१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी
२०७७ जेठ २ शुक्रबार १३:५६:००
Read Time : < 1 मिनेट
विश्व

विश्व व्यापार संगठनका महानिर्देशकद्वारा पदबाट राजीनामा  

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ जेठ २ शुक्रबार १३:५६:००

विश्व व्यापार संगठन (डब्ल्युटिओ) का महानिर्देशक रोबर्टो अजिभेडोले कार्यकालको एक वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै बिहीबार राजीनामा दिएको घोषणा गरेका हुन् । 

सात वर्षदेखि डब्ल्युटिओको प्रमुख रहेका उनले अमेरिका–चीनबीच व्यापार तनाव जारी रहेको तथा कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा व्यापक असर परेकै अवस्थामा अगस्ट ३१ देखि लागू हुने गरी राजीनामा दिएका छन् । 

डब्ल्युटिओको नेतृत्व कार्यशैलीप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तिखो आलोचना गर्दै आइरहेका थिए । उनले चीनसँगको व्यापार युद्धका क्रममा डब्ल्युटिओले चीनको पक्षमा काम गरेको र अमेरिकी सरोकारका विषयमा बिल्कुलै चासो नदिएको आरोप लगाउँदै आएका छन् ।

अजिभेडोको कार्यकालमा डब्लुटिओप्रति रुष्ट भएको अमेरिकाले अन्तर्राष्ट्रिय व्यापार विवादको सुनुवाई गर्ने पुनरावेदन अदालतको आकार घटाएको थियो । चिनियाँ पूँजीवादी–सामाजिक आर्थिक प्रणालीद्वारा सिर्जित नयाँ चुनौतीहरु सामना गर्न डब्लुटिओ असफल रहेको भन्दै अमेरिकाले डब्लुटिओमा नयाँ न्यायाधीशहरुको नियुक्ती रोकेको थियो । 

ब्राजिली अर्थशास्त्री अजिभेडोको नेतृत्वको डब्लुटिओविरुद्ध ट्रम्प प्रशासनले निरन्तर आलोचना गरिरहेको थियो । डब्लुटिओले  चीन सरकारले धेरै व्यवसायमा नियम विपरित स्वीकृत दिइरहेको सरकारी अनुदानलाई वेवास्ता गरेको र बौद्धिक सम्पत्ति सुरक्षाका मामिला यसले ठोस नीति लिन नसकेको आरोप अमेरिकाको छ । 

डब्ल्युटिओको मुख्यालयमा संगठनका प्रतिनिधिहरूसँगको विशेष बैठकमा महानिर्देशक अजिभेडोले आफ्नो राजीनामा पारिवारिक निर्णय र व्यक्तिगत निर्णय रहेको स्पष्ट पारेका छन् । डब्ल्युटिओको स्थापना भएको २५ वर्षको अवधिमा अहिलेसम्म कुनै महानिर्देशकले पनि कार्यकालअगावै राजीनामा दिएका थिएनन् । 

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अजिभेडोको राजीनामा उपयुक्त निर्णय भएको प्रतिक्रिया दिए ।