लुटमा संलग्न हुँदै जनमानसमा आतंक फैलाउने थियो । खासगरी, प्रजातान्त्रिक अभियानमा संलग्न जनता र राजनीतिक कार्यकर्तामाथि यो संगठन उग्र भइरहेको थियो । मण्डलेको (अ)राजनीतिक बर्बरताले जनमानस थर्कमान भए । दरबारिया आडमा पञ्चायतइतर विचारलाई मास्न बनेको अनुदारवादी र उपद्रयाहा युवासमूहको चल्तीको नाम ‘मण्डले’ भयो । पञ्चायी शासकहरूको चल्तीको नाम पञ्चे भयो ।

०३२ देखि ०३५ सालसम्म मण्डले आतंकको बर्बर कालखण्ड रह्यो । उसका जनविरोधी हर्कतको पराकाष्ठा ०३५–३६ को ऐतिहासिक विद्यार्थी आन्दोलनको प्रमुख माग नै ‘राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल’को खारेजी थियो । ०३६ जेठ ७ गते शाही आयोगको निर्देशनबाट उक्त संगठन खारेज गरियो ।

राजनीतिक घटनाक्रमले देश जनमतसंग्रहमा गयो । सत्ताले पञ्चायतपक्षधर युवालाई फेरि संगठित गर्‍यो । ०३६ असार २८–३१ सम्म आयोजना भएको पञ्च भेलाले जनार्दन आचार्यको संयोजकत्वमा एक कार्यसमिति गठन गर्‍यो । राष्ट्रिय जनमतसंग्रहमा निर्दलीय पञ्चायत व्यवस्थालाई विजय गराउन परिचालित भयो । ०३७ वैशाख २० गते निर्दलीय पञ्चायतको पक्षमा जनमत आएपछि ०३७ मंसिर ५ गते राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको पुनर्जन्म भयो । पुरानै कार्यकर्ता र त्यही कार्यशैलीसहित यो संगठन अगाडि बढ्यो । यसको अन्त्य बहुदलीय व्यवस्थाको सूत्रपातसँगै भयो ।

०४६ साल माघबाट सुरु भएको पञ्चायती व्यवस्थाविरुद्धको जनआन्दोलनले ०४६ चैत २६ गते बहुदलीय व्यवस्था स्थापना ग¥यो । दरबार प्रत्यक्ष शासन कठपुतली नै भए पनि दलीय व्यवस्थामार्फत अगाडि बढ्यो । राजाको प्रत्यक्ष शासनमा दरबारिया मण्डले हुन्थे । दलीय शासनमा दरबारिया र दलीय दुवै मण्डलेको (अ)राजनीतिक बर्बरता सुरु भयो । ०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि नेविसंघले मण्डले प्रवृत्तिको निरन्तरता दिन पुग्यो । श्रमिक हक र अधिकारका लागि कर्मचारी आन्दोलन चलिरहँदा ‘आधा तलब खान्छौँ, हामी देश चलाउँछौ’ भन्ने नारा लिएर कर्मचारी आन्दोलनमाथि सत्ता उन्मादमा जाइलाग्यो ।

परिवर्तित सत्तासँगै मण्डलेका दिनचर्या फेरियो । ती दलका सदस्यसँगै ठेकेदार बने, होटेलदेखि सपिङ मलका मालिक बने । सरकारी ढुकुटीको व्यक्तिगत लाभ र स्वार्थमा प्रयोग गर्न अनेक कानुन र ऐन निर्माण गरे । वैधानिक कमिसनका लुपहोल खडा गरे । हप्ता उठाए, चन्दा संकलन गरे, राजनीतिक नियुक्ति र पद प्रतिष्ठा किनबेचका दलाल बने । पहिले मण्डले सत्ताको अंग थियो, अब मण्डले सत्ताको चरित्रमा फेरियो । ज–जसले सत्तामा हालिमुहाली गर्‍यो, उसले मण्डले चरित्रलाई विराम दिएन, सुदृढ गर्दै गयो ।

०५९ मा फेरि पञ्चहरूको राजनीतिक मूलधारमा पुनरागमन भएपछि असंगठित रूपमा भए पनि मण्डले प्रवृत्ति देखा पर्‍यो । जनआन्दोलनपछि मण्डले प्रवृत्तिको संगठित शक्ति नदेखिए पनि व्यक्तिगत ढंगले प्रवृत्तिको अनुसरण भई नै रह्यो । ०६२ चैत २२ देखि ०६३ वैशाख ११ सम्म चलेको जनआन्दोलनले दुई सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर लोकतान्त्रिक गणतन्त्र स्थापनाको यात्रा सुरु गरायो । अन्तरिम सरकार, पहिलो संविधानसभा र दोस्रो सविधानसभासम्मको अस्थिर राजनीतिले सत्ताको बागडोर सम्हाल्नेबाट मण्डले प्रवृत्तिको निरन्तरता जारी नै रह्यो । सत्तामाथिका प्रश्न निस्तेज पार्न मण्डले नै परिचालन गरियो । 

