मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
राहतको खाना खोजेर परिवारको भोक टार्दै बालबालिका । तस्बिर : दिपेन्द्र ढुंगाना / नयाँ पत्रिका
सागर चन्द काठमाडौं
२०७७ जेठ २ शुक्रबार ०९:००:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

लकडाउनमा बालबालिका : राहतको खाना खोजेर परिवारको भोक टार्दै

Read Time : > 2 मिनेट
सागर चन्द, काठमाडौं
२०७७ जेठ २ शुक्रबार ०९:००:००

बिहीबार लकडाउनको ५२औँ दिन । सडकमा फाट्टफुट्ट गाडी गुडेका छन् । मान्छेको चहलपहल अरू दिनको जस्तो छैन । राहतमा खाना वितरण गरिने लाइनमा उभिएका छन् १० वर्षीय अविरल रसाइली । बुढानीलकण्ठ नगरपालिका हात्तीगौँडास्थित ‘मानवअधिकारका लागि महिला’ नामक संस्थाले विपन्न र असहाय परिवारलाई खाना वितरण गरिरहेको लाइनमा अविरलजस्तै धेरै बालबालिका छन् । अविरल आफ्नो पाँचजनाको परिवारका लागि खाना लिन आएका हुन् । 

अविरल बुढानीलकण्ठ स्कुलमा कक्षा ४ मा पढ्छन् । उनी पढ्ने स्कुलले अनलाइन कक्षा सुरु गरिसकेको छ । तर, अविरलले भने अनलाइन कक्षा लिन पाएका छैनन् । सुरुवाती तीन दिनसम्म उनी आमाको मोबाइलमा अनलाइन कक्षामा सहभागी भए । तर, चौथो दिनदेखि उनी अनलाइन कक्षामा सहभागी हुन सकेनन् । ‘रिचार्ज सकियो,’ सानो स्वरमा लजाउँदै अविरलले भने । लकडाउनमा राहतको भरमा बाँचिरहेको अविरलको परिवारलाई मोबाइलको रिचार्जभन्दा भोक ठूलो भयो । केही दिनअघिसम्म राहतमा बाँडिएको खाना लिन अविरलकी आमा आउने गर्थिन् । खाना लिएर घर फर्किंदै गर्दा आमाको खुट्टा मर्किएपछि खाना लिने आउने जिम्मा उनको भागमा परेको छ ।

कोरोना संक्रमणको जोखिमका वेला मास्कसमेत नलगाई राहत वितरणको लाइनमा उभिएका छन्, पासाङ तामाङ । नौ वर्षका उनले चारजनाको परिवारका लागि खाना बोक्न विद्यालयको झोला भिरेका छन् । सोलुखुम्बुका पासाङ स्कुल छाडेर बाबुआमासँग काठमाडौं आएका हुन् । उनका बाबुआमा निर्माण मजदुरको काम गर्ने गर्थे । तर, लकडाउनले गर्दा उनका बाबुआमा बेरोजगार बनेका छन् । त्यसैले परिवारका लागि खाना जोहो गर्न दैनिक रूपमा पासाङ राहत वितरण गर्ने लाइनमा उभिन आइपुग्छन् ।

बुढानीलकण्ठको भद्रकाली आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने अरुण तामाङ पनि ‘मानवअधिकारका लागि महिला’ नामक संस्थाले खाना वितरण गर्न थालेदेखि नियमित खाना लिन आउँछन् । ६ जनाको परिवारमा बस्ने अरुणका बाबु निर्माण मजदुर र आमा घरमा सरसफाइको काम गर्थिन् ।

यस्तै, बाबु र भाइसँग बस्ने गणेश भुजेलकी आमा छैनन् । कक्षा ८ मा पढ्ने भुजेल आमा अर्कैसँग बिहे गरेर गएको बताउँछन् । धु्रवतारा बोर्डिङ हाइस्कुलमा पढ्ने उनका बाबु पनि निर्माण मजदुरको काम गर्थे । लकडाउनले काम रोकिएपछि उनीहरूको घरमा खाना सकियो । खाना सकिएकै दिनदेखि उनी विभिन्न संघसंस्थाले राहत वितरण गरेको ठाउँमा जाने गरेका छन् ।

