१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ बैशाख ३१ बुधबार ११:०८:००
Read Time : > 2 मिनेट
समाचार

सिराहाकाे सीमा क्षेत्रमा भारतीयकाे दादागिरी : स्थानीयले यसरी गर्दै छन् प्रतिरोध 

Read Time : > 2 मिनेट
२०७७ बैशाख ३१ बुधबार ११:०८:००

गएको माघ दोस्रो साता सिराहाको भारतीय सीमावर्ती भगवानपुर गाउँपालिका– ४ ठाढीको नेपाली भूमिमा सशस्त्र प्रहरी बलको ड्युटी पोस्ट निर्माण गर्न खोज्दा भारतीय पक्षले अवरोध गर्‍याे। 

नेपालतर्फको दशगजा मिचेर भन्सार चेकपोस्ट सञ्चालन गर्दै आएको भारतीय पक्षले नेपाली भूमिमा सशस्त्रको ड्युटी पोस्टसमेत बनाउन नदिएपछि नेपालीले सीमा क्षेत्रमा नाराबाजी नै गरे । 

ठाढीमा डेरी पसल चलाउँदै आएका श्रीलाल पासवानसहित स्थानीय रामआशिष पासवान, रामचन्द्र साहलगायतको नेतृत्वमा स्थानीय बासिन्दाले भारतीय पक्षको दादागिरीविरुद्ध नाराबाजी नै गरे । त्यसलगत्तै नेपाल–भारत सीमा सर्वेक्षण टोली नम्बर २ जलेश्वरका नेपाली सर्वेक्षक उमेशकुमार र भारतीय सर्वेक्षक मञ्जुल ममगाईले स्थलगत अनुगमन गरेपछि २१ माघ गतेदेखि पोस्ट निर्माण सुचारु भयो । 

स्थानीय अगुवा श्रीलाल भन्छन्, ‘नेपालीले भारतीय पक्षको प्रतिवाद गरेपछि सशस्त्रको ड्युटी पोस्ट मात्र निर्माण भएन, भारतीय पक्षले अतिक्रमण गरेको दशगजा क्षेत्र पनि खाली गराउने सहमति भएको छ ।’

स्थानीयले रोके स्वागतद्वार निर्माण 
भारतीय पक्षले बोर्ड झुन्ड्याएरै दशगजामा भन्सार चेकपोस्टसँगै एसएसबीको चेकपोष्ट सञ्चालन गरेपछि स्थानीयले वेलाबेलामा विरोध गर्दै आएको श्रीलाल बताउँछन् । 

नेपालतर्फ दशगजा क्षेत्रमै फागुनको पहिलो साता ०७५ मा भारतीय पक्षले जबर्जस्ती स्वागतद्वार बनाउन जेसिभी प्रयोग गरी निर्माण कार्य थालेपछि श्रीलालकै नेतृत्वमा ठाढीका बासिन्दाले रोकेका थिए । 

एसएसबीको संरक्षणमा स्वागतद्वार बनाउन खोजिएपछि ठाढीस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका तत्कालीन इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक कैलाश कटुवालसहितको उपस्थितिमा निर्माण नरोके ढुंगामुढा गर्छौं भन्दै दबाब दिएपछि निर्माण रोकिएको उनले बताए ।

भारतीय पक्षको जबर्जस्तीविरुद्ध श्रीलालसहितको नेतृत्वमा स्थानीयले जिल्ला र केन्द्रलाई गुहारेपछि स्थलगत रूपमा नापी तथा भूउपयोग व्यवस्थापन महाशाखाअन्तर्गत नेपाल–भारत सीमा सर्वेक्षण टोली नम्बर २ जनकपुरबाट आएको टोलीले ठाढीमा स्थलगत अनुगमन गरेको थियो । 

टोलीले विवादित सीमा क्षेत्रको स्थलगत अनुगमनपछि १० फागुन ०७५ मा दशगजामा  भारतीय पक्षले बनाउन लागेको स्वागतद्वार नेपालको दशगजा क्षेत्रमा पर्ने लिखित प्रतिवेदन दिएको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ । टोलीले भारतीय पक्षबाट नेपाल भारत सीमा क्षेत्रको पर्ने व्यहोराको लिखित प्रतिवेदन दिएपछि १७ फागुनमा गृह मन्त्रालयलाई लिखित जानकारी गराएको थियो । 

कलभर्टले सीमा सुरक्षा 
सिराहा नगरपालिका– २० लगडिगदियानी र पारिपट्टि पर्ने भारत बिहारको लगडिपदमा गाउँलाई छुट्याएको छ, दशगजमा बनाइएको कलभर्टले । 

लगडी पदमा गाउँका बासिन्दाले नेपालतर्फको दशगजामा बस्तुभाउ बाँध्ने गर्छन् । करिब २५ वर्षअघिसम्म पारिपट्टिको दशगजा भारतीयले मासेर घर बनाए पनि नेपालतर्फको दशगजा खाली रहेको स्थानीय देवनारायण यादवले बताए । 

‘गाउँका केही नेपालीको जमिन पारिपट्टि छ, ओहोरदोहोर गरिरहनुपर्छ,’ सेवानिवृत्त गाविससचिवसमेत रहेका यादव भन्छन्, ‘सीमामा कल्भर्ट भएकाले यताउता हुन दिएका छैनौँ ।’ कल्भर्टमा बसेर कुरा गर्दा दुवैतिर सुनिने भएकाले त्यसकै सुरक्षा गरिरहेको उनले बताए ।  

करिब पाँच वर्षअघि सिराहा नगरपालिका– १५ बुधौरा गाउँको दक्षिणपट्टि सीमाको दशगजा नजिकै छठपूजाका लागि सानो तलाउ खन्दा भारतीय पक्षले गरेको अवरोध स्थानीय बासिन्दाले प्रतिवाद गरेपछि हटेको सिराहाका पत्रकार देवकुमार यादव बताउँछन् । ‘आफ्नै भूमिमा सानो तलाउन बनाएर छठको पूजा गर्न खोज्दा भारतीयले गरेको अवरोधको स्थानीयले प्रतिवाद गरेपछि उनीहरू पछि हटेका थिए,’ यादवले भने । 

नयाँ सीमास्तम्भ निर्माण
भारतसँग सीमा जोडिएका जिल्लाका विभिन्न ठाउँमा भारतीय पक्षबाट हुन सक्ने अतिक्रमण रोक्न महोत्तरीको जलेश्वरस्थित नेपाल–भारत सीमा सर्वेक्षण टोली नं. २ ले गरेको निर्क्याेलको आधारमा दशगजा क्षेत्रमा बिजोर नम्बरका नयाँ सीमास्तम्भ निर्माण गरिएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिराहामातहतका सशस्त्र प्रहरी युनिटको प्रत्यक्ष रेखदेखमा माघको तेस्रो हप्तासम्म ६३ वटा नयाँ साना सीमास्तम्भ निर्माण गरिएको छ । सीमा क्षेत्रमा पर्ने माडरदेखि पूर्व सामान्य पाँचवटा, ठूलो एकसहित ६ वटा स्तम्भ मर्मत गरिएको छ । 

भारतको बिहार राज्यको मधुवनी जिल्लासँग सिराहाको सीमापूर्व बलान र पश्चिम कमलानदीसम्म करिब ४८ किलोमिटर खण्डसँग जोडिएको छ । सिराहा प्रशासनको तथ्यांकअनुसार सिराहामा मुख्य २७, सहायक १९ र सानो तीन सय ४२ गरी तीन सय ८८ वटा सीमास्तम्भ छन् ।