मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दिनानाथ श्रेष्ठ
२०७७ जेठ १ बिहीबार १५:४९:००
Read Time : > 6 मिनेट
ब्लग

कृषिमन्त्रीज्यू, कसरी बाँच्छ किसान ?

Read Time : > 6 मिनेट
दिनानाथ श्रेष्ठ
२०७७ जेठ १ बिहीबार १५:४९:००

माननीय कृषि तथा पशुपक्षी विकासमन्त्रीज्यू, 

४ मंसिर ०७५ मा राजधानीबाट प्रकाशित एक दैनिकमा यहाँको दमदार लेख ‘कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?’ पढ्नुभन्दा धेरै अघिदेखि नै म यहाँको प्रशंसक हुँ ।

सो लेखले मेरो मथिंगल हल्लाइदिएको थियो, कुनै एउटा पार्टीको भविष्यमाथिको चिन्ताले होइन, यहाँको विद्वताले, यहाँको अध्ययनशीलताले र यहाँको बेजोड लेखनशैलीले । त्यो लेख मैले ल्यापटपमा पढेँ । धित मरेन, पत्रिका किनेरै पढेँ । लेखलाई ल्यापटपमा ‘बुकमार्क’ गरेर राखेको छु । पत्रिकाको ‘कट पिस’ अभैm सुरक्षित छ । मनले खाएका साथीहरूलाई लेख पढ्न सिफारिस गरेर मेसेन्जरबाट सेयर गरेँ । त्यसअघि पनि लाग्थ्यो, त्यस दिनदेखि झनै लाग्यो– यस्ता विद्वान्लाई किन कुनै जिम्मेवारी दिइँदैन ? पार्टीमा होइन सरकारमा !

लेख प्रकाशित भएको ठीक एक वर्षपछि अर्थात् ४ मंसिर ०७६ मा एकाएक यहाँलाई कृषि तथा पशुपक्षी मन्त्रालयको जिम्मेवारी दिइएको खबरले त्यसरी नै खुसी लाग्यो, जसरी केपी शर्मा ओली दुईतिहाइ सांसदको समर्थनमा शक्तिशाली प्रधानमन्त्री चयन हुँदा खुसी भएको थिएँ । त्यसपछि अचानक तपाईं देखिन छोड्नुभो । सुनिन छोड्नुभो । कोही हल्ला गर्छन्, काम गर्दैनन् । कोही काम गर्छन्, हल्ला गर्दैनन् ।

देशको हालत देख्दा छाती पिटीपिटी रोऊँजस्तो लाग्ने कृषिमन्त्रीज्यू, अहिले देशभरिका किसानको अवस्था देख्दाचाहिँ यहाँलाई रोऊँ–रोऊँजस्तो लाग्दैन ? 

मलाई लाग्यो, यहाँ पक्कै पनि दैनिक १८ घन्टा खटिएर देशमा कृषि प्रणालीको आमूल परिवर्तनका लागि वरिपरि कृषिविज्ञहरू राखेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउनमा व्यस्त हुनुहुन्छ, किनकि यहाँकै शब्दमा ‘दैनिक सयजना दलाल भेट्ने नेता’मा यहाँ पक्कै पर्नुहुन्न । जब देखिनुहुनेछ, कृषिमा आमूल परिवर्तनका लागि दरिलो खाकासहित देखिनुहुनेछ । जब सुनिनुहुनेछ, देशको कृषि उत्पादन र उत्पादकत्वको हालको तथ्यांकसहित पाँच वर्ष, १० वर्ष, १५ वर्ष र २० वर्षपछिको तथ्यांक मात्र होइन, सो तथ्यांकमा पुग्न स्पष्ट कार्ययोजनासहित सुनिनुहुनेछ ।

