मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १ बिहीबार १५:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

आवश्यक स्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्थापन गर्न सरकारलाई स्वास्थ्य समितिको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १ बिहीबार १५:४७:००

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक स्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । 

बिहीबार बसेको समिति बैठकले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कन्ट्रयाक्ट ट्रेसिङलाई जोड दिन निर्देशन दिएको हो । 

पिसिआर सेट, पिपिई, मास्क, थर्मलगनलगायतका उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथाशीघ्र गर्न समितिले सरकारलाई निर्देशन दिएको हो । 

समितिले आइसोलेसन बेड, भेन्टिलेटरहरूको थप व्यवस्था गर्नुपर्ने र अन्य बिरामीहरूले खानुपर्ने औषधिको अभावसमेत हुन नदिन सरकारलाई निर्देशन दिएको समितिका सभापति जयपुरी घर्तीले जानकारी दिइन् । 

समितिले सर्वसाधारणलाई सर्वसुलभ रूपमा मास्क र स्यानिटाइजरको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । 

परीक्षणको दायरा तीव्र पार्दै प्रदेश र स्थानीय सरकारलाई तत्काल स्वास्थ्य सामग्रीको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ । 

समितिले विदेशमा रहेका नागरिकलाई नेपाल ल्याउन क्वारेन्टाइन र आइसोलेसनसहित आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र विदेशमै बस्न चाहनेलाई  सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन र तयारी गर्न पनि निर्देशन दिएको छ । 

यस्तै, लकडाउनका कारण अलपत्र परेका मजदुर, विद्यार्थी र नागरिकहरूको तथ्यांक संकलन गरी राहतको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ । 

क्वारेन्टाइनमा सामान्य उपचार, स्वास्थ्यकर्मी, वास, कपास र एम्बुलेन्सको व्यवस्था गर्न तथा सीमा क्षेत्रमा अलपत्र नागरिकलाई तीनवटै तहका सरकारसँग समन्वय गरी सुरक्षित रूपमा आफ्नो घर फर्किने व्यवस्था मिलाउन पनि निर्देशन दिएको सभापति घर्तीले जानकारी दिइन् । 

कोरोनाको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।