मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १ बिहीबार २१:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पूर्वराजा शाहको पास रद्दबारे के भन्छ झापा प्रशासन ?

Read Time : < 1 मिनेट
२०७७ जेठ १ बिहीबार २१:३२:००

झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं फर्कने सवारी पास रद्द भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय, झापाले जारी गरेको सवारी पास जारी भएको केही घन्टामै रद्द भएको हो ।

पूर्वराजा शाहले शुक्रबार काठमाडौं जाने तयारी गरेका थिए । ‘हामीले पास पाएर शुक्रबार जाने सबै तयारी गरिसकेका थियौँ,’ पूर्वराजा शाहनिकट स्रोतले भन्यो, ‘तर, पास रद्द भएको खबर पायौँ । अब के गर्ने भन्ने छलफल भइरहेको छ ।’ 

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले गृह मन्त्रालयसँग सहकार्य नभई पास जारी भएका कारण रद्द गर्नुपरेको बताए । ‘अहिले पास जारी नगर्ने, भएका पनि रद्द गर्ने भन्ने निर्देशन छ । गृह मन्त्रालयसँग सहकार्य नभई यो पास जारी भएको थियो,’ उनले भने, ‘त्यसकारण पास रद्द भयो ।’ 

उनले पूर्वराजा शाहको सचिवालयबाट आएको निवेदन गृह मन्त्रालयमा पठाइसकेकाले अब गृहले निर्णय गर्ने बताए । ‘अहिले प्रक्रियामा छ । उहाँहरूले इमेल गर्नुभएको थियो । मलाई फोन पनि गर्नुभएको थियो,’ उनले भने, ‘हामीले गृहमा पठाइसकेका छौं । उतैबाट निर्णय भएर आउँछ ।’ 

कोरोना संक्रमित बढ्न थालेपछि गृह मन्त्रालयले बिहीबारबाट एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने र जिल्ला प्रशासनबाट लिएका सबै पास खारेज गर्न निर्देशन दिएको थियो । सोहीकारण पूर्वराजाले पाएको पास पनि खारेज भएको हो । 

पूर्वराजा शाह लकडाउन सुरु हुनुभन्दा केही दिनअघि झापा आएका थिए । उनी पूर्वराजपरिवारको स्वामित्वमा रहेको दमकस्थित हिमालय–महालक्षी चियाबगानभित्रको दरबारमा छन् । उनीसहित पत्नी कोमल पनि झापामै छिन् ।  

उनी गत माघमा पनि झापा आएका थिए । एक महिनाभन्दा बढी बसेर काठमाडौं गएका उनी चैत पहिलो साता पुनः झापा आएका हुन् । पूर्वराजा शाह प्रत्येक वर्ष जाडो छल्न झापा आउने गरेका छन् ।