मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ बैशाख २८ आइतबार १६:१२:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

लकडाउनमा रमजान

Read Time : > 3 मिनेट
२०७७ बैशाख २८ आइतबार १६:१२:००

नोभेल कोरोना भाइरसको कहरले यतिवेला संसारका अधिकांश मुलुक अस्तव्यस्त भएका छन् । कोरोनाका कारण दैनिक हजारौँको मृत्यु भइरहेको छ भने त्योभन्दा कैयौँ ठूलो संख्यामा संक्रमित भइरहेका छन् । कोरोना भाइरस नियन्त्रणका लागि महिनौँदेखि जारी लकडाउनले विपन्न, मजदुरलगायतको दैनिक छाक टार्ने उपाय बन्द भएको छ भने आर्थिक गतिविधि चालयमान नहुँदा देशमा आर्थिक मन्दी बढ्ने निश्चित छ । 

यो अनिश्चित लकडाउन र आर्थिक मन्दीबीच मुस्लिम समुदायको पवित्र इस्लामिक महिना रमजान सुरु भएको छ । इस्लामिक महिना सवाण समाप्त भई रमजान सुरु हुन्छ । इस्लाम धर्मका पाँचवटा अधारस्तम्भ इमान, नमाज, रोजा, जकात, हजमध्ये रोजा तेस्रो हो । इस्लामिक तिथि दुई हिजरी, सवाण महिनाको १० तारिखदेखि मुस्लिम समुदायमाथि रोजा फर्ज (अनिवार्य) गरिएको छ । इस्लामिक क्यालेन्डरअनुसार अहिले १४ सय हिजरी चलिरहेको छ । रमजान १२औँ महिना हो ।

रमजानमा प्रत्येक बालिग मुस्लिम महिला तथा पुरुष दुवैले अनिवार्य रूपमा रोजा बस्नुपर्छ । रोजा धनी, गरिब सबैलाई अनिवार्य छ, यसमा कुनै भेदभाव हुँदैन । दिनभरि मजदुरी गर्ने होस् वा काममा व्यस्त रहने नै किन नहोस्, सबैका लागि रोजा अनिवार्य छ । रोजा (व्रत) बस्नेले दिनभर केही नखाई भोकै बस्छन् र साँझतिर सूर्यास्तपछि मात्र विभिन्न प्रकारका फलफूलले रोजा खोल्ने गर्छन् ।

रोजा बस्दा शारीरिक सम्भोग, झुटो बोल्ने कार्यलगायतबाट टाढै रही सफासुग्घर भई कम्तीमा दैनिक पाँचचोटि नमाज र विशेष प्रार्थनास्वरूप राति तरावी पढ्ने गरिन्छ । सूर्योदयअघि ‘सेहरी’ खाएर दिनभर उपवास अर्थात् रोजा बसेर सूर्यास्तपछि मात्र इफ्तारी अर्थात् खानपिन गरिन्छ ।

रमजानमा घरघरलाई मस्जिद बनाऊ 
रमजानमा धर्मकर्म वा दान गर्दा सामान्यभन्दा ७० गुणा बढी पुण्य प्राप्त हुने विश्वास गरिन्छ । कसैलाई एक रुपैयाँ दान गर्दा ७० रुपैयाँबराबरको सबाब, एक नफिल नमाज पढ्दा एक फर्ज र एक फर्ज नमाज पढ्दा ७० फर्ज नमाज पढेबराबरको पुण्य प्राप्त हुने विश्वास छ । त्यसैले यस महिनामा धर्मकर्म गर्ने मुस्लिमको संख्या उच्च हुन्छ । तर, यस वर्ष लकडाउनका कारण बाहिर निस्किन सम्भव नभएकाले मस्जिद वा मदरसाको साटो घरमै धार्मिक क्रियाकलाप गर्न सकिन्छ । मस्दिजजस्तै घरमा नमाज, तवारी, कुरहान सरिफ पढ्न सकिन्छ । हजरत मोहम्मद सल्लाहु अलैहे वसलम्को जमानामा पनि वर्षा वा हावाहुरी, कुनै प्रकारको डर, भय तथा कुनै ठूलो आपत्विपत् आएका वेला घरमै नमाज पढ्न आदेश दिइन्थ्यो । 

नमाज रमजानमा हरेक दिन नै पढिन्छ । प्रत्येक दिन बिहान ४ बजे फजिल, दिउँसो १ बजे जोहर, साँझ ५ बजे असिर, त्यसको केही समयपछि मगरिव र यसको करिब डेढ घन्टापछि इसाको नमाज पढिन्छ । महिलाले महिनावारी वा अन्य अवस्थामा रोजा छोड्न सक्ने प्रावधान रहे पनि पछि ऋणको रूपमा रोजा राख्नुपर्ने किंवदन्ती पाइन्छ । तर, पुरुषलाई भने यस्तो सुविधा छैन । ९२ किलोमिटर दूरीबराबरको यात्रा गर्दा मात्रै महिलासरह पुरुषले त्यस्तो सुविधा पाउँछ । 

पवित्र कुरान सरिफको दोस्रो परामा भनिएको छ– ऐ इमानबला तिमीमाथि रोजा अनिवार्य गरिएको छ, जस्तो कि तिम्रा अग्रजमाथि अनिवार्य गरिएको थियो, जसलाई तिमीले पनि अपनाउनुपर्ने हुन्छ । संसारका चारवटा आकाशीय पुस्तक तोरेत, जबुर, इजिल्ल (बाइबल) र कुरान सरिफ रमजानमै अवतरित भएका मानिन्छ ।

