मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २ शुक्रबार १८:२८:००
Read Time : > 2 मिनेट
खेलकुद

शनिबारदेखि सुरु हुँदै बुन्डेस लिगा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २ शुक्रबार १८:२८:००

कोरोना भाइरस महामारीका रूपमा फैलिएको समयमै शनिबारदेखि जर्मनीमा बुन्डेस लिगा फुटबल प्रतियोगता पुनः सुचारु हुने भएको छ ।

विश्व नै कोभिड–१९ संक्रमणको चपेटामा रहेको वेला लिग सुरु गर्न लागेको जर्मनी विश्वकै पहिलो राष्ट्र बनेको छ । यद्यपि युरोपमा बेलारुस र निकारागुआमा स्थानीय घरेलु लिग रोकिएका छैनन् । गत साता दक्षिण कोरिया र फारोए आइसल्यान्डमा लिग पुनः सुचारु भएका थिए । दुई महिनापछि बुन्डेस लिगा सुचारु हुँदा आठ क्लबबीच प्रतिस्पर्धा हुनेछन् । 

खाली रंगशाला
विश्वमा बुन्डेस लिगाको फरक स्थान छ । यहाँका दर्शकको कल्चर बेग्लै छ । च्याम्पियन क्लबको छिनोफानो भएको दिन समर्थक, खेलाडी तथा अफिसियल दिल खुलेर हजारौँ क्यान बियर सकाउने गर्छन् । रंगशालामा औसतभन्दा बढी दर्शकको उपस्थिति हुनाले बुन्डेस लिगा रोमाञ्चकताले भरिएको हुन्छ । तर, शनिबारदेखि सुरु हुने लिगामा यस्तो केही दृश्य हुने छैन ।

रंगशालामा केवल खेलाडी, अफिसियल, चिकित्सक तथा सुरक्षाकर्मी मात्र रहने जर्मन फुटबल महासंघले जनाएको छ । अर्थात् बुन्डेस लिगा खाली रंगशालामा हुनेछ । कोरोना भाइरस नियन्त्रण नहुँदासम्म नै लिग दर्शकविना नै हुने जनाइएको छ । होम एन्ड अवे अवधारणा पनि यथावत् नै रहेको महासंघले स्पष्ट पारेको छ ।

क्वारेन्टाइनमा बस्नुपर्ने
जर्मन फुटबल महासंघले प्रतिस्पर्धामा सहभागी खेलाडी, अफिसियल, चिकित्सक तथा सुरक्षाकर्मी अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशन दिएको छ । सहभागी दुवै क्लबका खेलाडीले होटेलदेखि रंगशालासम्म जाँदा विशेष सुरक्षा रणनीति अपनाउनुपर्नेछ ।

त्यस्तै होटेल र टे«निङ सेसनमा रहँदा खेलाडीले सामाजिक दूरी कायम राख्नुपर्नेछ । ‘खेलाडीहरूको सुरक्षार्थ क्वारेन्टाइन व्यवस्था अनिवार्य गरिएको छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

दुई सय १३ व्यक्ति मात्र रंगशालामा
रंगशालामा दुई सय १३ व्यक्तिले मात्र उपस्थित हुन अनुमति पाएका छन् । मैदानमा ९८ जना व्यक्ति रहनेछन् । यसमा खेलाडी, प्रशिक्षक, बलब्वाई तथा फोटोग्राफर हुनेछन् । अफिसियल तथा मिडियाका गरी एक सय १९ जना थप रंगशालाभित्र बस्न पाउने व्यवस्था महासंघले मिलाएको छ ।

थप सयजना व्यक्तिलाई विशेष प्रयोजनका लागि रंगशालाबाहिर बस्न अनुमति दिइएको छ । मैदानभित्र खेलाडी र अफिसियलले एक–आपसमा हात मिलाउन पाउने छैनन् । यो पूर्णतः प्रतिबन्धित नै छ । रंगशालामा बालबालिकालाई मस्कट प्रयोजन निमित्त प्रयोग गर्न नपाउने नियम बनाइएको छ । 

