मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
काठमाडौंको असन क्षेत्रस्थित भित्री सडकमा शनिबार अपराह्न देखिएको भिडभाड । तस्बिर : संजित परियार/नयाँ पत्रिका
२०७७ बैशाख २९ सोमबार ०५:५२:००
Read Time : > 2 मिनेट
नयाँCity

काठमाडौंको भित्री सहर जहाँ बेवास्तामा परेको छ लकडाउन

Read Time : > 2 मिनेट
२०७७ बैशाख २९ सोमबार ०५:५२:००

सुरक्षाकर्मीको भ्यान कोरोना भाइरसबारे सचेत गराउँदै माइकिङ गर्दै दौडिरहेको हुन्छ । टाढैबाट सुरक्षाकर्मी आएको थाहा पाउने व्यापारी प्लास्टिकका झोलामा सामान बोकेर भित्री गल्लीतिर सुटुक्क छिर्छन् । सामान किन्न आएका मानिस पनि उनीहरूकै पछाडि लाग्छन् । सुरक्षाकर्मी टोलबाट बाहिरिएको केही सेकेन्ड नबित्दै फेरि सबै बाहिर निस्किन्छन् । पलभरमै भिडभाड उस्तै हुन्छ ।

काठमाडौंका भित्री सहर मानिने लगन, यंगाल, जैसीदेवल, चिंकमुगल, काष्ठमण्डप, यट्खा, नरदेवी, न्ह्योखा, न्हैकन्तला, त्यौंड, असन, भेडासिंह, क्षेत्रपाटी, डल्लु, ढल्कोलगायत क्षेत्रमा दिनभर प्रहरी र स्थानीयवासीबीच यस्तै लुकामारी चलिरहन्छ । ‘सावधान गराउने उद्देश्यले माइकिङ गर्छौँ, हामी आउँदा सडकमा कोही हुँदैनन्,’ बाँगेमुढामा माइकिङ गर्दै गरेका एक सुरक्षाकर्मीले भने, ‘कसैलाई बाटोमा भेटेर सोध्दा पसल गएर आएको भन्छन्, जतिवेलै पसल जानुपर्ने ? माइकिङको मतलव नै राख्दैनन् ।’

भित्री सहरका बासिन्दाको दैनिकी देख्दा उनीहरूलाई कोभिड–१९ को महामारी डेंगु रोगजस्तै लागेको आभास मिल्छ । त्यसैले त उनीहरू मर्निङ र इभिनिङवाकमा निस्केकै छन् । दिउँसो पनि स्वतन्त्र भएर हिँडेकै छन् ।

त्यसो त, टोल–टोलका क्लबहरूले पनि अनावश्यक भिड नगर्न सचेत नगराउने होइनन् । टोल–टोलमा क्लबहरूले झुन्ड्याएका ब्यानरमा लेखिएको छ– ‘कोरोना भाइरस चलिरहेको वेला अपरिचित व्यक्तिलाई प्रवेश निधेष छ ।’ कोही अपरिचित व्यक्ति देखे भने क्लबका स्वयंसेवकहरूले फर्काउने पनि गरेका छन् । तर, लकडाउनको उल्लंघनमा टोलकै मानिस अग्रसर देखिन्छन् ।

टाढैबाट सुरक्षाकर्मी आएको थाहा पाउने व्यापारी र उपभोक्ता आ–आफ्ना सामान लिएर गल्लीतिर दगुर्छन् । सुरक्षाकर्मी टोलबाट बाहिरिनासाथ सबै बाहिर निस्किन्छन् । पलभरमै भिडभाड उस्तै हुन्छ ।

पसल जाने बहानामा अर्को टोलका मानिस पनि सुरक्षाकर्मी र स्वयंसेवकको आँखा छल्दै ओहोरदोहोर गरिरहेकै हुन्छन् । ‘जति सम्झाए पनि बजार आउनेहरू मान्दै मान्दैनन्,’ भेडासिंह चोकमा स्वयंसेवक खटिएका राजाराम महर्जन भन्छन्, ‘कोरोनाबारे सम्झाउँदा सम्झाउँदै दिक्क भइसक्यौँ, कुरा बुझ्न खोजे पो !’

