मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ १ बिहीबार १०:५९:००
Read Time : < 1 मिनेट
समाचार

सिराहामा बीभत्स हत्यापछि गायव गरिएको पुरुषको टाउको फेला पर्‍याे

Read Time : < 1 मिनेट
२०७७ जेठ १ बिहीबार १०:५९:००

सिराहाको लहान नगरपालिका– १७ गोविन्दपुर गाउँमा एक सुस्त मनस्थितिका युवकको बीभत्स हत्या गरी गायव गरिएको टाउको घटनाकाे एक दिनपछि फेला परेकाे छ । 

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार बुधबार साँझ गोविन्दपुर गाउँदेखि करिब एक किलोमिटर पूर्व बलान खोलामा निर्माणाधीन झोलुंगे पुलनजिक भेटिएको हो ।

‘साँझ वस्तुभाउ चराएर फर्किएका गोठालाले खोला किनारमा टाउको भेटिएको खबर गरे । लगत्तै प्रहरी घटनास्थल पुगेकाे पुग्याे। प्रहरीले युवककाे टाउकाे पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको छ,' प्रहरी नायव उपरीक्षक थापाले भने । 

खोला किनारमा सानो खाल्डोमा जमेको पानीनजिकै टाउको भेटिएको उनले बताए । हत्याको अनुसन्धान सूक्ष्म रूपले गरिरहेको बताए पनि प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन । हत्यामा प्रयोग गरिएको हतियार पनि फेला नपरेको प्रहरीले जनाएको छ । 

स्थानीय मोहम्मद इसाकका चार भाइ छोरामध्ये कान्छो करिब ३७ वर्षीय मो. सफिदको मंगलबार बिहान करिब ६ बजेतिर गोविन्दपुर गाउँस्थित घरनजिकै आफ्नै बारीमा टाउको नभएको शव भेटिएको थियाे । उत्तानो अवस्थामा भेटिएका सफिदको टाउको थिएन भने छातीदेखि पेटससम्म गहिरो गरी चिरिएको घाउ थियो । 

गाउँको मध्यभागमा पर्ने मस्जिददेखि दुई घर पूर्वतिर बाटोसँगै टाँसिएको दुईतले घरमा वृद्ध बाबुआमा र परिवारका अन्य सदस्य सुतेको र मूलघर अगाडि पर्खालसँगै जोडिएको जस्ताले छाएको टहरोमा मृतक एक्लै सुतेको मृतकका भतिज मो. सेराज राइनले बताए । 

मंगलबार बिहान घटनास्थल पुगेको जनकपुरस्थित प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहितको अनुसन्धान टोली दिनभर अनुसन्धान गरेर फर्किएको थियो ।