Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ४ आइतबार ०८:४७:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

उच्च अधिकारीसहित नौजना सुरक्षाकर्मीमा कोरोना संक्रमण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ४ आइतबार ०८:४७:००

कोरोना नियन्त्रणमा अग्रमोर्चामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण बढ्न थालेको छ । अहिलेसम्म नौजनामा संक्रमण देखिएको छ । शनिबार तीनजना सुरक्षाकर्मीमा संक्रमण भेटिएको हो । महोत्तरीमा कार्यरत नेपाली सेनाका दुई कर्मचारीमा संक्रमण देखिएको हो । त्यस्तै, बारामा कार्यरत नेपाल प्रहरीका एकजनामा संक्रमण पुष्टि भएको छ । 

हालसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन/तीन, नेपाली सेनाका दुई तथा राष्ट्रिय अनुसन्धान विभागका एकजनामा संक्रमण पुष्टि भइसकेको छ । शनिबार संक्रमण पुष्टि भएकामध्ये एक मध्यपूर्वी पृतनामा कार्यरत उच्च सैनिक अधिकारी हुन् । 

चारैवटा निकायले बढाए सतर्कता 

संक्रमण बढेपछि चारैवटा सुरक्षा निकायले थप सतर्कता बढाएका छन् । उनीहरूले फिल्डमा खटिनेहरूको परीक्षण बढाउने तयारी थालेका छन् । सुरक्षाकर्मीमा संक्रमण देखिएपछि थप सतर्कता बढाएर काम गर्न निर्देशन दिइएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरज शाहीले बताए । उनका अनुसार बिदाबाट फर्कनेलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर परीक्षण गरेर मात्र डिउटीमा खटाउन थालिएको छ । सेवाग्राहीसँग दूरी कायम गर्न भनिएको छ । त्यस्तै, पिपिईलगायत स्वास्थ्य सामग्रीको प्रयोगमा जोड दिइएको छ । ‘कार्यालयभित्र अनिवार्य रूपमा हात धुनेदेखि दूरी कायम गर्न भनेका छौँ,’ उनले भने, ‘नियमित रूपमा यसबारे कार्यालय प्रमुखले बिफ्रिङ गर्न थालेका छन् ।’

सशस्त्र प्रहरी भारतको सीमा क्षेत्रमा खटिएको छ । जहाँ भारतबाट आउनेहरूलाई नियन्त्रण गर्नुपर्ने अवस्था छ । जसकारण जोखिम भएकाले पिपिई प्रयोग बढाइएको छ । उपत्यकामा ट्राफिक प्रहरी पिपिई लगाएर चेकजाँचमा खटिएका छन् । 

बिदाबाट फर्कनेलाई सबै सुरक्षा निकायमा परीक्षण अनिवार्य गरिएको छ । पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान डिउटीमा फर्कनुअघि परीक्षण गराउँदा पोजेटिभ पाइएको थियो । भक्तपुरको दुवाकोट बस्ने ती प्रहरीको परिवारमा भने संक्रमण देखिएको छैन । बलम्बुमा कार्यरत सशस्त्र प्रहरीकै अर्का कर्मचारीको परिवारमा संक्रमण देखिएपछि परीक्षण गराउँदा संक्रमण देखिएको थियो ।

कपिलवस्तुमा नेपाल प्रहरीका दुई, सशस्त्र प्रहरीका एक तथा राष्ट्रिय अनुसन्धान विभागका एकजनामा संक्रमण देखिएको छ । उनीहरूलाई  फिल्डमा खटिँदा नै संक्रमण भएको आशंका गरिएको छ । उनीहरू एकै ठाउँमा कार्यरत थिए । सुरक्षा निकायमा एकजनामा संक्रमण हुँदा धेरैमा फैलने जोखिम छ । ब्यारेकमा बस्ने भएकाले यस्तो जोखिम भएको हो । अर्काेतर्फ एकै ठाउँमा ठूलो संख्यामा खटिने र एउटै गाडी चढ्ने भएकाले पनि सुरक्षा निकायमा संक्रमण बढेपछि त्रास छ । तर, पनि पर्याप्त मास्क, पन्जा, स्यानिटाइजर नभएको उनीहरूको गुनासो छ । 

जोखिम बढेपछि पिपिईसहित सडकमा निस्किए ट्राफिक

लकडाउनमा दैनिक सडक सुरक्षा र सवारी चेकजाँचमा खटिने ट्राफिक प्रहरीले व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) प्रयोग गर्न थालेका छन् । सडकमा हिँडडुल गर्ने र ढुवानी गर्ने चालकमा समेत कोरोनाको संक्रमण भएको हुन सक्ने भएकाले ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षाका लागि सुरक्षा उपकरणको प्रयोग गर्न थालिएको हो । काठमाडौं उपत्यकाका २६ वटा मुख्य चोक तथा नाकामा खटिने ट्राफिक प्रहरीलाई व्यक्तिगत सुरक्षा उपकरण र ४६ स्थानमा फेस सिल्ड (भाइजर) र पन्जा लगाई डिउटी गर्ने व्यवस्था मिलाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरी सडकमा प्रत्यक्ष रूपमा खटिनुपर्ने भएकाले महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट बच्न पूर्वसावधानी अपनाउन यस्तो व्यवस्था गरिएको हो । 

‘लकडाउन’लाई कडाइका साथ कार्यान्वयन गराउन फ्रन्टलाइनमा रहेर अहोरात्र खटिँदै आएका प्रहरीको सुरक्षालाई पनि प्राथमिकतामा राखिनुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । ‘ट्राफिक प्रहरीले सवारी आवागमनलाई व्यवस्थित र कडाइ गर्न चेकजाँच र सोधपुछ गर्दा सवारी चालकसँग सबैभन्दा पहिले ‘फेस’ गर्नुपर्छ, जसले गर्दा कोरोना भाइरस संक्रमणको उच्च जोखिममा ट्राफिक प्रहरी पनि छन्, त्यसैले अब पिपिईसहित सडक सुरक्षामा खटिँदै छौँ,’ उनले भने ।