काष्ठमण्डपदेखि लगनसम्मको दैनिकी यस्तै छ । सडक किनारमा दर्जनौँ खुद्रा व्यापारी भौतिक दूरी नराखी पसल थापेर बसेका छन् । बटुवाहरूलाई ‘प्याज किलोको ४० रुपैयाँ, गोलभेडा किलोको ४५ रुपैयाँ’ भनिरहेकै हुन्छन् । ‘दैनिक खानैपर्‍यो, पसल नराखी के गरुँ,’ तिनैमध्येकी एक कृष्णमाया तामाङ भन्दै थिइन् । लकडाउनअघि उनी कपडाको व्यापार गर्थिन् । लकडाउनले उनको व्यापार नै फेरिएको छ, अहिले ‘तरकारी साहुनी’ बनेकी छिन् ।

कोरोना भाइरस टोलसम्म नआइपुगोस् भनेर कामना गरिरहेका चिंकमुगलका अशोक राजवंशी भिडभाड देख्दा दिक्क मान्छन् । भन्छन्, ‘स्थानीय क्लबका साथीहरूले भिडभाड नगर्नु भन्दा पनि कसैले मान्दैनन्, साँझ–बिहान त किनमेल गर्नेको भिड हुन्छ ।’ व्यापारी र उपभोक्ताले महामारीको बेवास्ता गर्दै भौतिक दूरी पालना नगरिरहेको उनी बताउँछन् ।

मानिसले एक हात टाढासम्म नबसी किनमेल गरिरहेको र सडकमा हिँडिरहेको देख्दा लगन टोलका रामवीर ताम्राकार पनि चिन्तित छन् । ‘हामीले भौतिक दूरी राखेर पसल खोल्नु र भिडभाड नगर्नु भन्यौँ, तर नियम पालना भएकै छैन,’ उनी भन्छन्, ‘कतिपयले त मास्क पनि लगाएका हुँदैनन् ।’

‘हामीले भौतिक दूरी राखेर पसल खोल्नु र भिडभाड नगर्नु भन्यौँ, तर नियम पालना भएकै छैन । कतिपयले त मास्क पनि लगाएका हुँदैनन् ।’

ढल्को क्षेत्रको दृश्य पनि यसभन्दा फरक कहाँ छ र ! मानिस सडक–पेटीमा बसेर गफिइरहेको देखिन्छन् । ‘दिनभर घरमै बस्छु, साँझ परेपछि चोकमा निस्किने हो,’ ढल्कोका सुरेश महर्जन भन्छन्, ‘वरिपरिका साथी भेला भएर साँझको समय बिताउँछौँ ।’ महर्जन र उनका साथी मौका पाउँदा विजेश्वरी मन्दिर र सोह्रखुट्टेसम्म पुग्ने गर्छन् ।

विश्वभर फैलिएको महामारीप्रति मानिसलाई चिन्ता नभएकामा यट्खा टोलका प्रवीन प्रधान अनाैंठो मान्छन् । भन्छन्, ‘सुरक्षाकर्मीले कोभिड–१९ बाट बच्नुस् भन्दै माइकिङ गरिरहेका हुन्छन्, तर कसैले नियम पालना नै गर्दैनन् ।’ भित्री सहरलाई सुरक्षित बनाउन २४सै घन्टा सुरक्षाकर्मी तैनाथ गर्नुपर्ने उनी सुझाउँछन् । ‘टोलको एउटा व्यक्तिमा संक्रमण भए छिनभरमै पूरै टोलमा फैलिन सक्छ, सबैलाई थाहा भएकै कुरा हो,’ उनी भन्छन्, ‘कसैले नियम पालना नगर्ने हो भने सुरक्षा गतिविधि कडा पार्नुको विकल्प छैन ।’