मलाई लागिरह्यो, यहाँको तथ्यांकमा हाल विदेशबाट गरिने वार्षिक २.२५ खर्बको कृषिजन्य वस्तुको आयात आगामी तीन वर्षभित्र शून्यमा झारिने र पाँचौँ वर्षमा हाल आयात गरिने परिमाणकै कृषि उत्पादन विदेश निर्यात गरिने मात्र होइन, आगामी १० वर्षमा त्यसको दोब्बर कृषि उत्पादन विदेश निर्यात गरिने प्रस्ट खाकासहित सुनिनुहुनेछ । यहाँजस्तो अध्ययनशील, वैचारिक, जुझारु अनि भुइँमान्छेसँगको स्पर्शमा आनन्द महसुस गर्ने व्यक्तिले नेतृत्व गरेपछि बिस्तारै यो सतीले सरापेको देशका किसान अनागरिकबाट नागरिकमा रूपान्तरण हुनेछन् ।

यहाँहरूले भन्दै गरेको तर जनजनले बिस्तारै पत्याउन छोडेको समृद्ध नेपालको ‘फ्रन्टलाइन’मा किसान हुनेछन् । तपाईं मन्त्री पदले दिएको सुरुवाल माथि सार्दै खाली खुट्टा असारको हिलोमा किसानसँग खेतखेतमै गएर कृषि उत्थानका लागि अब के–के गर्नुपर्छ भनेर विमर्श गर्दै अबको १० वर्षमा देशको कुल अर्थतन्त्रको हाल कायम २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रको योगदानलाई कसरी ८० प्रतिशत पुर्याउन सकिन्छ भन्नेमा केन्द्रित हुनुहुनेछ । आखिर तपाईं असार १५ गते रमाइलो गर्ने मन्त्री पक्कै होइन । 

सन् २०१९ मा ११.७ लाख विदेशी पर्यटक नेपालको हिमाल, मन्दिर, डाँडाकाँडा हेर्न आए । तपाईं मन्त्री भएपछि मलाई लागिरह्यो, अबको १० वर्षपछि नेपालको जनसंख्या जति छ, त्यति नै पर्यटक नेपाल भित्रिनेछन्, नेपालको प्राकृतिक सुन्दरताका साथै यहाँको कृषि प्रणाली हेर्न । नआऊन् पनि किन ? अबको १० वर्षमा नेपालका पहाडहरूमा सल्ला, उत्तिस र सालको मात्र जंगल हुनेछैन, तराईमा आँप, कटहर, केराको जंगल हुनेछ, हिमाली क्षेत्र स्याउको जंगलले ढाकिनेछ ।

एकजना वृद्ध बा दुखेसो गर्दै थिए– बर्खा लाग्यो । अघिपछि त देशी मल पाइन्नथ्यो, यसपालि झन् के पाइएला र ? यी काँठे बूढालाई भनिदिनू न मन्त्रीज्यू, ज्यानभन्दा ठूलो मल हो ? भावनाले देश चल्छ ?

पहाडका लिची, अम्बा, भोगटेका जंगलबाट हजारौँ टन फलफूल मात्र बेचिनेछैनन्, फलफूलका जंगल देखाएर, घुमाएर पनि हामी प्रशस्त वैदेशिक मुद्रा आम्दानी गर्नेछौँ । अहिले वैदेशिक रोजगारीका नाममा अत्यन्त जोखिमपूर्ण काम गरेर निकृष्ट जीवन बिताइरहेका ३० लाख नेपाली आफ्नै देश फर्केर सम्मानित किसानको जीवन बिताउनेछन् । आखिर महासागरमा नेपालको पानीजहाज चलाउनेभन्दा पनि अफ्रिकाका डान्सबारमा नाच्न बाध्य नेपाली चेलीप्रति बढी संवेदनशील मन्त्री घनश्याम भुषाल नेपालले पाएको छ । ओहो, भ्रममा बाँच्नु पनि कति आनन्द हगि मन्त्रीज्यू ? म त भुइँ छोडेर कता–कता हावासँगै उडेछु । अब त भुइँमै टेक्छु है मन्त्रीज्यू !

