मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २९ सोमबार १२:४६:००
Read Time : < 1 मिनेट
अर्थ

बजेटको आकार नबढाउन नेता रिजालको सुझाब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ बैशाख २९ सोमबार १२:४६:००

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले अहिलेको अवस्थामा सरकारलाई बजेटको आकार नबढाउन सुझाब दिएका छन् । 

उनले अहिलेको अवस्थामा आकार बढाएर बजेट ल्याउनुको कुनै अर्थ नहुने बताएका हुन् । 

संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले कोरोना महामारीले गर्ने क्षति र त्यसपछिको अर्थतन्त्रका विषयमा अहिले पूर्वानुमान गर्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै साउनपछि पूरक अनुमान प्रस्तुत गर्न पाइने अवस्थामा अहिले बजेटको आकार नबढाउन सुझाब दिएका हुन् । 

कोरोनाका कारण स्वास्थ्य, कृषि, पर्यटन र उत्पादनका अन्य क्षेत्रमा पर्ने प्रभावबारे अहिले नै अनुमान गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ । 

उनले भने, ‘कोरोनाको जोखिमबाट बाहिर निस्किएका छैनौँ । स्वास्थ्य क्षेत्र, कृषि क्षेत्रका चुनौती के हुन् थाहा छैन । पर्यटनले के–कति क्षति व्यहोर्ने हो थाहा छैन । अहिलेको बजेट सीमित रूपमा ल्यायौँ । छलफल गरेर मात्रै ल्याऊँ । प्रत्येक निर्वाचन क्षेत्रमा के भएको छ । साउनपछि संविधानको धारा १२१ अनुसार पूरक अनुमान प्रस्तुत गर्न पाइन्छ । त्यो प्रस्तुत गर्ने वेला दुनियाँमा के प्रभाव पऱ्यो । हाम्रो देशमा के प्रभाव पऱ्यो त्यो पनि देखिन्छ ।’

नेपाली अर्थतन्त्रको अवस्था कहालीलाग्दो अवस्थामा रहेको उनको ठहर थियो । 

अहिलेको अवस्थामा ऋण पनि उठाउन नसकिने र विप्रेषणको आम्दानी पनि घट्दै गएकाले संवेदनशील भएर बजेट बनाउनुपर्नेमा उनको सुझाब थियो । 

वैदेशिक रोजगारीमा गएका व्यक्ति रोजगारी गुमाएर स्वदेश फर्किने अवस्थामा उनीहरूलाई रोजगारी र कृषिको क्षेत्रमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने वेला भएको उनले बताए ।