मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दिलबहादुर चौधरी टीकापुर
२०७७ बैशाख २७ शनिबार २१:२३:००
Read Time : > 1 मिनेट
समाचार

कर्णालीको कटानले टीकापुर– ८ डुबानको उच्च जोखिममा

Read Time : > 1 मिनेट
दिलबहादुर चौधरी टीकापुर
२०७७ बैशाख २७ शनिबार २१:२३:००

टीकापुर नगरपालिका– ८ वनगाउँकी शर्मिला चौधरीलाई बाढीले उठिबास हुने चिन्ताले पिरोल्न थालेको छ । केही दिनदेखि कर्णाली नदीले वनगाउँ र फाँटा गाउँ नै जोखिममा पर्ने गरी निरन्तर कटान गरिरहेको छ । 

वर्षा नलाग्दै कटान सुरु भएकाले वडावासी चिन्तामा छन् । जुनसुकै वेला डुबान हुन सक्ने चौधरीले बताइन् । उनले भनिन्, ‘सम्झिँदा  रातमा निद्रा हराउन थालेको छ ।’

नदीले तीव्र रूपमा कटान गरिरहेकाले टीकापुर– ८ को वनगाउँ, फाँटा, बटनपुर, अर्नुवा, कर्मीडाँडालगायतका गाउँ जोखिमसँगै डुबानमा पर्ने देखिएको स्थानीय बडघर पुरनबहादुर चौधरीले बताए । ‘नदीको भंगालो गाउँतिर सोझिएर अहिले नै कटान भइरहेको छ,’ उनले भने, ‘पुरानो बाँध केही कटान भए सहजै पानी गाउँबस्तीमा पस्छ र डुबान हुन्छ ।’

आर्थिक वर्ष ०७२-७३ मा टीकापुर– ८ मा कर्णाली नदीको कटान रोक्न तटबन्ध निर्माण गर्न सिद्धि शाही कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । तर, अहिलेसम्म पनि विभिन्न मितिमा म्याद थप गर्दै कछुवा गतिमा काम भइरहेको छ । समयमै काम नगर्दा कर्णाली नदीले अहिले काम नभएको क्षेत्रबाट कटान सुरु गरेको स्थानीय दीपक साउदले बताए ।

कटान रोक्न स्थानीयको अग्रसरता 
कर्णाली नदी अहिले करिब ५० मिटर कटान गरेर गाउँनजिक भएर बगिरहेको छ । त्यसैले थप कटान हुन नदिन स्थानीय आफैँ जुर्मुराएका छन् । नदी कटान रोक्न शनिबारदेखि दैनिक सयजना खटिने गरी तालिका नै बनाएर काम सुरु गरिएको स्थानीय जित रामले बताए । गाउँ नै जोखिममा परेकाले तत्काल रोकथाम गर्न बाँस, केराका खाबा, नर्कट प्रयोग गरेर अस्थायी जैविक बाँध बनाइरहेको उनले बताए ।

उक्त क्षेत्रमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले काम गर्ने भएकाले अहिले आयोजनासँग समन्वय भइरहेको टीकापुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए । उनले स्थानीय तहसँगै सिँचाइ आयोजनाको प्राविधिक टोलीले रोकथामका लागि योजना बनाउन निरीक्षण गरिसकेको बताए । तत्काल कटान रोक्न प्लाष्टिक जाली, माटो भर्न प्लाष्टिक बोरालगायत उपलब्ध गराई स्थानीयबाट काम जारी राख्ने गरी कार्य अगाडि बढाइने उनको भनाइ छ ।