मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७५ पौष ३ मंगलबार ११:२३:००
Read Time : > 1 मिनेट
विश्व

उत्तर कोरियाले अमेरिकालाई किन दियो नयाँ चेतावनी ?

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ पौष ३ मंगलबार ११:२३:००

उत्तर कोरियाले आफ्ना अधिकारीहरूमाथि नयाँ प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको कदमको निन्दा गर्दै त्यसले स्थायी रूपमा परमाणु अस्त्र निःशस्त्रीकरण पक्रिया प्रभावित हुने चेतावनी दिएको छ । अमेरिकाले उत्तर कोरियाका चार वरिष्ठ अधिकारीमाथि प्रतिबन्ध लगाएको केही दिनपछि उत्तरले सो चेतावनी दिएको हो । वासिङ्टन ‘दुई देशबीचको सम्बन्धलाई पुरानै अवस्थामा फर्काउन सक्रिय रहेको’ उत्तरले आरोप लगाएको छ । अमेरिकाले आफ्ना अधिकारीहरूमाथि लगाएको प्रतिबन्ध तत्कालै नहटाए निःशस्त्रीकरणको प्रक्रिया सुरु नगर्ने उत्तरले चेतावनी दिएको छ । 

 निःशस्त्रीकरणबारे भएन प्रगति
यस वर्षको जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको शिखर वार्तापछि उत्तर कोरियाले निःशस्त्र हुन सहमति जनाएको थियो । तर, निःशस्त्रीकरणबारे अहिलेसम्म कुनै ठोस प्रगति हुन सकिरहेको छैन । 

उत्तरलाई छिटै निःशस्त्र बनाउने सहमतिमा दुवै नेताले हस्ताक्षर गरेका थिए । तर, त्यसपछिका दिनमा प्योङयाङको निःशस्त्रीकरणबारे कुनै योजना ल्याउन सकेका छैनन्, जसका कारण विश्वासको संकट देखिएको छ । अमेरिकाले अहिलेकै अवस्थामा विनासर्त उत्तर कोरिया निःशस्त्रीकरण हुनुपर्ने बताउँदै आएको छ । तर, उत्तर कोरियाले अमेरिकाले लगाउँदै आएको नाकाबन्दी हटाउनुपर्ने माग गरेको छ । 

 किन लगायो अमेरिकाले प्रतिबन्ध ?
अमेरिकाले गत हप्ता उत्तर कोरियाली तीन अधिकारीले मानवअधिकार हनन गरेको आरोप लगाउँदै उनीहरूविरुद्ध नाकाबन्दी लगाएको थियो । प्रतिबन्ध लगाइएकामध्ये एकजना चो योङ हाय उत्तर कोरियाली नेता किमका दाहिने हात मानिन्छन् । दुई देशबीचको सम्बन्ध सकारात्मक दिशामा अगाडि बढिरहेका वेला अमेरिकाले केही उत्तर कोरियाली अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । उत्तर कोरियामा प्रेसमाथि प्रतिबन्ध लगाइएको, रेडियो संकेतहरू रोकिएको र विदेशी चलचित्र हेर्ने मानिसलाई थुनिएको विवरण आएपछि अमेरिकाले तीन उत्तर कोरियाली अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो । उत्तर कोरियाले आफ्ना अधिकारीहरूमाथि नयाँ प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको कदमको भत्र्सना गर्दै त्यसले स्थायी रूपमा परमाणु अस्त्र निःशस्त्रीकरण प्रभावित हुने चेतावनी दिएको छ । 

फेरि आरोप– प्रत्यारोप
उत्तरले कपटपूर्ण काम गरेको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गर्दै उत्तर कोरिया पछिल्लो समयमा कपटपूर्ण काममा लागेको र उसले निःशस्त्रीकरणका लागि प्रक्रियाको आरम्भ नै नगरेको आरोप लगाएको छ । उत्तर कोरियाले भने आफू सिंगापुर सम्झौताको पक्षमा इमानदारिताका साथ लागिपरेको तर त्यस सम्झौताबमोजिम अमेरिका नाकाबन्दी हटाउने पक्षमा नदेखिएको गुनासो गरेको छ । उत्तर कोरियाली सरकारको विज्ञप्ति उद्धृत गर्दै सरकारी समाचार समिति केसिएनएले भनेको छ, ‘अमेरिकी राष्ट्रपति ट्रम्प बारम्बार आफ्ना अभिव्यक्तिबाट उत्तर कोरियासँगको सम्बन्धमा सुधार ल्याउन चाहन्छन् । तर, अमेरिकी विदेश मन्त्रालय भने बारम्बार उत्तर कोरियाका विरुद्ध नाकाबन्दीका साथै सम्बन्ध बिगारेर पहिलेकै अवस्थामा पु¥याउने खेल प्रदर्शन गरिरहेको छ ।’