मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ ४ आइतबार ०९:४४:००
Read Time : < 1 मिनेट
अर्थ

बुद्ध एयरले ल्यायो आन्तरिक पर्यटन प्रवर्द्धनात्मक अभियान

Read Time : < 1 मिनेट
२०७७ जेठ ४ आइतबार ०९:४४:००

बुद्ध एयरले लकडाउनपछि आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने गरी प्याकेज घोषणा गरेको छ । एयरले उडान रणनीति बनाउँदै लकडाउन खोलेर आर्थिक गतिविधिमा मुलुक नगए समस्या आउने भन्दै आन्तरिक पर्यटन प्रवर्द्धन कार्य अगाडि बढाउन मागसमेत गरेको छ ।

कोरोनाका कारण केही समय विदेशी पर्यटक नआउने र आन्तरिक रूपमै पनि धेरैले यात्रा गर्न नचाहने सम्भावनाका बीचमा बुद्धले आन्तरिक पर्यटनकेन्द्रित प्याकेज बिक्री गर्ने घोषणा गरेको जनाएको छ । 

‘लकडाउन जारी रहे पनि केही सहज भएपछि बिस्तारै आन्तरिक उडान खुला हुनेछ, अब आन्तरिक उडान खोल्नुपर्छ,’ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने । उडान खुला भएपछि पनि लामो समयसम्म आन्तरिक पर्यटकमै निर्भर हुनुपर्ने भएकाले सरकार पनि त्यसमै केन्द्रित हुनुपर्नेसमेत बस्नेतको भनाइ छ ।

उपचार तथा भ्याक्सिन नआएसम्म सजग हुन आवश्यक पर्ने भएकाले सबै तयारीसहित उडान सुरु गरिने उनको भनाइ छ । नेपालमा देशभित्रै घुम्ने टुर प्याकेजको खासै प्रचलन नभएको अहिलेको सन्दर्भमा बुद्ध एयरले आफ्नै कम्पनी बुद्ध होलिडेसँगको सहकार्यमा प्याकेज ल्याउनेसमेत बस्नेतले जानकारी दिए ।

पोखराका लागि २ दिनको प्याकेजका निम्ति प्रतिव्यक्ति ५ हजार ९ सय ९९ र चितवनका लागि २ दिनकै निम्ति १३ हजार ९ सय ९९ रुपैयाँमा बुद्धले प्याकेज ल्याएको छ । ‘न्यू नर्मलमा हामीले नयाँ तरिकाले जानुपर्छ, हामी यसमा रक्षात्मक हुनैपर्छ, एयरलाइन्सदेखि होटेलसम्म त्यस्ता निर्देशिका आउनुपर्छ र जसको पूर्ण कार्यान्वयन हुनुपर्छ,’ बस्नेतले भने । पहिलो चरणका तीन गन्तव्य काठमाडौं, चितवन र पोखरा खोलेर जानुपर्ने र सेप्टेम्बरदेखि चीन र भारत खोलेर जानुपर्नेसमेत बस्नेतले बताए ।