मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
देवेन्द्र कार्की
२०७५ माघ १२ शनिबार ०७:२६:००
Read Time : > 3 मिनेट
अन्तर्वार्ता

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान : स्वास्थ्य सेवामा पूर्वको उज्यालो

Read Time : > 3 मिनेट
देवेन्द्र कार्की
२०७५ माघ १२ शनिबार ०७:२६:००

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान सधैँ चर्चामा आइरहन्छ । कहिले विद्यार्थीको आन्दोलन त कहिले शिक्षकको आन्दोलन । पछिल्लो समय अनियमितताको विषयले पनि प्रतिष्ठान चर्चामा रह्यो । गुणस्तरीय उपचार सेवाका लागि कहलिएको प्रतिष्ठान विवादैविवादमा फस्दै आएको छ । अब प्रतिष्ठानलाई नयाँ स्वरूप दिन के–कस्ता योजना छन् ? प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरीशंकर साहसित गरिएको कुराकानी प्रस्तुत छ ।

प्रा.डा. गौरीशंकर साह
निर्देशक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिग्रियो भनिन्छ । खासमा अहिले कसरी चलिरहेको छ ?
मलाई प्रतिष्ठान बिग्रियो भन्ने लाग्दैन, भन्नेहरूले त जे पनि भन्छन् । प्रतिष्ठानको उन्नति, प्रगति नचाहने तत्वहरुले कुप्रचार गरेर धरासायी बनाउन खोजेका हुन् । हल्ला गरिएजस्तो बिग्रिएको छैन प्रतिष्ठान । दैनिक कामकाज भइरहेका छन् । सेवा विस्तार, विशेषज्ञ सुविधा प्रदान गरिरहेका छौँ । प्रतिष्ठानको स्थापना नै रेफरल सेन्टरका रूपमा भएको हो । यहाँबाट चिकित्सा विज्ञानको अध्ययन÷अध्यापन तथा उच्चस्तरको सेवा प्रदान भइरहेको छ । अझ अहिले अतिविशिष्ट सेवामा क्यार्डियोलोजी, क्यार्डियोथोरासिक सेवा, ग्यास्ट्रोइटेरोलोजी, युरो सर्जरी, पेर्डियट्रिक सर्जरी, फिब्रो स्क्यान डायलाइसिस सेवा दिइरहेका छौँ । विशेषज्ञ चिकित्सक तथा उच्च प्रविधिमार्फत यी सेवा उपलब्ध भइरहेका छन् । हाम्रो लक्ष्य भनेकै यहाँबाट कुनै पनि बिरामी उपचारका लागि अन्यत्र जान नपरोस् भन्ने हो । त्यहीअनुसार काम गरिरहेका छौँ ।

नयाँ व्यवस्थापनपछि प्रतिष्ठान ओरालो लागेको आरोप छ नि ! यसलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
प्रतिष्ठानको कामकारबाही नियमसंगत तथा प्रक्रियागत रूपमा हुने भएकाले नयाँ उपकुलपति आएपछि पनि अस्पताल सेवामा विस्तार, धरान अस्पतालको जग्गालाई प्रतिष्ठानको नाममा ल्याउने, विद्युत् महसुल न्यून गरी समग्र प्रतिष्ठान तथा शिक्षक–कर्मचारीको विद्युत् खपत खर्चमा कमी ल्याउनेजस्ता महत्वपूर्ण कार्य भएका छन् ।  धरान–१ स्थित छाताचोकको जग्गा प्रतिष्ठानको नाममा आएको छ । त्यहाँ दुई सय शय्याको अस्पताल सेवा विस्तार गर्ने काम प्रक्रियामा छ । प्रतिष्ठानले प्रतियुनिट २२ दशमलव ५ रुपैयाँ विद्युत् महसुल तिर्दै आएकोमा अहिले ११ दशमलव ५ रुपैयाँ कायम गरिएको छ । आफ्नै फार्मेसी सुरु गरेका छौँ । हाडजोर्नीसम्बन्धी २० शय्या क्षमताको आकस्मिक कक्ष अलग्गै सञ्चालनमा ल्याएका छौँ । त्यस्तै, आइसियू, आकस्मिक र ओपिडी सेवा विस्तारका कार्य चरणगत रूपमा भइरहेका छन् । 
अस्पताल निर्देशक भएपछि अब तपाईंका योजना के–के हुन् ? 
म अस्पताल निर्देशक भएपछि विशेषज्ञ सेवालाई प्रभावकारी रूपमा जनसमक्ष उपलब्ध गराउने कार्य गरिएको छ । अहिले युरोलोजी, कार्डियोलोजी, कार्डियोथोरासिक सेवा सर्वसुलभ भएका छन् । यहाँबाट विशेषज्ञ सेवा प्रदान हुँदै आएको छ । मेडिसिन कार्डियोलोजी, मेडिसिन पल्मोलोजी र मेडिसिन ग्यास्ट्रोेलोजी विभाग छुट्टै बनाएर अतिविशिष्ट सेवा दिँदै आएका छौँ । सामाजिक स्वास्थ्य बिमा कार्यलाई प्रभावकारी रूपमा अवलम्बन गरेकाले गरिब तथा असहाय बिरामीलाई धेरै सहयोग पुगेको छ ।