६ महिनाअघि तपाईंका लागि बिरानो सिंहदरबार आजकल तपाईं दिनहुँ हाजिर गर्न जानुहुन्छ होला । कति अग्ला पर्खालले घेरिएको छ है, सिंहदरबार ? खाल्डोबाहिरको कुरा त के गराइ भो र ? सिंहदरबारको माथिल्लो तलाबाट दूरबिन लगाएर हेरे पनि २० किमि परको वरिपरिको काँठ क्षेत्र तपाईं देख्न सक्नुहुन्न, किनकि सिंहदरबारभित्रका भवनभन्दा धेरै अग्ला र कैयौँ गुणा बलिया ठूलाठूला भवनले सिंहदरबार घेरिएको छ । अनि, सिंहदरबार यसरी घेरिनुमै मस्त छ । लठ्ठ छ । अप्सराहरूको घेराइबाट देवराज इन्द्र लठ्ठ भएझैँ कुवेरहरूको घेराइबाट सिंहदरबार लठ्ठ छ । त्योभन्दा टाढा अझ दूरदराज त सिंहदरबारबाट देखिने कुरै भएन । यो खाल्डोबाहिरको कुराको त बालै भएन ।

अँ मन्त्रीज्यू, त्यही २० किमि पर सिंहदरबारवरिपरि धेरै किसान छन्, तिनीहरू काँक्रो, गोलभेँडा, साग, आलु फलाउँछन् । बजारमा बेच्छन् । गर्जो टार्छन् । तिनीहरूले सिंहदरबारप्रति खासै कहिल्यै केही गुनासो गरेनन् । यिनीहरूले तपाईंहरूले जे–जे भने पनि पत्याइदिएका छन् । अस्ति भर्खर तपाईंहरूले समाजवादभन्दा पनि पत्याइदिएकै हुन् । तपाईंहरूले खोइ के–के भनेर ताली बजाउन लगाउँदा ताली पनि बजाइदिएकै हुन् ।

यही कोरोनाकै बीचमा बेलुका दीपावली गर भनेर सरकारले भन्दा हवस् भन्दै दीपावली गरेकै हुन् । अर्को दिन बिहान ८ बजे जो जहाँ छौ, त्यहीँ बसेर छातीमा हात राखेर राष्ट्रिय गान गाऊ भन्दा पनि गाइदिएकै हुन् । पत्रकार कृष्णज्वाला देवकोटाले भनेझैँ यिनीहरूले यो देशमा एक थान संविधान छ, धेरै थान सरकार छ, धेरै थान कानुन छ भन्ने बिर्सेका छैनन् । संविधान, सरकार, कानुनको महसुस गर्नु–नगर्नु तिनका कुरा भए । म फेरि हावामा उड्न थालेँ कि के हो, मन्त्रीज्यू ? अँ म कुरा गर्दै थिएँ काँठे किसानको । 

ती काँठेलाई यो देशमा सरकार छ भन्ने कुराको थप महसुस लकडाउन घोषणाले गरायो । अहिले पनि लकडाउनको म्याद थप गर्ने वेला भएपछि सरकार ‘बेड रेस्ट’बाट जुरुक्क उठ्छ, अनि १० दिन लकडाउनको म्याद थपेर ‘थाकेँ’ भन्दै बेड रेस्टमा जाने गरेको उनीहरूलाई थाहा छ । उमेर र रोगले थिलथिलो भएर पनि जनताका लागि थकाइ लाग्ने गरी दैनिक १८ घन्टा काम गर्ने सरकार पाएकोमा सारा नेपालीजस्तै ती काँठे पनि सरकारप्रति धन्य भएका छन् ।

