मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख २८ आइतबार ११:२३:००
Read Time : < 1 मिनेट
सप्तरंग

लकडाउनमा मदनकृष्णका गीत र नृत्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ बैशाख २८ आइतबार ११:२३:००

कलाकार मदनकृष्ण श्रेष्ठले हालै आफ्नो टिकटक अकाउन्टमार्फत एक भिडियो सार्वजनिक गरे । ‘के छ खबर पुरानो जोडाको’ बोलको गीतमा उनी नाचिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । ऊर्जावान र फुर्तिला देखिएका उनको नृत्यले सबैलाई मोहित बनाएको छ । साढे ५२ हजारले उक्त भिडियो हेरेका छन् भने पाँच हजारभन्दा बढी लाइक, दुई सयभन्दा बढी कमेन्ट र एक सय ४४ पटक सेयर भएको छ । 

‘त्यो गीतमा गौरी मल्लले राम्रो नाचेको देखेर मलाई पनि नाचौँ–नाचौँ लाग्यो,’ उनी भन्छन् । छोरी सरानाले उनी फुर्तिसाथ नाच्दै गरेको भिडियो बनाएकी हुन् । आफ्नो फेसबुक पेजमा श्रेष्ठले भिडियो पोस्ट गर्दै उनले लेखेका छन्, ‘पार्किन्सन रोग भए पनि फुर्तिलो छु ।’ उनले आफ्नो भिडियो यसरी भाइरल होला भनेर सोचेका थिएनन् । ‘साथीभाइ र शुभचिन्तकबाट पाएको प्रतिक्रियाबाट खुसी र ऊर्जा थपेको छ,’ उनी भन्छन् ।

भक्तपुरस्थित मानव सेवा आश्रमका सद्भावना दूत पनि रहेका उनी यतिवेला सहकर्मी हरिवंश आचार्यसँगै लकडाउनको समयमा समस्यामा परेकाहरूका लागि राहत वितरणमा जुटेका छन् । लकडाउनका वेला व्यस्त दैनिकीबाट छुट्कारा पाएर परिवारसँग बिताउन पाएकामा उनी खुसी छन् । हालै उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी समेटेर सन्देशमूलक गीत ल्याएका छन् । ‘लकडाउन लकडाउन संसार नै छ नि सटडाउन’ बोलको गीतमा उनको लेखन, छोरा यमनको स्वर र संगीत तथा छोरी सरानाको भिडियो निर्देशन र सम्पादन छ । गीतको रेकर्डिङ र म्युजिक भिडियोको निर्माण पनि घरभित्रै गरिएको उनी बताउँछन् ।