मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जातीय विभेदको सिकार भएका श्याम परियार
टोपलाल अर्याल गुल्मी
२०७७ जेठ २ शुक्रबार १८:०२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

कार्यपालिका सदस्यकै छोरा जातीय छुवाछुतको सिकार

गैरदलितकोमा पसेपछि १५ सय जरिवाना, घर पवित्र बनाउन पूजापाठ

Read Time : > 1 मिनेट
टोपलाल अर्याल गुल्मी
२०७७ जेठ २ शुक्रबार १८:०२:००

जिल्लाको कालिगण्डकी गाउँपालिका– ५ फोक्सिङमा एक दलित युवालाई गैरदलितकोमा पसेको भन्दै १५ सय रुपैयाँ जरिवाना गरिएको छ ।

फोक्सिङ रिमका नेत्र काउचाको घरमा पसेको भन्दै सोही स्थानका श्यामबहादुर परियारलाई जरिवाना गरिएको हो । काउचाले मगरको घरमा दलित पसेपछि पवित्र बनाउन पूजापाठ गराउने भन्दै जरिवाना गराएको पीडित परियारले बताए । श्यामबहादुर कालिगण्डकी गाउँ कार्यपालिका सदस्य कौशिला परियारका छोरा हुन् ।

यस्तो छ घटना विवरण
श्याम गत २२ वैशाखमा स्थानीय माया परियारको दाहसंस्कारमा सहभागी भएर घर फर्कँदै थिए । मुसलधारे पानी परेपछि ओत खोज्दै उनी काउचाको घरमा पुगे । उनका अनुसार हावाहुरी पनि चलिरहेकाले उनी घरका मानिसलाई सोधेरै भित्र पसेका थिए । तर, केहीबेरमै काउचाका दाजुभाइहरू जम्मा भए । अन्ततः सबैले सल्लाह गरेर श्यामलाई १५ सय रुपैयाँ जरिवाना तोकेर कागज गराए ।

नेत्रका छिमेकी सन्तबहादुर काउचाले श्याम अरूको घरमा पसेकाले सहमतिमै जरिवाना तोकिएको दाबी गरे । विपन्न परिवार भएकाले १५ सय रुपैयाँ मात्र जरिवाना गरिएको भन्दै नेत्रले भने, ‘त्यो पनि घर शान्ति गर्न मात्र हो ।’ उनले श्याम र उनका बुबा धनबहादुरले मदिरा सेवन गरेर आफूहरूलाई गाली बेइज्जती गरेकोसमेत दाबी गरे ।

कानुनी उपचार खोज्दै परियार परिवार
कालिगण्डकी गाउँपालिकाको कार्यपालिका सदस्य कौशिला परियार आफ्नै छोरा छुवाछुतको सिकार भएपछि कानुनी उपचारको खोजीमा छिन् । घटना भएको लामो समय भइसक्दा पनि अहिलेसम्म किन कानुनी उपचार खोज्नुभएन भन्ने नयाँ पत्रिकाको प्रश्नमा उनले भनिन्, ‘म माइली आमा बितेको शोकमा थिएँ । त्यसैले बाहिर जान मिलेन ।’

कार्यपालिका सदस्य कौशिलाले अब कानुनी उपचारको खोजी सुरु गर्ने बताइन् । कालिगण्डकी गाउँपालिका–५ फोक्सिङका वडाध्यक्ष थम्मनसिंह आलेले अहिलेसम्म आफूलाई घटनाको विषयमा कसैले पनि जानकारी नदिएको बताए । उनले बिहीबार नै दुवै परिवारलाई भेटेर पीडित पक्षलाई शुक्रबार वडा कार्यालयमा निवेदन दिन आग्रह गरिए पनि अहिलेसम्म निवेदन दर्ता नभएको बताए ।

प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण
घटनाको विषयमा शुक्रबार मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियानका संयोजक पदम पाण्डेय, दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्मा, मानव अधिकारवादी संस्था ‘इन्सेक’ जिल्ला प्रतिनिधिलगायतले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको ध्यानाकर्षण गराएका छन् । उनीहरूले दोषीलाई कानुनबमोजिम कारबाही गर्न मागसमेत गरेका छन् । प्रजिअ शर्माले घटनाको सत्यतथ्य बुझेर स्थानीय तहसँगको समन्वयमा कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।