मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ १ बिहीबार १६:२६:००
Read Time : > 3 मिनेट
समाचार

वैद्यको पार्टीले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

Read Time : > 3 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ १ बिहीबार १६:२६:००

नेकपा (क्रान्तिकारी माओवादी)ले कालापानीमा भारतीय हस्तक्षेप तथा कोरोना भाइरसजन्य प्रकोपलगायतका विषयमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । 

बुधबार बसेको स्थायी कमिटी बैठकपछि महासचिव मोहन वैद्य किरणले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीका लागि अब कुर्सीमा टाँसिएर बसिरहने कुनै नैतिक अधिकार नरहेको भन्दै राजीनामा माग गरिएको छ ।

‘अहिलेको यो संवेदनशील घडीमा सबै कुरा ठीकठाक छ भनेर प्रस्तुत हुने, भारतसित कुनै प्रभावकारी वार्ता, संवाद तथा पहल गर्न नसकी निष्क्रिय रक्षात्मक स्थिति तथा दलालीको मानसिकतामा रमाउने, राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आवाज उठाउने तथा स–साना विरोध प्रदर्शनमा संलग्न हुने देशभक्त नेपालीमाथि निर्लज्ज दमनमा उत्रने, कोरोना भाइरसको प्रकोपबाट पीडित जनताका लागि यथोचित राहत, उद्धार गर्न नसक्ने वर्तमान प्रधानमन्त्रीका लागि अब कुर्सीमा टाँसिएर बसिरहने कुनै नैतिक अधिकार छैन । तसर्थ, हाम्रो पार्टी प्रधानमन्त्री केपी ओलीको अविलम्ब राजीनामाको माग गर्दछ,’ वैद्यको विज्ञप्तिमा छ । 

पार्टीले सीमा विवादको समाधानका लागि कूटनीतिक पहल, राजनीतिक वार्ता, आदिको आवश्यकता पर्ने भए पनि अब यो मुद्दालाई अन्तराष्ट्रियकरण गर्ने वेला आएको बताएको छ ।

‘भारतले ती सबैलाई लत्याउँदै प्रबुद्ध व्यक्ति समूह (इपिजी)को रिपोर्ट लिनसमेत अस्वीकार गर्दै र एकतर्फी रूपमा आक्रामक ढंगले आफ्ना समस्त कारबाही तथा गतिविधि बढाउँदै लगेको स्थितिमा अब कूटनीतिक पहल तथा राजनीतिक वार्ताको कुरा गर्नु अति कमजोर अर्थात् निष्क्रिय प्रतिरक्षा मात्र नभई राष्ट्रिय आत्मसमर्पणवाद तथा दलालीबाहेक अरू केही हुन सक्तैन,’ विज्ञप्तिमा छ, ‘तसर्थ, हाम्रो पार्टी महाकालीपूर्वको लिम्पियाधुरा, कालापानी तथा लिपुलेकसम्मको भूभाग र त्यस अतिरिक्त सुस्ता, महेशपुरलगायत सीमा क्षेत्रमा भारतीय विस्तारवादद्वारा गरिँदै आएको हस्तक्षेपको विरोध र देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता तथा भौगोलिक अखण्डताको रक्षाका लागि समग्र नेपाली भूभागलाई समेटी शीघ्रातिशीघ्र नेपाली नक्साको सार्वजनिकीकरण, लिम्पियाधुरासम्मका सबै सीमा क्षेत्रमा अविलम्ब सुरक्षाफोर्सको तैनाथी, नेपालको सीमा क्षेत्रमा तारबारका लागि यथाशीघ्र पहल र नेपाली भूभागमा गरिएको हस्तक्षेपको विरोध तथा नेपाली सार्वभौमिकता रक्षाको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न समेत जोडदार माग गर्दछ ।’

 

प्रेस–वक्तव्यको पूर्णपाठ

१. देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकतामाथि हस्तक्षेप गरिएको र कोरोना भाइरस कोभिड– १९ जस्तो महामारी फैलिएको वर्तमान अति गम्भीर एवम् संवेदनशील अवस्थामा देशमा अस्तित्वशील सबै राजनीतिक पार्टीहरू, नागरिक समाज तथा सीमाविद्, परराष्ट्रविद्सहितका प्रबुद्ध बुद्धिजीवी एवम् पत्रकारहरूलाई समावेश गरी सर्वपक्षीय बैठक बोलाउनुपर्नेमा सरकारद्वारा संसदमा प्रतिनिधित्व गरेका पार्टीहरूलाई मात्र बोलाई सर्वदलीय बैठक बोलाइएको भनी नाटक गरिएकोमा त्यसको हामी कडा विरोध गर्दै यस अतिसंवेदनशील विषयमा सम्बन्धित सबै पक्षसित राष्ट्रिय सहमति गर्न जोडदार अनुरोध गर्दछौँ ।

