१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ बैशाख ३१ बुधबार १३:१५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

भक्तपुरकी कोरोना संक्रमित महिला दुई दिनअघि सुनसरीबाट मोटरसाइकलमा उपत्यका भित्रिएकी थिइन्

Read Time : > 1 मिनेट
२०७७ बैशाख ३१ बुधबार १३:१५:००

कोरोना संक्रमण पुष्टि भएका भक्तपुरका २७ वर्षीय पुरुष सशस्त्र प्रहरी र २५ वर्षीया महिला स्वास्थ्यकर्मी रहेको खुलेको छ। काठमाडौं उपत्यकाबाहिर रहेका उनीहरू लकडाउनका वेलामा पूर्वबाट काभ्रे र भक्तपुरको सीमा साँगा पार गर्दै भक्तपुर आएका थिए।  

राससका अनुसार संक्रमित सशस्त्र प्रहरी जवान केही दिनअघि मात्रै रामेछापस्थित घरबाट फर्किएका हुन्। भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार केही दिनअघि उनी सिन्धुपाल्चोक हुँदै भक्तपुर, चाँगुनारायण नगरपालिका– १ दुवाकोटस्थित कोठामा आएको पाइएको छ। 

रामेछापबाट आएपछि उनको सशस्त्र प्रहरी अस्पतालमा स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो। नतिजा पोजेटिभ आएपछि मंगलबारदेखि टेकु अस्पतालको आइसोलेसनमा उनको उपचार सुरु भएको प्रजिअ पाण्डेले जानकारी दिए। 

महानगरीय प्रहरी परिसरसहितको टोलीले कोरोना संक्रमित सशस्त्र प्रहरी बसेको घरका परिवार एवं उनी सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्ने काम सुरु गरेको प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । परिवारका अन्यको पनि कोरोना परीक्षणको काम सुरु भएको छ। 

त्यसैगरी, २५ वर्षीया कोरोना संक्रमित महिला सुनसरीबाट मोटरसाइकलमा पास बनाएर २८ वैशाखमा उपत्यका भित्रिएकी थिइन्। उनी भक्तपुरको मध्यपुर शंखधर चोकमा बस्दै आएकी नर्स साथीको कोठामा गएर बसेको पाइएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए। 

सुनसरी, रामधुनी नगरपालिका झुम्का स्थायी घर भई भक्तपुरको सल्लाघारीमा बस्दै आएकी उनी ललितपुरमा रहेको आरोग्य फाउन्डेसनको निदान अस्पतालमा कार्यरत रहेको पाइएको छ। उनी झुम्कामा तीन दिन बसेकी थिइन्। त्यहाँ उनले कस–कसलाई भेटिन्– खोजी भइरहेको प्रहरीले जनाएको छ। 

महिला सुनसरीबाट आउँदा नै संक्रमित भएर आएको हुन सक्ने अनुमान गरिएको छ। मोटरसाइकलको पास बनाएर आएकी ती महिलासँग आउने पुरुष सुनसरी नै फर्किएका छन्। उनीहरू बाटोमा सम्पर्कमा आएका व्यक्तिको पनि खोजी सुरु गरिएको छ। 

ती महिलाले आफैँ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गएर पिसिआर परीक्षण गराएकी थिइन्। उनलाई कोरोना संक्रमण पाइएपछि मंगलबारदेखि नै टेकु अस्पतालको आइसोलोसनमा भर्ना गरिएको प्रजिअ पाण्डेले जानकारी दिए। ‘संक्रमित महिला बसेको घरका मानिस र सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी परीक्षण सुरु गरेका छौँ,’ उनले भनिन्।

संक्रमित महिलासँगै बसेकी नर्स भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत रहेको खुलेको छ। 

अस्पतालको आकस्मिक कक्षमा कार्यरत नर्सलाई आजै भक्तपु्र अस्पतालमा स्वाब संकलन गरी टेकु पठाइएको छ। ती नर्सलाई भक्तपुर अस्पतालकै आइसोलेसन वार्डमा राखिएको छ। 

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले नर्सलाई भक्तपुर अस्पतालमा स्वाब संकलन गरी आइसोलेसनमा राखिएको बताइन्। 

मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्स यही वैशाख २६ गतेदेखि काममा नगएकाले अस्पतालमा संक्रमणको जोखिम नरहेको अनुमान गरिएको छ। बुधबार बिहान ११ः३० बजेसम्म मानव अंग प्रत्यारोपण केन्द्रमा राति काममा रहेका नर्सलाई अस्पतालबाहिर जान नदिएको र उनीहरूको कोरोना परीक्षण गर्ने या नगर्ने भन्नेबारेमा अन्योल भइरहेको अस्पताल प्रशासन शाखाले जनाएको छ।

यसैबीच कोरोना संक्रमित महिला बसेको शंखधरचोकस्थित बस्ती प्रहरीले सिल गरेको छ। प्रहरी उपरीक्षक प्रधानले करिब २० घर रहेको उक्त बस्तीलाई सिल गरेर नेपाल प्रहरीको सुरक्षा गस्ती खटाइएको जानकारी दिए। 

सिल गरिएको बस्तीमा कसैलाई आउन र जान दिइएको छैन। त्यसैगरी संक्रमित सशस्त्र प्रहरी बस्दै आएको दुवाकोटको घरमा पनि सिल गरिएको छ। 

बस्तीभन्दा अलि पर रहेकाले एक घरलाई मात्रै सिल गरी सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको उनले जानकारी दिए। सशस्त्र प्रहरी जवानका परिवारको पनि स्वाब संकलन र परीक्षणका लागि आजै टेकु अस्पताल पठाइएको छ।