स्वास्थ्यसम्बन्धी निरन्तर सचेत गराउनका लागि हेल्थ चेकअप प्याकेज कार्यक्रम पनि सञ्चालनमा ल्याएका छौँ । डायलाइसिस सेवाका लागि १० थान मेसिन जडान भइसकेका छन् । अन्य सानातिना काम निरन्तर गरिरहेका छौँ । यहाँ कलेजो उपचारका लागि अत्याधुनिक स्क्यान मेसिन ल्याइएको छ । अब कलेजोको समस्या भएका बिमारीलाई रेफर गर्नुपर्दैन । क्यान्सरको किमोथेरापी, रेडियोथेरापीजस्ता सेवा सुरु गरेका छौँ । यस्ता रोगीले महँगो खर्च गरेर अब विदेश जानुपर्नेछैन । यो पूर्वको उज्यालो हो ।

म अस्पताल निर्देशक भएपछि विशेषज्ञ सेवालाई प्रभावकारी रूपमा जनसमक्ष उपलब्ध गराउने कार्य गरिएको छ । अहिले युरोलोजी, कार्डियोलोजी, कार्डियोथोरासिक सेवा सर्वसुलभ भएका छन् । विशेषज्ञ सेवा प्रदान हुँदै आएको छ । मेडिसिन कार्डियोलोजी, मेडिसिन पल्मोलोजी र मेडिसिन ग्यास्ट्रोेलोजी विभाग छुट्टै  बनाएर अतिविशिष्ट सेवा दिँदै आएका छौँ । 

शिक्षाध्यक्ष र मेडिसिन विभाग प्रमुखसँग कुनै छलफल नगरी विभाग छुट्याएको गुनासो आएको छ नि ? 
गलत प्रचार हो । विभाग छुट्टै बनाएर अतिविशिष्ट सेवा प्रदान गर्ने गत वैशाखमै कार्यकारिणी समितिले निर्णय गरेको थियो । विभागमा पत्र लेखेर उहाँहरूको रायअनुसार नै विभाग छुट्याइएको हो । नेपाल मेडिकल काउन्सिलकै नीतिअनुसार कुनै पनि मेडिकल वा सर्जिकल विषयअन्तर्गत मानिने अतिविशिष्ट सेवाहरू (सुपर स्पेसलिस्ट सर्भिस) प्रारम्भिक चरणमा मेडिकल वा सर्जिकल विभागअन्तर्गतकै युनिटका रूपमा सञ्चालन गर्नुपर्ने र पाँच वर्ष सेवा प्रदान गरेपछि छुट्टै विभागका रूपमा विस्तार गर्नुपर्ने प्रावधान छ ।

