मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २८ आइतबार १७:४६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

आन्तरिक मूल्यांकनका आधारमा एसइईको ग्रेडसिट दिन नमिल्ने

एसइइलगाएतको परीक्षा तयारी नछोड्न आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २८ आइतबार १७:४६:००

माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाको तयारी गरिरहन शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीले आग्रह गरेका छन् । कोरोना भाइरसका कारण स्थगित भएका परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिन माग भए पनि कानुनअनुसार नमिल्ने भएकाले परीक्षाको तयारी गरिरहन आग्रह गरेका हुन् ।

विभिन्न संघसंस्था र सदनमा समेत आवाज उठे पनि अहिलेकै अवस्थामा आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिन नमिल्ने शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीले बताएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले शिक्षा ऐनमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिनुपर्ने व्यवस्था भएकाले कानुनअनुसार नै अघि बढ्ने बताए ।

पौडेलले भने, ‘कानुन संशोधन नभएसम्म परीक्षा लिनुपर्छ, सडक र सदनमा आन्तरिक मूल्यांकनका आधारमा ग्रेटसिट दिन माग गरे पनि हामी कानुन पालना गर्ने निकाय हो ।’ शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले गरेको अनलाइन अन्तरक्रियामा उनले जीवन जोखिममा राखेर परीक्षा नहुने स्पष्ट पारे । 

सामान्य अवस्था भएपछि कम्तीमा दुई हप्ताको समय दिएर परीक्षा आह्वान गर्ने उनले बताए । अहिले विश्वका ७३ बोर्डको परीक्षा स्थगित भएको उनको भनाइ छ । 

शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले मन्त्रालय अहिलेसम्म पर्ख र हेरको अवस्था रहेको बताए । उनले भने, ‘अहिले नै परीक्षाको विकल्पमा जानुपर्ने अवस्था आएको छैन, विद्यार्थीले सकेसम्म डेरा गरी बस्न नपरोस् भन्ने उद्देश्यले परीक्षाको आन्तरिक तयारी र छलफलमा छौँ ।’ आन्तरिक मूल्यांकनका आधारमा सर्टिफिकेट दिने कानुनी व्यवस्था नभएकाले तयारी अवस्थामै रहन उनले आग्रह गरे ।

एसइईका परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षालाई सहज बनाउन आवश्यक उपकेन्द्र कायम गर्न जिल्ला परीक्षा समन्वय समितिमार्फत तयारी भइरहेको बताए । एसइईको परीक्षा सम्पन्न भएको ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न पनिका तयार रहेको बताए । एउटा उपकेन्द्रमा कम्तीमा ५० विद्यार्थी रहने गरी उपकेन्द्र कायम गर्न राष्ट्रिय परीक्षा बोर्डले परिपत्र गरेको छ ।