सरकारले लकडाउनको उर्दी जारी ग-यो । उनीहरू हस् भनेर घरमै बसे । आफ्नो खेतबारीमा फलेर त्यहीँ चार–पाँच किलोमिटर परको बजार घुम्न आतुर भएर बसेका काँक्रो, गोलभेँडा, मटरकोसा, काउली, बन्दाको पनि तिनले परवाह गरेनन् । त्यहीँ पारि चार किलोमिटर पर बजारसम्म पनि किसानका तरकारी पुग्न सकेनन्, खेतबारीमै सुके, कुहिए । उनीहरूले सहे । किनकि, तपाईंको सरकारले भावनामा देश चल्दैन भनेको थियो । ती निमुखाले यो कुरा पनि पत्याइदिए ।

काँठे किसानलाई यो देशमा सरकार छ भन्ने थप महसुस लकडाउन घोषणाले गरायो । अहिले पनि लकडाउनको म्याद थप गर्ने वेला भएपछि सरकार ‘बेड रेस्ट’बाट जुरुक्क उठ्छ, अनि १० दिन लकडाउनको म्याद थपेर ‘थाकेँ’ भन्दै बेड रेस्टमा जान्छ भन्ने उनीहरूलाई थाहा छ ।

अँ, त्यही लकडाउनले सबै डराएर घरभित्र थुनिएर बसेका वेला, चोकैपिच्छे जनताको ज्यानको सुरक्षाका लागि पल्टनका पल्टन सुरक्षाकर्मी तैनाथ भइरहेकै वेला तपाईंका पार्टीका होनहार, देशभक्त, राष्ट्रवादी, समृद्ध नेपालका सारथीहरू कुन्नि कुन आयोगमा पुगेर नाराबाजी गरे रे ! खोइ कसले कसको अपहरण गरेको होइन रे ! देश टुक्र्याउने षड्यन्त्र भयो रे ! त्यो षड्यन्त्रको विरोधमा नाराबाजी भएको रे ! खैर, सुकेर, कुहिएर बाँकी रहेको तरकारी अनि भित्र्याउने ठिक्क भएको अन्नबाली असिनाले ध्वस्त बनायो । तिनीहरूले उखान सम्झिँदै मन बुझाए– ‘बढी भए पनि खेर, जन्तीले खाए पनि खेर’ । आखिर उखानमै मन बुझाउन अभ्यस्त प्रजा न परे ! 

अनि नि मन्त्रीज्यू, त्यही काँठमा कुखुरा पाल्ने किसान पनि प्रशस्तै छन् । तपाईंको सरकारले लकडाउनमा अत्यावश्यक वस्तु आपूर्ति सहज हुने भनेर नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत भनेको कुरा पनि यी काँठेले पत्याएका थिए, तर कुखुराको दाना बन्द भयो । सायद कुखुराको दाना अतिआवश्यक वस्तुको परिभाषाभित्र परेन वा कोरोना टेस्ट किट विदेशबाट अनुदानमा ल्याउनु फाइदा कि किनेर ल्याउनु फाइदा भनेर हिसाबमा घोत्लिनुपरेकाले जाबो कुखुराको दानामा यहाँहरूले ध्यान पु¥याउन सक्नुभएन होला भनेर यी काँठेले तपाईंतिर चोरऔँला उठाएनन् । बिक्रीका लागि तयार भएको कुखुरा पनि काँठेसँगै लकडाउनमा परेपछि बजारसम्म पु¥याउन सकिने कुरै भएन । प्रतिगोटा तीन सयभन्दा बढी लगानी भएको कुखुरा भोकै मार्नुभन्दा प्रतिगोटा सयमा बिक्री गर्न खोज्दा पनि बिक्री हुन सकेन । ती किसानले घरभित्र बस्दा के गरे कुन्नि, बाहिर रुँदै हिँडेको देखिएन । सायद, तपार्इंको सरकारले खेती गर्ने किसानलाई जस्तै कुखुरापालक किसानलाई पनि भावनाले देश चल्दैन भनेर राम्ररी बुझाएकाले हुनुपर्छ । 

