मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ बैशाख २९ सोमबार १६:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सुनौली नाकामा दुई हजार नेपाली अलपत्र

Read Time : < 1 मिनेट
२०७७ बैशाख २९ सोमबार १६:३१:००

भारतमा लकडाउन केही खुकुलो भएसँगै नेपाल फर्कनेको संख्या बढ्न थालेको छ । स्वदेश फर्किएका दुई हजारभन्दा धेरै नेपाली सुनौली नाकामा अलपत्र परेका छन् । 

सोमबार मात्रै भारतका विभिन्न ठाउँबाट तीन सयभन्दा धेरै नेपाली बेलहिया नाकामा आइपुगेका छन् । गोरखपुरसम्म बस र रेलमार्फत आएका उनीहरू त्यहाँबाट हिँडेरै बेलहिया आइपुगेका हुन् । त्यसरी आउनेमा सुत्केरी र बालबालिकासमेत छन् । 

इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीका अनुसार सीमानाका सुनौलीमा करिब दुई हजार नेपाली जम्मा भएका छन् । त्यसमध्ये भारतीय क्वारेन्टाइनमा करिव एक हजार बसेका छन् । बाँकी करिव एक हजार नेपाली सडक किनारा, बसपार्क, धार्मिक मठमन्दिरलगायतका ठाउँमा अलपत्र अवस्थामा बसेका छन् । 

भारत सरकारले अब आउने नेपालीलाई क्वारेन्टाइनमा राख्न नसकिने जानकारी गराएको प्रहरी निरीक्षक अधिकारीले बताए । यसअघि नेपाल सरकारले बेलहियामा अलपत्र परेका तीन सय नेपालीलाई स्वदेश भित्र्याएको थियो । त्यसपछि भने सरकारले बेलहिया नाकामा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउनेतर्फ पहल गरेको छैन । 

सोमबार दिउँसो तीन सयभन्दा धेरै नेपाली सीमानाका बेलहिया प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीले रोकेका थिए । त्यसपछि भारतीय सुरक्षाकर्मीले समन्वय गरेर उनीहरूलाई भारततिरै फर्काइएका छन् । 

उनीहरूलाई भारतीय प्रहरीले ज्वरो नापेर क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । भारतको गाजियाबादबाट आएकी धादिङकी ६ महिनाकी सुत्केरी मीना तामाङले आफ्नो देशमा समेत जान नपाउँदा दुःख लागेको गुनासो गरिन् ।