१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल फाेटाे, सुशासन समितिकाे बैठक
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २९ सोमबार १२:५९:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना परीक्षण बढाऊ, लकडाउन खुकुलाे गर : सुशासन समिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ बैशाख २९ सोमबार १२:५९:००

राज्य व्यवस्था तथा सुशासन समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पिसिआर प्रविधिबाट गरिने परीक्षणलाई वृद्धि गर्न र लकडाउनलाई क्रमशः खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ।
 
समितिको सोमबार बसेको बैठकले स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाइनलाई मापदण्डअनुसार बनाउन, आइसोलेसन बेडहरू पर्याप्त मात्रामा निर्माण गर्न, किसानलाई मल तथा बिउबिजन उपलब्ध गराउन र उत्पादित वस्तु बजारसम्म पुर्‍याउन सहज बनाउन निर्देशन दिएको हो। 

समितिले विदेशमा अलपत्र परेका कामदार र भारतसँगको सीमावर्ती क्षेत्रमा बसेका नागरिकलाई संक्रमण नियन्त्रणसम्बन्धी विश्वव्यापी मापदण्डअनुसार व्यवस्थित रूपमा घर फर्कने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ।

बैठकमा उपप्रधानमन्त्री एवं कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले विदेशमा रहेका नेपालीको समस्या समाधानका लागि प्रधानमन्त्रीस्तरबाटै सम्बन्धित देशमा कुरा भइसकेको र कुनै समस्या भए सम्बन्धित देशले नै समाधान गर्ने बताए। 

बैठकमा गृहमन्त्री रामबहादुर थापाले भारतीय सीमापारि करिब २१ सय नेपाली क्वारेन्टाइनमा रहेको जानकारी दिए। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारसँग उपलब्ध भएका परीक्षण किटहरूको आधारमा कन्ट्याक ट्रेसिङको मापदण्ड बनाई परीक्षण गरिएको बताए। उनले केही दिनयता पिसिआर प्रविधिबाट गरिने परीक्षणलाई पनि बढाइएको जानकारी दिए।