उपाधि होडबाजी
दुई महिनाअघि बुन्डेस लिगा स्थगित हुँदा साबिक विजेता बायर्न म्युनिख ५५ अंकका साथ शीर्ष स्थानमा थियो । यसपटकको लिगाको उपाधि होड निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । अहिले शीर्ष चार क्लबबीच उपाधि होड खुला छ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्ड र बायर्न म्युनिखबीच केबल चार अंकको दूरी छ । तेस्रो स्थानमा रहेको लेपिजले ५० र चौथो स्थानको मोन्चेन्ग्लाबचले ४९ अंक बटुलेका छन् ।

शीर्ष र चौथो स्थानमा रहेको टोलीबीच केवल ६ अंकको दूरी रहेकाले उपाधि होड खुला रहेको हो । लिगमा नौ खेल बाँकी छ । बायर्न म्युनिख लगातार आठौँपटक उपाधि जित्ने अभियानमा छ । गत नोभेम्बर र डिसेम्बरमा लगातार दुई खेलमा पराजित हुँदा बायर्नले शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमाएको थियो । जर्मनीमा भएको एक सर्वेक्षणमा बायर्नले उपाधि रक्षा गर्न सक्ने सम्भावना ८४ प्रतिशत छ ।

रेलिगेसन चुनौती
उपाधि होड जति रोमाञ्चकताले भरिएको छ । त्यसैगरी रेलिगेसन जोनमा रहेका क्लबहरूबीच आफ्नो अस्तित्व रक्षा गर्ने दौडधुप अगामी दिनमा चल्नेछ । पुछारका दुई क्लब रेलिगेसनमा पर्ने प्रावधान छ । यसमा वेर्डर ब्रेम्यान र पाडेब्रोर्न अन्तिम दुई स्थानमा छन् । १३औँ र १८औँ स्थानमा रहेका क्लबबीच १२ अंकको भिन्नता छ ।

हर्थ बर्लिन २८ अंकका साथ १३औँ स्थानमा छ । पाडेब्रोर्न १६ अंकका साथ सबैभन्दा पुछारको क्लब बनेको छ । अहिले रेलिगेसनको खतरा घन्टी बजेको ब्रेम्यान लगातार ५६ सिजन बुन्डेस लिगाको माथिल्लो लेभलमा प्रतिस्पर्धा गरेको  क्लब हो । 

प्रशिक्षक हेरिचले तोडे क्वारेन्टाइन
आग्सवर्गका मुख्य प्रशिक्षक हेइको हेरिचले सामान्य नियम तोड्दा कारबाहीमा परेका छन् । टुथब्रस किन्न होटेलबाट बाहिर गएका कारण उनी कारबाहीमा परेको एजेन्सीहरूले जनाएका छन् । जर्मन फुटबल महासंघले उनलाई थप एक साता क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ । शनिबार आग्सबर्गले वल्सबर्गसँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार बिहानै उनी टुथ ब्रस किन्न होटेलबाट बाहिर निस्किएका थिए ।

होटेलमा रहेका खेलाडी, प्रशिक्षक तथा अन्य अफिसियललाई बाहिर जान प्रतिबन्ध लगाइएको अवस्था छ । प्रशिक्षक हेरिचले आफूबाट गल्ती भएको स्विकारेका छन् । ‘मबाट सामान्य गल्ती भयो, होटेल छाेडेर बाहिर गएँ, त्यही नै गल्ती भयो,’ प्रशिक्षक हेरिचले भने । गत १० मार्चमा उनी आग्सबर्गका मुख्य प्रशिक्षक बनेका थिए । मुख्य प्रशिक्षकका रूपमा उनले पहिलो खेल गुमाएका छन् । यो क्लब अहिले १४औँ स्थानमा छ ।
–    एजेन्सीको सहयोगमा