प्रतिगोटा तीन सयभन्दा बढी लगानी भएको कुखुरा भोकै मार्नुभन्दा प्रतिगोटा सयमा बिक्री गर्न खोज्दा पनि बिक्री नहुँदा ती किसानले घरभित्र बस्दा के गरे कुन्नि, बाहिर रुँदै हिँडेको देखिएन । सायद, तपार्इंको सरकारले भावनाले देश चल्दैन भनेर राम्ररी बुझाएकाले हुनुपर्छ ।

यी काँठेले गाईभैँसी पनि निकै पालेका छन्, मन्त्रीज्यू ! तपार्इंको सरकारले फ्याट्ट लकडाउन भनिदियो । यिनीहरूका गाईभैैँसीका दूध पनि लकडाउनमा प¥यो । दाना नपाए पनि घाँस–पराल खुवाएर गाईवस्तु त बचाए, तर दूधले बजार पाएन । तैपनि, तिनले सिंहदरबारतिर घुरेर हेरेनन् । फेसबुकमा फोटो, भिडियो राखेजस्तो हाइवेमा दूध पोखेनन् । मुख्य कुरा, तपाईंलाई ‘डिस्टर्ब’ गरेनन् । किनकि, त्यसवेला संकटको समयमा सरकार चलाउन संकट परेर तपाईंहरू अध्यादेशको लेठोमा व्यस्त हुुनुहुन्थ्यो । 

लकडाउनको डेढ महिनापछि ‘नयाँ पत्रिका’ले लकडाउन अवधिमा भारतबाट चार अर्बको तरकारी आयात भएको कुरा छापेको कुरा पत्याऊँ कि नपत्याऊँ, ती काँठेलाई द्विविधा परेको छ । चार किलोमिटर परको बजारमा पु¥याउन नसकेको तरकारी सयौँ किलोमिटर परबाट कालिमाटी आइपुग्यो भनेर पत्याऊन् पनि कसरी ? कतै यी पत्रकारले अफवाह फैलाएका हुन् कि ? अस्ति भर्खर तपाईंकै सरकारका प्रमुखले सिडिओलाई थाहा छैन, काठमाडौंदेखि क्यामेरा बोकेर त्यो पत्रकार कसरी पुग्यो ? रहस्यमय छैन ? भनेर झाँको झारेपछि पत्रिकाका कुरा पत्याउन यी काँठे डराएका छन् । आखिर पत्याएकै भए पनि यिनलाई मन बुझाउने बाटो जति पनि छ । यी काँठेलाई लागेको होला, काँठको मात्र हो र, त्यही चितवन, सर्लाही, सिरहा, बाँकेकै तरकारी पनि त खेतमै कुहिएका रहेछन् नि ! त्यही बाटो हुँदै भारतदेखि तरकारी आएको हो क्यारे ! 

हिजो बेलुकी मात्र एकजना वृद्ध बा दुखेसो गर्दै थिए– बर्खा लाग्यो । अघिपछि त देशी मल पाइन्नथ्यो । यसपालि झन् के पाइएला र ? यी काँठे बूढालाई भनिदिनू न मन्त्रीज्यू, ज्यानभन्दा ठूलो मल हो ? भावनाले देश चल्छ ? अनि नि माननीय मन्त्रीज्यू, तपाईंलाई एक वर्षअगाडि ०७६ वैशाखमा तपाईंको पार्टीको स्थायी कमिटी बैठकमा ‘देशको हालत हेर्दा छाती पिटीपिटी रोऊँजस्तो लागेको’ थियो (स्रोत ः नयाँ पत्रिका, ०७६÷०१÷२०) । अहिले देशभरिका किसानको अवस्था देख्दा रोऊँ–रोऊँजस्तो लागेन ? रिसानी माफी होस् मन्त्रीज्यू , फेरि सोध्न मन लाग्यो– हामी समाजवादको बाटोमा छौँ कि सत्यानाशको ?
 

चाँगुनारायण–७, बागेश्वरी, भक्तपुर