मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख २९ सोमबार ०४:४५:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता

सीमामा सुरक्षाकर्मीको टहरामुनि बास छ, हुरी र बाढीमा ज्यान जोगाउने कसरी ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ बैशाख २९ सोमबार ०४:४५:००

सीमा सुरक्षामा सरकारले सशस्त्र प्रहरीलाई प्राथमिकता दिएर खटाउन नसकेको हो ? 

रविराज थापा, सशस्त्रका पूर्वएआइजी

फौज भनेको बन्दुकजस्तै हो, पड्काएपछि मात्रै पड्किने हो । निर्देशन दिने निकाय सरकार हो । बन्दुक त छ, तर पड्काउन ट्रिगर तान्नुपर्छ नि ! सशस्त्र प्रहरी छ, मान्छे पनि छन्, त्यसलाई तालिम दिनुपर्‍यो, योग्य बनाउनुपर्‍यो, अधिकार दिनुपर्‍यो । 

पहिले बिओपी थियो, तर त्यसलाई हटाए । दुई वर्षअघिदेखि भएको बिओपीलाई पुनर्संरचना गरेर देशभर लगे । कतिपय त कामै नभएको ठाउँमा लगे । अहिले बिदा बसिराखेका छन् । सबै घर बसेका छन् । भनेपछि भुत्ते भो नि त फौज । 

बोर्डरमा बस्नुपर्ने । अहिले हेर्नुस् त बोर्डरमा कस्तो दयनीय हालत छ ? पाल समातेर बस्नुपर्‍या छ । त्यहाँ त अहिले सरकारले पैसा दिएर पर्मानेन्ट बसाउनुपर्ने हो नि । उता पारिपट्टि एसएसबी आनन्दले खाएर बस्या छ । हेर्दै पनि टन्न पर्‍या बोकाजस्तो । हाम्रो यताचाहिँ भाग्या बाख्रापाठाको जस्तो हालत छ । फुटबल खेल्दाखेरि वल्र्ड प्लेयरसँग लुते लोकल टिम पठाएर हुन्छ भन्या ? सुरक्षाको त वारिपारि तुलना गर्छन् नि । यता सशस्त्रको बर्दी लगाउनले उता एसएसबीलाई हेर्छ, उताकाले यता हेर्छ । उताकाले ‘देखिस्’ भनेर फुर्ती गर्छ, यता यता मानसिक रुपमै हिनतावोध हुन्छ । अनि, लड्नै सक्दैन । 

सरकारले त यतिवेला ‘कति पैसा चाहिन्छ ? यति–यति किलोमिटरमा पर्मानेन्ट बस्ने सक्ने खालको टहरा बनाउन कति पैसा लाग्छ, बनाऊ’ भन्नुपर्ने हो नि ! अहिले त शान्ति छ । पैसा दिनुपर्छ । सुरक्षित सिपाही आनन्दले बस्छ । सुत्न पायो भने पो ड्युटी गर्न सक्छ । तर, यहाँ त आफ्नै सुरक्षाको टुंगो छैन । खाने, पिउने, बस्ने बन्दोबस्त गर्न सकेको छैन । हुरी आउँछ, बर्खा लाग्छ, बाढी तीन–चार फिटमाथिसम्म आउँछ, अनि कसरी बस्छ ? यस्ता विषयमा संगठनले बोल्न नसकेको हो कि ! झगडा गर्न नसकेको हो कि ! ‘यो कुरा चाहिन्छ, होइन भने गर्न सकिँदैन’ भन्न नसकेको हो कि ! हामी अहिले पनि कुरा गर्छौँ । बहालवालाले किन बोल्न नसकेका हुन् । अब सरकार, प्रधानमन्त्री, मन्त्री त अन्धो नै भा’छन् । समस्या छन् धेरै । 

सशस्त्र प्रहरीको जिम्मेवारी पनि धेरै ठाउँ बाँडिएर चुस्त हुन नसकेको हो कि ? 

यो त सशस्त्रले नै खोजेको हो । पहिला सहवीर थापा, हामी हुँदाखेरि भन्सारबाट आर्मीलाई झिकियो । पहिले भन्सार गस्ती आर्मीले गथ्र्यो । मैले त्यसवेला यो जिम्मेवारी लिनुहुन्न भनेको थिएँ । ‘लडाइँ लड्ने मान्छेले पैसा गन्न थालेपछि त्यसले लड्न छाड्छ, लोभलालच हुन्छ’ भनेको थिएँ । अस्ति बीचमा फेरि भनेको थिएँ, ‘भन्सार गस्ती र सीमा सुरक्षालाई सँगसँगै नराख’ भनेर । सँगै राखेपछि भन्सारतिर जान्छ त सीमा सुरक्षामा लाग्छ ? नियत पनि त्यस्तो छ । अनि, हाकिमहरू पनि धनी हुने खालका आम्दानी हेर्न थाले । उहिले हाम्रो पालामा काठमाडौंबाहिर पठायो भने अधमरो हुन्थ्यो, नेपाल प्रहरी त मरेकैसरह हुन्थ्यो, सुदूरपश्चिम, मध्यपश्चिमलगायत माओवादी प्रभावित क्षेत्रमा पठाउँदा । अब अहिले भ्यालीमा कोही पनि नबस्ने, सबै उतै जान खोज्ने ।

हाम्रो पालामा बाहिर जान मरे नमान्ने । एकपटक कुवेर राणाले हेडक्वार्टरमा तीन हजार जनशक्ति किन भयो भनेर सोधे । किनभने सिपाही, हवल्दार तीन हजार थिए । यत्रो मान्छे किन चाहियो यहाँ भन्दा सबै लुकेर बस्ने ! कोही लोग्ने–स्वास्नी डेरा गरी बस्ने, कोही छोरोछोरीलाई यतै पढाउने । त्यस्त–त्यस्ता कुरा नहटाएपछि कसरी सुधार हुन्छ ? भित्रैबाट आउनुपर्‍यो म संगठनलाई बलियो पार्छु भन्ने ।

सशस्त्रलाई भारतको एसएसबीजस्तै सीमामै डेडिकेटेड रूपमा खटाउन सकिँदैन ? 

सीमा सुरक्षामा खटिएकालाई मजाले राम्रो सुविधा दिएर राख्नुपर्छ, उनीहरूको ‘करिअर’ नै त्यहीँबाट माथि जाओस् । स्पेसिलाइजेसन गर्नुपर्‍यो । भोलि टेरोरिस्ट आयो भने टेरोरिस्ट पुलिस छ हामीसँग ? छैन नि । कुरा मात्रै गरेर कहाँ हुन्छ । कमिटमेन्ट आउनुपर्‍यो नि ।