रमजानकै २७ तारिखमा इस्लाम धर्मका सबभन्दा ठूलो धर्मग्रन्थ पवित्र कुरान सरिफ नाजिल (अवतरित भई पूर्णता पाएको) मानिन्छ । संसारको आवश्यकताअनुसार अल्लाहले एक–एक पराका रूपमा ज्ञान पठाइरहँदा २३ वर्षपछि मात्र पवित्र कुरानले पूर्णता पाएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । रमजानभरि जन्नत (स्वर्ग)का सातवटै ढोका खुला रहन्छन् भने जहन्नम (नर्क)का सबै ढोका बन्द रहन्छन् भन्ने विश्वास छ ।

आत्मशुद्धि, त्याग र धैर्यको प्रतीक मानिएको रोजा नछुटाई लगातार ३० दिनसम्म राखिन्छ । ३० दिनमा तीन पाटा छन् । सुरुका १० रातलाई ‘रकमत’, जसमा अल्लाहले विशेष कृपा गर्छन् भने बीचका १० रातलाई मग्फिरत अर्थात् माफीका रात भनिन्छ । यी रातमा गरेका ठुल्ठूला पापलाई अल्लाहले माफ गरिदिन्छन् भन्ने विश्वास मुस्लिम समुदायको छ । अन्तिम १० रातमा धेरै मानव जातिलाई अल्लाहले जहन्नमबाट मुक्ति दिई जन्नत प्रवेश गराउँछन् भन्ने इस्लामका विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ ।

जकात र फित्राको रकम गरिबलाई दान गरौँ 
रमजानमा साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी तथा त्यति नै बराबरको सम्पत्ति भएको खण्डमा अनिवार्य रूपमा जकात अर्थात् दान गर्नका लागि सम्पत्तिको साढे दुई प्रतिशतका दरले रकम निकाल्नुपर्ने प्रावधान छ । जकात भनेको एक प्रकारको कर हो । इस्लाममा जकातलाई घरकर, मालपोत करजस्तै मानिन्छ । त्यस्तो धेरैजसो रकम खासगरी मदरसामा पढ्ने विद्यार्थीका लागि खर्च भएको पाइन्छ । थोरै रकम मात्र गरिब विपन्नको सहयोगमा खर्च हुन्छ । इदको नमाज पढ्नुपूर्व रोजामा भएको त्रुटि वा रोजा शुद्धीकरणका लागि प्रत्येक व्यक्तिले दुई किलो ४५ ग्रामका दरले गहुँ परिवारका सबै सदस्यले फित्राका रूपमा वा त्यति नै बराबरको रकम अनिवार्य रूपमा मदरसा तथा गरिबमा दान गर्नुपर्छ ।

रोजा बस्नेले मात्र नभई घरका बच्चादेखि वृद्धसम्मका नाउँमा फित्राको रकम मदरसा वा गरिबमा खर्च गरिन्छ । लडकाउनका कारण मदरसा र मस्जिद बन्द रहेकाले यस वर्ष आफूले निकाल्ने फित्रा र जकातको रकम छिमेकी गरिब तथा विपन्न मजदुरमा अतिममा दान गरौँ । 

नयाँ–नयाँ लुगा कपडा खरिद गर्नुभन्दा मानवता संकटमा परेका वेला गरिबी र आर्थिक अभावले पोषणयुक्त खाना पाउन नसकिरहेका गर्भवती महिला, शिशुलाई दूध, प्रोट्रिनयुक्त खानाको व्यवस्थापन गरिदिनु एक किसिमले जकात वितरण गर्नु हो । गरिब तथा असहायलाई अनिवार्य रूपमा सहयोग गर्ने इस्लामको यो परोपकारी नियमबाट मानव जातिको उत्थान र कल्याण हुन्छ । 
 
मुस्लिम आयोग जिम्मेवार बन्नुपर्छ 
रमजानमा गरिबभन्दा गरिब मुस्लिमले पनि नयाँ लुगा खरिद गर्छन् । रमजानमा दिनभरि भोकै बस्नुपर्ने भएपछि रातिको खानपान अलि फरक हुनु स्वाभाविक हो । तर, लामो लकडाउनका कारण दैनिक ज्यालादारी गरेर परिवारको गुजारा चलाउने मुसलमानलाई रमजानमा थप आर्थिक संकट परेको छ ।

महिनादिनसम्म अनिवार्य रूपमा यो पर्व मनाउनुपर्ने भएकाले रमजानको अवधिमा गरिब मजदुर मुस्लिमको पीडा अन्य समुदायको भन्दा फरक छ । त्यसकारण मुस्लिम आयोगले यसतर्फ पहल गर्नुपर्छ । संसारभरका मुस्लिम समुदाय हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । नेपालबाट पनि बर्सेनि हजारको हराहारीमा हज गर्न साउदी जाने गर्छन् । नेपाल सरकारको हज कमिटीले त्यसको व्यवस्थापन गर्दै आएको छ । त्यसका लागि सरकारले प्रत्येक वर्ष हज कमिटीलाई अनुदान दिने गर्छ । कोरोना कहरले यस वर्ष हज नहुने निश्चित नै छ । यस्तो अवस्थामा राज्यले हज कमिटीलाई दिने अनुदान विपन्न मुस्लिमलाई वितरण गरिदिए यसबाट राम्रो सन्देश जान्छ ।