दोस्रो संविधानसभामार्फत संविधान जारी भइसकेपछिको संसदीय निर्वाचनमा देशका दुई ठूला कम्युनिस्ट घटक नेकपा (एमाले) र माओवादी केन्द्रले ०७२ असोज १७ मा चुनावी तालमेल गरी बनाएको गठबन्धनले दुईतिहाइनजिकको सुविधाजनक बहुमत प्राप्त गर्‍यो । चुनावी तालमेल ०७५ जेठ ३ मा पार्टी एकतासम्म पुग्यो र त्यसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जन्म भयो । हाल नेकपा सत्ताको बागडोर सम्हालिरहेको छ । सुविधाजनक बहुमतप्राप्त सरकारले गरेका निर्णय फिर्ता हुने र आलोचित हुने गरेका छन् । सरकार ठुल्ठूला भ्रष्टाचार काण्डमा फसेको छ । सरकारका राम्रा कामको प्रशंसा र नराम्रा कामको आलोचना हुनु स्वाभाविक छ, तर त्यसका भातृसंगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघमा केही अमूक व्यक्तिहरू व्यक्तिगत स्वार्थका लागि सत्ताको आड–उन्मादमा परिचालित हुने घटनाले मण्डले प्रवृत्तिकै निरन्तरताको झल्को दिन सुरु गरेको छ । यी घटना नवमण्डले प्रवृत्तिको रूपमा प्रकट भएका छन् ।

आजको माग र विगतका घटनाले भन्छन्, युवा विद्यार्थी आन्दोलनको स्वरूप प्रतिपक्षीय हुनुपर्छ । यसको पक्षधरता जनजीविकासँग सम्बन्धित आमजनताका विषय हुन् । आवाजविहीन आमजनताको सवाललाई सत्ताको बागडोर सम्हालिरहेका मान्छेको कानमा पुर्‍याउने र जनचाहनाअनुरूप सरकारलाई चल्न दबाब सिर्जना गर्ने हाम्रो ऐतिहासिक जिम्मेवारी हो । विरोधका लागि विरोध होइन, आलोचनात्मक चेत (ज्ञान र विवेक)का साथ विषयवस्तुको विकल्पसहित बहसमा केद्रित हुनुपर्छ ।

पछिल्लो समय जे–जस्ता (अ)राजनीतिक काण्ड सतहमा आए, त्यसका पछाडि राजनीतिक आडमा संगठित माफियागिरी मौलाएको प्रस्ट हुन आउँछ । यो प्रवृत्तिविरुद्ध आवाज उठाउने व्यक्ति र मिडियामाथि युवा तथा विद्यार्थी आन्दोलनभित्रको एउटा पंक्तिले गरेको बिषवमनले आन्दोलनको धारमाथि नै संगीन प्रश्न खडा गरिदिएको छ । फरक विचार सुन्न या ग्रहण गर्न नसक्ने, सत्ताविरुद्ध बोल्न नदिने र बोल्नेविरुद्ध शाब्दिक र भौतिक रूपमा हिंसात्मक शैलीमा प्रतिरोधमा उत्रेर सत्ताको गोटीको रूपमा उभिन जानुले आन्दोलनभित्रको एउटा पंक्तिको नवमण्डलेकरणलाई संकेत गर्छ ।

युवा तथा विद्यार्थी आन्दोलन सत्तामुखी हुँदा त्यसको चरित्र सत्ताको जस्तै हुन्छ । आँखा धमिलिन्छन्, कानले सुन्न छाड्छ र सर्वसत्तावादी सोच सवार हुन्छ । रूपमा युवा–विद्यार्थी नेता भए पनि सारमा शासनको एउटा अंगको रूपमा देखा पर्छ । जब युवा–विद्यार्थी आन्दोलन मण्डलेकृत भएर सत्ताको गीत रटान गर्ने सुगामा परिणत हुन्छ, तब युवा–विद्यार्थी आन्दोलनको चरित्र भ्रष्टीकरण हुन्छ । मण्डलेको सारभूत चरित्र यही हो । हाम्रो अगाडि अहं प्रश्न उठेको छ, के हामी युवा–विद्यार्थी आन्दोलनलाई नवमण्डले हुनबाट रोक्न सक्छौँ त ?

(लेखक अनेरास्ववियूका केन्द्रीय सदस्य हुन्)