१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सुरक्षाकर्मीले कपिलवस्तुको दशगजा क्षेत्रमा रोक लगाएपछि अलपत्र परेका नेपाली
दिपेश पछाई
२०७७ बैशाख ३१ बुधबार ०७:२६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

सीमामा चार हजारभन्दा बढी नेपाली अलपत्र

Read Time : > 2 मिनेट
दिपेश पछाई
२०७७ बैशाख ३१ बुधबार ०७:२६:००

भारतमा लकडाउन खुकुलो भएसँगै नेपाल फर्कने क्रम तीव्र, कोही क्वारेन्टाइनमा, कतिपय सडकमा भोकभोकै

भारतमा लकडाउन केही खुकुलो भएसँगै नेपालीहरू स्वदेश फर्कने क्रम तीव्र बढेको छ । रुपन्देही, कपिलवस्तु, बाँकेका नेपाल भारत सीमामा चार हजारभन्दा बढी नेपाली अलपत्र अवस्थामा छन् । सीमामा चार–पाँच दिनअघि आइपुगेका उनीहरू नेपाल प्रवेश गर्न नपाएपछि दशगजामै अलपत्र परेका हुन् । कोही भारतीय क्वारेन्टाइनमा बसेका छन् भने कतिपय सडकमै भोकभोकै बस्न विवश छन् ।

भारतको विभिन्न सहरबाट गोरखपुरसम्म बस र रेलमार्फत आएका सयौँ व्यक्ति नेपाल–भारत सीमानाकामा अलपत्र परेका छन् । मंगलबार बेलहिया नाकामा एक सय ९६ जना आइपुगेका छन् । सोमबार तीन सय बढी नेपाली आएका थिए । सुनौलीमा करिब दुई हजारभन्दा बढी नेपाली अलपत्र परेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले जानकारी दिए । नेपाल प्रवेश गर्ने आसमा आएकामध्ये केहीलाई भारतीय क्वारेन्टाइनमा राखिएको छ । उनका अनुसार भारतीय क्वारेन्टाइनमा करिब एक हजार र बाँकी सडक किनारा, बसपार्क, मठमन्दिरलगायत स्थानमा छरिएर बसेका छन् । भारतले अब आउने नेपालीलाई क्वारेन्टाइनमा राख्न नसकिने चेतावनी दिइसकेको प्रहरी निरीक्षक अधिकारीले बताए । 

२५ दिन क्वारेन्टाइन पूरा गरेपछि नेपाल ल्याउनुपर्नेमा नेपाल सरकारले ध्यान नदिएको भन्दै भारतीय पक्षले समय पूरा गरेका नेपालीलाई बुझ्न दबाब दिएको छ । सोही कारण सुनौलीमा रहेका क्वारेन्टाइनमा २५ दिन बिताएका नेपालीलाई स्वदेश प्रवेश गराउने तयारी थालिएको छ । स्थानीय तहसँगको समन्वयमा कम्तीमा पाँच सयजनालाई बुधबारदेखि स्वदेश भिœयाउने र क्वारेन्टाइनमा राखिने भएको छ । 

सोमबार दिउँसो करिब १ बजेतिर तीन सयभन्दा बढी नेपाली सीमानाका बेलहिया प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मी केही समय तनावमा परेका थिए । पछि, भारतीय सुरक्षाकर्मीले समन्वय गरेर उनीहरूलाई भारततर्फ नै फर्काएका थिए । नेपाल प्रवेश गर्न खोज्नेमा ६ महिनाका बच्चादेखि वृद्धवृद्धासम्म छन् । उनीहरू सबैलाई ट्रकमै राखेर भारतीय प्रहरीले क्वारेन्टाइनमा लगेको छ । 

‘भारतीय नरेन्द्र मोदीले आफ्ना नागरिकलाई स्वदेश ल्याएझैँ हामी पनि सिमानासम्म पुगेका थियौँ, सरकारले हामीलाई घरसम्म पुग्न गाडीको व्यवस्था गर्ला भनेर खुसी भएका थियौँ, तर हामीलाई भारततर्फ नै ट्रकमा कोचेर फर्काइयो,’ भारतको गाजियाबादबाट आएकी धादिङकी ६ महिनाकी सुत्केरी मीना तामाङले दुखेसो पोखिन् । भारतको सुनौलीमा रहेको क्वारेन्टाइनमा अहिले करिब एक हजार छन् भने अन्य नेपाली छरिएर रहेको बेलहियाका स्थानीय धर्मराज गिरीले बताए । 