लकडाउनमा बालबालिकामाथि हुने हिंसा ३७ प्रतिशतले बढ्यो
लकडाउनमा बालबालिकाको दुःख–कष्ट यतिमै सकिँदैन । मकवानपुर फापरबारीका सन्देश गोले आमा र भाइ खोज्दै काठमाडौं आइपुगे । लकडाउनअघि काठमाडौं आइपुगेका उनलाई अहिले भ्वाइस अफ चिल्ड्रेन नामक संस्थामा राखिएको छ । सडकमा सुतिरहेका सन्देशलाई प्रहरीले भेट्टाएपछि संस्थामा ल्याएको हो । बाबु विदेश गएपछि आमा र भाइ काठमाडौं आएको बताउने सन्देशलाई काठमाडौंमा अलपत्र परेको फेला पारेपछि प्रहरीले उनको उद्धार गरेको हो ।

लकडाउनमा बालबालिकाको अवस्थासम्बन्धी सेभ द चिल्ड्रेनले गरेको प्रारम्भिक अध्ययनले बालबालिकामाथि विभिन्न प्रकारका हिंसा सामान्य समयभन्दा ३७ प्रतिशतले बढेको देखाएको छ । नेपाल प्रहरीका अनुसार ३० र ३१ वैशाख तथा १ जेठ तीन दिनमा मात्र तीनजना बालिकाको बलात्कार भयो । ११ चैतदेखि ८ वैशाखसम्म बाल हेल्प लाइनमा बालबालिकासम्बन्धी समस्याका नौ हजार दुई सयवटा फोन आएका छन् ।

सिविन नेपालद्वारा सञ्चालित बाल हेल्प लाइनका सहायक कार्यक्रम व्यवस्थापक सागर भण्डारीका अनुसार पछिल्लो एक महिनामा मात्र देशभरका दुई सय ८२ जना बालबालिकालाई विभिन्न प्रकारका आकस्मिक सहयोग प्रदान गरिएको छ । ६७ जना बालबालिकालाई टेलिफोनबाटै मनोवैज्ञानिक परामर्श प्रदान गरिएको छ । विभिन्न प्रकारका यौनहिंसा तथा दुर्व्यवहारमा परेका १४ जना बालबालिकालाई प्रहरीको सहयोगमा उद्धार गरिएको छ ।

आर्थिक अभावबाट गुज्रिरहेका परिवारका बालबालिकाले राहत सामग्रीका लागि समेत फोन गरेका छन् । तर, स्थानीय तहले राहतका लागि नागरिकता अनिवार्य गर्दा राहत पुर्‍याउन नसकिएको भण्डारीले बताए । लैंगिक हिंसापीडित महिला र बालबालिका घरमै बस्नुपर्ने भएकाले जोखिम झन् बढेको सिविनले जनाएको छ । 

कोरोनाले बालबालिकाको विकासमा गम्भीर असर पर्छ : युनिसेफ

संयुक्त राष्ट्रसंघीय निकाय, युनिसेफ (युनाइटेड नेसन चिल्ड्रेन इमरजेन्सी फन्ड)ले विश्वभर फैलिएको कोरोना संक्रमणले बालबालिकाको स्वास्थ्य तथा विकासमा गम्भीर असर पर्ने बताएको छ । युनिसेफका अनुसार स्वास्थ्य तथा अन्य नियमित सेवा लकडाउनले रोकिएकाले नेपालमा चार हजारभन्दा बढी बालबालिकाको मृत्यु हुन सक्छ । आवश्यक स्वास्थ्य सेवा र खाद्यान्नको अभावमा बालबालिकाको मृत्यु हुन सक्ने खतरा युनिसेफले औँल्याएको छ ।