जनशक्ति तथा स्रोत–साधनका दृष्टिकोणबाट पनि परिपक्व भइसकेको हुनाले छुट्टाछुट्टै विभागका रूपमा विस्तार गर्ने बाटो खोलेको मात्र हो । मेडिसिन विभागबाट मात्र अतिविशिष्ट सेवाहरू पूर्ण रूपमा विकास गर्न असम्भव नै हुन्छ । त्रिवि शिक्षण अस्पतालको क्यार्डियोलोजी विभाग मेडिसिन विभागअन्तर्गत हुँदासम्म पहिचान थिएन, अस्तित्व थिएन । तर, मनमोहन क्यार्डियोथोरासिक सेन्टरका रूपमा स्थापना गरेपछि यसले देशव्यापी पहिचान पाएको छ । भारतको दिल्लीस्थित एम्स, लखनउको पिजिआई हस्पिटल पनि यसरी नै विकास भएको हो । 

 ितपाईंले यसो भनिरहँदा अहिले आकस्मिक, प्रसूतिकक्ष, आइसियू र डायलाइसिसमा बिमारीका निकै गुनासा आइरहेका छन् । यसका लागि तत्काल के व्यवस्थापन गर्दै हुनुहुन्छ ?
निश्चय नै यी कक्षहरूमा केही समस्या छन् । यो प्रतिष्ठान स्थापना हुँदा जुन क्षमताका लागि भनेर सुरु गरिएको हो, त्यो अहिले चौगुना बढेको छ । जनशक्ति, स्रोत–साधन पुरानै छन्, तर बिमारीको चाप अत्यधिक बढेको छ । यस अवस्थामा बिमारीका गुनासा बढ्नु स्वाभाविक हो । यी विभागमा सुधारका लागि प्रक्रिया थालिसकेका छौँ । प्रसूति विभागको समस्या समाधानका लागि चार सय बेडको मातृशिशु स्याहार केन्द्र निर्माणाधीन अवस्थामा छ । यसलाई पूरा गरेर चाँडै समस्या समाधान गर्ने तयारीमा छौँ । 

स्वास्थ्य मन्त्रालयले यहाँ नियमित आउने बजेट कटौती गरेको भन्ने कुरा बाहिर आएको छ । रोकेको हो ? 
सरकारले प्रतिष्ठानलाई गर्ने सहयोग निरन्तर भइरहेको छ । उपलब्ध गराउने बजेटमा कहिल्यै समस्या आएको छैन । यसका लागि म नेपाल सरकार स्वास्थ्य मन्त्रालयप्रति आभार प्रकट गर्न चाहन्छु । जहाँसम्म बजेट कटौतीको कुरा छ, बहुवर्षीय योजनामा वार्षिक रूपमा प्रगतिअनुसार प्राप्त हुने बजेट प्रगति हुन नसकेको अवस्थामा कटौती हुने हो । कार्य सुचारु हुनासाथ नियमित बजेट प्राप्त हुनेमा हामी विश्वस्त छौँ ।

पदाधिकारीबीचको गुटबन्दी छ भनिन्छ । उपकुलपति र निर्देशक एउटा गुट, रजिस्ट्रार र रेक्टर अर्कै गुट भएजस्तो देखिन्छ नि ?
यसबारे मलाई केही थाहा छैन । सबैसँग सहकार्य गरेर म अस्पताल सुधारको काम गरिरहेको छु । म कसैको गुटमा पनि छैन । तर, यो पक्का हो कि टिममा भावनात्मक रूपमा एकरूपता नहुँदा केही कठिनाइ हुन्छन् नै । बिपी प्रतिष्ठान नियमावली २०५५ अनुसार प्रतिष्ठानमा कुनै पदाधिकारीले उपकुपतिको सामान्य निर्देशनमा रही आफ्नो नियमित काम–कर्तव्य पूरा गर्नुपर्छ । त्यही नियमावलीअनुसार आफू उपकुलपतिको निर्देशनमा काम गरिरहेको छुु । नियममा रहेर काम गर्दा गुटमा लागेको भन्नु कत्तिको उचित होला ? म अस्पताल सुधार र विस्तारका लागि रेक्टर, रजिस्ट्रार, उपकुलपति सबैसँग छलफल गरेर काम गरिरहेको छु । अन्य पदाधिकारीले कसरी काम गर्नुभएको छ, त्यो उहाँहरूलाई नै सोध्नुपर्छ ।