१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ जेठ १ बिहीबार ०६:०३:००
Read Time : > 1 मिनेट
सप्तरंग

कोरोना संकट : ठप्प फिल्म उद्योग, धकेलिए सिने अवार्ड

Read Time : > 1 मिनेट
२०७७ जेठ १ बिहीबार ०६:०३:००

हरेक वर्ष २१ वैशाखमा छायाँछवि क्रिएसनले ‘डी सिने अवार्ड’ आयोजना गर्थ्यो । यस वर्ष अवार्डको तयारी थाल्दा नथाल्दै कोरोना भाइरसको प्रसार रोक्न देशव्यापी लकडाउन सुरु भयो । र, अवार्ड समारोह अनिश्चितकालका लागि पछाडि धकेलियो । ‘समारोहले स्रष्टा र चलचित्रकर्मीलाई एक ठाउँमा भेला गराउँथ्यो, यस वर्ष अवार्डको पूर्वतयारी पनि खेर गयो,’ डी सिने अवार्डका अध्यक्ष शान्तिप्रिय भन्छन्।

कोरोना संकटका कारण यतिवेला चलचित्र उद्योग नै ठप्प छ । मानिसको भिडभाड हुने समारोहमा प्रतिबन्ध लागेको छ । र, कोभिड–१९ को महामारी नियन्त्रणमा नआएसम्म अवार्ड कार्यक्रम आयोजना हुने सम्भावना छैन । त्यस्तै, अनिश्चिततामा परेको छ, ‘नेफ्टा फिल्म अवार्ड’ पनि । नेपाल चलचित्र प्राविधिक संघ आयोजक रहने अवार्डको दसौँ शृंखला २२ चैतमा आयोजना हुँदै थियो । तर, ११ चैतदेखि नै लकडाउन सुरु भएकाले स्थगित भयो ।

कोरोना संकटका कारण यतिवेला चलचित्र उद्योग नै ठप्प छ । मानिसको भिडभाड हुने समारोहमा प्रतिबन्ध लागेको छ । र, कोभिड–१९ को महामारी नियन्त्रणमा नआएसम्म अवार्ड कार्यक्रम आयोजना हुने सम्भावना छैन।

यस्तै, १८ चैतका लागि तय भएको ‘नेसनल पावर न्युज म्युजिक अवार्ड’को तेस्रो संस्करण पनि स्थगित भएको छ । ‘मिडिया एन्ड इन्टरटेनमेन्ट’ले आयोजना गर्ने उक्त अवार्डको मनोनयनसमेत सार्वजनिक भइसकेको थियो । ‘परिस्थिति सामान्य हुनासाथ उत्कृष्ट सर्जकहरूलाई सम्मान गर्नेछौँ,’ अवार्डका संस्थापक माधवराज पोखरेल भन्छन्।

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण पनि अनिश्चित बनेको छ । नेपाल–अमेरिका फिल्म सोसाइटी आयोजक रहेको महोत्सव यस वर्ष २६–२८ जुनमा अमेरिकाको वासिङ्टन डिसीमा गर्ने तयारी थियो । कोभिड–१९ को महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ । महोत्सवका निर्देशक पूर्णसिंह बराइली महोत्सवका सबै प्रक्रिया स्थगित भएको बताउँछन् । भन्छन्, ‘आवेदनका लागि चलचित्रकर्मीले बुझाएको शुल्क पनि फिर्ता ग-यौँ।’

कोभिड–१९ को महामारी जबसम्म नियन्त्रणमा आउँदैन, तबसम्म अवार्ड कार्यक्रमहरू आयोजना हुन नसक्ने चलचित्र निर्देशक दीपेन्द्र लामा बताउँछन् । ‘कोरोना संकटले सिनेमा उद्योगलाई कहाँ पु-याउँछ र लकडाउन कति समय कायम राख्नुपर्छ भन्नेमा सिने अवार्डहरूको भविष्य निर्धारण हुनेछ,’ उनी भन्छन्, ‘फिल्म बजार पुरानै लयमा फर्किनलाई दर्शक त्रासरहित भएर हलसम्म पुग्ने वातावरण सिर्जना हुनुपर्छ ।’ एलजी, ग्लोबल, एभरेस्ट, इनास, क्रिटिक्स, कामना, नेसनललगायत फिल्म अवार्डहरूको वितरण पनि अनिश्चित बनेको छ।

‘भौतिक दूरीमा बस्नुपर्ने भएकाले सिनेमा निर्माण र अवार्ड कार्यक्रमकै विकल्प खोज्नुपर्ने अवस्था छ,’ कलाकार दीपकराज गिरी भन्छन्, ‘कोरोनाको भय कायम रहेसम्म ठूलो संख्यामा मानिस जम्मा गर्नुपर्ने सिने उद्योग तंग्रिने सम्भावना छैन ।’ आपत्कालीन विकल्पको खोजी थाल्नुपर्ने उनी बताउँछन्।

चलचित्र विकास बोर्डले हरेक वर्ष १६ असारमा राष्ट्रिय चलचित्र पुरस्कार वितरण गर्दै आएको थियो । ‘यस वर्ष पुरस्कारभन्दा चलचित्र उद्योगलाई पुनर्जीवित गर्ने चिन्ता छ,’ बोर्ड सदस्य दयाराम दाहाल भन्छन्, ‘अवार्ड कार्यक्रमले चलचित्रकर्मीको सक्रियता र दर्शकको लगाव देखाउँथे । अहिले त चलचित्रकर्मीलाई नै कसरी बचाउने भन्ने चिन्ता छ।’

चलचित्र निर्देशक एभरेस्ट सूर्य बोहरा भने आशावादी देखिन्छन् । ‘महामारी र विपत्तिलाई मानिसले जितेका उदाहरण प्रशस्त छन्,’ उनी भन्छन्, ‘कोभिड–१९ नियन्त्रणमा आएपछि सिनेमा उद्योग तंग्रिन केही समय भने लाग्नेछ ।’ उनको बुझाइमा कोभिड–१९ का कारण नेपाली सिनेमा उद्योग एक दशक पछाडि धकेलिएको छ । लगानीकर्तालाई कर छुटलगायत सुविधा दिएर सिने उद्योगलाई पुरानै लयमा फर्काउन सकिने निर्देशक लामा बताउँछन् ।