नेपाल प्रवेश गर्न नपाएपछि पाँच दिनदेखि दशगजामै 

भारतबाट दुई हजारभन्दा बढी नेपाली कपिलवस्तुका सीमामा आइपुगेका छन् । नेपाल प्रवेश गर्न नपाएपछि उनीहरू दशगजामै अलपत्र परेका छन् । गृह मन्त्रालयले उनीहरूलाई नेपाल प्रवेश गराउने सम्बन्धमा कुनै निर्णय नगरेपछि पाँच दिनयता उनीहरू सिमानामै अलपत्र परेका हुन् । केहीलाई स्थानीय सरकार, प्रहरीले खानपिनको व्यवस्था गरे पनि धेरैजना भोकभोकै बस्न बाध्य छन् । 

कृष्णनगरमा चार सय ३०, भिलमी–कुसहवा चार सय ८९, हरदौना तीन सय आठ, मर्यादपुर चार सय ९३, चाकरचौडा दुई सय १९, हथिहवा एक सय ६, विजयनगर ९२ जना, अन्य स्थानमा दुई सयभन्दा बढी नेपाली अलपत्र अवस्थामा छन् । भारतले लकडाउन खुकुलो बनाएसँगै रोजगारीका लागि भारत गएका नेपालीहरू आउने क्रम तीव्र बढेको हो । कपिलवस्तुमा एक साताअघि भारतबाट आएका नौ सय ४३ जनालाई जिल्लाका १० वटा स्थानीय तहले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमितको संख्या बढेसँगै कपिलवस्तु सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको सोमबारको बैठकले कपिलवस्तु जिल्ला आगामी ५ जेठसम्मका लागि सिल गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । 

‘पराई देशमा मर्नुभन्दा आफ्नै मातृभूमि आएँ’
कामका लागि भारतको मुम्बई गएका नरैनापुर गाउँपालिका–६ का जयसराम यादव चार दिन लगाएर सीमानाका जमुनहा आइपुगे । मुम्बईमा बस्दा दैनिक गुजारा चलाउन मुस्किल भएपछि उनले नौजना साथीसँग स्वदेश फर्किने अठोट गरे । नेपाल फर्किने भनेपछि भारतीय प्रहरीले उनीहरूलाई साथ दिए र बहराइच आउने ट्रकमा चढाएर पठाए । बाटोमा प्रहरीको केरकारपछि उनको टोली चारको बेलुकी बहराइच पुग्यो । बहराइच पुगेपछि उनमा बाँच्ने आशा पलायो । अब त हिँडेर भए पनि सीमानाकास्थित जमुनहा बजार पुगिन्छ भन्ने लागेर खुसी लाग्यो । उनी बहराइचबाट ट्र्याक्टर चढेर एक दिनमा गंगापुरको सीमावर्ती बजार जमुनहा पुगे । तर, उनलाई सीमामा खटिएका नेपालका सुरक्षाकर्मीले नेपाल प्रवेश गर्न दिएनन् । उनले तीन दिन घरनजिकैको भारतीय भूमिमा बिताए ।

नरैनापुर गाउँपालिका–५ मटेहियाका सब्बीर खाँ पनि ट्रकमा बसेर मुम्बईबाट फर्किए । उनी चढेको ट्रकमा ४९ जना थिए । मुम्बईमा पानी खानसमेत नपाएपछि ट्रकमा चढेर स्वदेश आएको उनले बताए । आफ्नो देशमा जाऊ भन्दै धाराको पानीसमेत प्रयोग गर्न नदिएपछि ज्यानको बाजी लगाएर मुम्बईबाट आएको उनको भनाइ छ । अर्काको देशमा खान नपाएर मर्नुभन्दा आफ्नै देशमा फर्किनु उचित भएको खाँले बताए । 

भारतबाट लुकिछिपी दशगजामा आएका ९४ जनालाई नेपाल ल्याइएको छ । भारतका विभिन्न सहरबाट नेपाल–भारत सीमा नाकाअन्तर्गत नरैनापुर गाउँपालिकाको कटकुइँयामा अलपत्र परेपछि उनीहरूलाई स्वदेश प्रवेश गराइएको जयकिसान मावि, गंगापुर क्वारेन्टाइन व्यवस्थापन समितिका प्रमुख हेमकुमार यादवले जानकारी दिए । उनले जयकिसान माविमा ४९ र नरैनापुर गाउँपालिका–५ मटेहियास्थित दीपेन्द्र प्राविको क्वारेन्टाइनमा ४५ जनालाई राखिएको बताए ।