२. सीमा विवादको समाधानका लागि कूटनीतिक पहल, राजनीतिक वार्ता, आदिको आवश्यकता पर्दछ । तर, भारतले ती सबैलाई लत्याउँदै प्रबुद्ध व्यक्ति समूह (इपिजी)को रिपोर्ट लिनसमेत अस्वीकार गर्दै र एकतर्फी रूपमा आक्रामक ढंगले आफ्ना समस्त कारबाही तथा गतिविधि बढाउँदै लगेको स्थितिमा अब कूटनीतिक पहल तथा राजनीतिक वार्ताको कुरा गर्नु अति कमजोर अर्थात् निष्क्रिय प्रतिरक्षा मात्र नभई राष्ट्रिय आत्मसमर्पणवाद तथा दलालीबाहेक अरू केही हुन सक्तैन । तसर्थ, हाम्रो पार्टी महाकालीपूर्वको लिम्पियाधुरा, कालापानी तथा लिपुलेकसम्मको भूभाग र त्यस अतिरिक्त सुस्ता, महेशपुरलगायत सीमा क्षेत्रमा भारतीय विस्तारवादद्वारा गरिँदै आएको हस्तक्षेपको विरोध र देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता तथा भौगोलिक अखण्डताको रक्षाका लागि  (क) समग्र नेपाली भूभागलाई समेटी शीघ्रातिशीघ्र नेपाली नक्साको सार्वजनिकीकरण (ख) लिम्पियाधुरासम्मका सबै सीमा क्षेत्रमा अविलम्ब सुरक्षाफोर्सको तैनाथी, (ग) नेपालको सीमा क्षेत्रमा तारबारका लागि यथाशीघ्र पहल र (घ) नेपाली भूभागमा गरिएको हस्तक्षेपको विरोध तथा नेपाली सार्वभौमिकता रक्षाको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नसमेत जोडदार माग गर्दछ ।

३. यो वेला विश्वव्यापी रूपमा कोभिड–१९ को महामारी फैलिएको र रोजगारीमा भारतलगायत विभिन्न देशहरूमा गएका नेपाली जनता अतिबिचल्ली र अलपत्र परेका छन् । उनीहरूलाई उद्धार तथा राहतको व्यवस्थापन गरिनुपर्नेमा उल्टै लखेट्ने, अपमानित गर्ने काम पनि हुँदै आएका छन् । सम्बन्धित देशमा रहेका नेपालीहरूको समुचित उद्धार तथा राहतका लागि सम्बन्धित देशसित आवश्यक पहल गर्न र स्वदेशमा आउन चाहने नेपालीहरूका लागि यथाशीघ्र व्यवस्था मिलाउन पार्टी पुनः जोडदार माग गर्दछ । 

४. अहिलेको यो संवेदनशील घडीमा सबै कुरा ठीकठाक छ भनेर प्रस्तुत हुने, भारतसित कुनै प्रभावकारी वार्ता, संवाद तथा पहल गर्न नसकी निष्क्रिय रक्षात्मक स्थिति तथा दलालीको मानसिकतामा रमाउने, राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आवाज उठाउने तथा स–साना विरोध प्रदर्शनमा संलग्न हुने देशभक्त नेपालीहरूमाथि निर्लज्ज दमनमा उत्रने, कोरोना भाइरसको प्रकोपबाट पीडित जनताका लागि यथोचित राहत उद्धार गर्न नसक्ने वर्तमान प्रधानमन्त्रीका लागि अब कुर्सीमा टाँसिएर बसिरहने कुनै नैतिक अधिकार छैन । तसर्थ, हाम्रो पार्टी प्रधानमन्त्री के. पी. ओलीको अविलम्ब राजीनामाको माग गर्दछ ।

५. अहिले कोरोना भाइरसजन्य महामारीको मौका छोपेर भारतले हस्तक्षेप बढाउने, त्यही महामारीको निहुँमा सरकार चुप लागेर बस्ने र देशको भौगोलिक अखण्डतामा गम्भीर आँच आउने स्थिति पैदा भएको छ । यो वेला त्यसै चुप लागेर बस्नुहुँदैन र संघर्षको प्रक्रियामा अगाडि बढ्नु आवश्यक हुन्छ । यस स्थितिमा हाम्रो पार्टी देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षाका लागि अविलम्ब देशको समग्र भूभाग समेटिएको नेपाली नक्सा सार्वजनिकीकरण गर्न, लिम्पियाधुरासम्मको नेपाली भूभागमा सुरक्षाबल राख्न, नेपालको सीमा क्षेत्रमा तारबारको प्रक्रिया अगाडि बढाउन र महाकालीपूर्व लिम्पियाधुरा, कालापानी तथा लिपुलेकसहित सीमासम्बन्धी विषयलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि ससाना कार्यक्रमसहित संघर्षमा उत्रने घोषणा गर्दछ । साथै, यस प्रक्रियामा हाम्रो पार्टी कोरोना महामारीबाट पीडित जनताको समुचित राहत तथा उद्धारको मागलाई समेत संघर्षको कार्यसूचीमा समावेश गर्दछ ।

६. आज देशमा मुख्यतः राष्ट्रिय स्वाधीनता एवम् सार्वभौमिकताको रक्षा गर्न र यसका साथै कोरोना भाइरसजन्य महामारीको रोकथाम तथा जनताको उपयुक्त उद्धार राहतको प्रबन्ध मिलाउन, बेरोजगारहरूका लागि रोजगारी वा बेरोजगारी भत्ता उपलब्ध गराउनका लागि बृहत् राष्ट्रिय संयुक्त मोर्चाको आवश्यकता छ । तसर्थ, हाम्रो पार्टी सम्पूर्ण राजनीतिक पार्टीहरू, देशभक्त शक्तिहरू, नागरिक समाज, प्रबुद्ध बुद्धिजीवीहरू तथा पत्रकारहरूबीच कार्यगत एकता वा आवश्यक तालमेल मिलाई संयुक्त संघर्षको तयारीमा जुट्न, त्यसबारे आवश्यक छलफल चलाउन तथा एकताबद्ध हुनका लागि विशेष अनुरोध एवम् आह्वान गर्दछ ।