मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २९ सोमबार १५:४६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

पार्टीको सिद्धान्तअनुसार नै बजेटका प्राथमिकता राखेको अर्थमन्त्री खतिवडाको भनाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ बैशाख २९ सोमबार १५:४६:००

अर्थमन्त्री डा. युवराज खतिवडाले बदलिँदो विश्वपरिस्थिति, नयाँ आकांक्षा र आवश्यकताको आधारमा सरकारले बजेटका प्राथमिकता निर्धारण गरेको स्पष्ट पारेका छन् । 

राष्ट्रिय सभाको सोमबारको बैठकमा आगामी आर्थिक ०७७/७८ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूले उठाएका प्रश्नको सम्बोधन गर्दै उनले वर्तमान परिस्थितिको सबै कोणबाट सम्बोधन हुने गरी सरकारले प्राथमिकता निर्धारण गरेको जनाएका हुन् । 

सरकारले बजेटका प्राथमिकता समय, बदलिँदो विश्वपरिस्थिति, नयाँ आकांक्षा र नयाँ आवश्यकताको आधारमा परिमार्जित गर्दै लैजाने उनले बताए । 

पुरानै कार्यक्रम दोहोरिएको र कम्युनिस्टको सिद्धान्तअनुसार प्राथमिकता निर्धारण हुन नसकेको सांसदहरूको आरोपको उनले खण्डन गरे । 

संविधानमा रहेका मौलिक हक र राज्यका निर्देशक सिद्धान्त पनि यथावत् रहेको भन्दै उनले संविधानबाट निर्दिष्ट भएर पार्टीको सिद्धान्तअनुसार बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरिएको स्पष्ट पारे । 

उनले भने, ‘यो नेपाल कम्युनिस्ट पार्टीको सरकार हो र तेस्रो बजेटको सिद्धान्त र प्राथमिकता मैले पेस गर्दै छु । हाम्रो पार्टीको सिद्धान्त परिवर्रतन भएको छैन । हाम्रा प्राथमिकताहरू समयक्रममा नयाँ परिस्थितिको आधारबाट परिवर्तित भएका छन् ।  तर, वर्षैपिच्छे पार्टीले सिद्धान्त फेरेर बजेट ल्याउँदैन । ’ 

उनले स्वास्थ्य र कृषि क्षेत्रमा लगानी बढाएर रोजगारी वृद्धि गर्ने मार्गमा बजेट विनियोजन हुने आश्वासन दिए । 

उनले सरकारका दीर्घकालीन लक्ष्य हासिल गर्नका लागि तय गरिएका कार्यक्रमहरू एक वर्षपछि अर्को वर्ष छोड्न नमिल्ने भन्दै सोही विषयलाई लिएर कार्यक्रम दोहोरियो भन्न नमिल्ने बताए । 

उनले भने, ‘पुरानै शैली भो । कार्यक्रम निरन्तर भए भन्ने कुरा पनि अतिसयाेक्ति हो । हामीले सुरु गरेका राम्रा कार्यक्रमहरू दुई वर्षमा जति गऱ्यौं । सम्पन्न नभएका कुराहरू तेस्रो वर्ष छोड्ने हो र ? त्यो भन्दा हामी कहाँ पुग्छौँ ? समृद्ध नेपाल सुखी नेपालीको हाम्रो राष्ट्रिय आकांक्षा त पूरा भएको छैन नि । अनि त्यही नारा पुरानो भो । शैली पुरानो भो भन्यो भने हामी फेरि कहाँ पुग्छौँ ?’

सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीका लागि आवश्यक सुविधा तथा भौतिक पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबारे थप छलफल गर्ने बताए । 

बजेटका प्राथमिकताका सम्बन्धमा व्यापक छलफलको खाँचोको महसुस भए पनि प्रतिकूल अवस्थाले गर्दा त्यसो गर्न नसकिएको उनले स्वीकार गरे ।