मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ बैशाख २७ शनिबार १६:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

आमाको किरिया गर्न गएका छोरालाई वडा कार्यालयले गाउँ प्रवेशको अनुमति दिएन

Read Time : < 1 मिनेट
२०७७ बैशाख २७ शनिबार १६:१६:००

पाँचथरको फालेलुङ गाउँपालिका– २ की ६५ वर्षीया रामबुङ राईको शुक्रबार बिहान मृत्यु भयो। उनका तीन भाइ छोरामध्ये दुई भाइ वैदेशिक रोजगारीका क्रममा देशबाहिर छन्। 

नेपालमा रहेका कान्छा छोरा भगिराज राई पनि इलामको माई नगरपालिकामा बस्दै आएका थिए। अचानक आमाको निधन भएको खबरपछि कान्छा छोरा रातारात गाउँ पुगे। तर, वडा कार्यालयले गाउँ प्रवेशको अनुमति नदिएपछि उनी बीचबाटोबाटै इलाम फर्किन बाध्य भएका छन्।

उनीहरूलाई फालेलुङ गाउँपालिकाको २ नम्बर वडा कार्यालयले राँकेबाटै फर्काएको हो। शुक्रबार राति राँके पुगेका मृतक रामबुङका छोरा, बुहारीसहित नौजनालाई गाउँ प्रवेशको अनुमति नदिइएको हो। सबैको स्वास्थ्य परीक्षण गरेर आफूहरूलाई राँकेबाट फर्काइएको भगिराजले बताए।

गृह मन्त्रालयले जारी गरेको अनुमति (पास) लिएर आमाको किरिया गर्न गाउँ गएका छोरा भगिराजसहितका आफन्तलाई फालेलुङ गाउँपालिका– २ का वडाध्यक्ष तिलबहादुर खत्रीसहितले गाउँ प्रवेशको अनुमति नदिएको पीडित परिवारको गुनासो छ।
 
मृतकका छोरा भगिराजलाई गाउँ प्रवेश गर्न नदिएपछि उनका काका जितबहादुर राइले काजकिरिया सुरु गरेका छन्। ‘आमाको मृत्यु हुँदा पनि वडा कार्यालयले गाउँ जान दिएन,’ भगिराजले भने, ‘अब कसरी आमाको किरिया गर्नु अन्योल भएको छ।’

वडाध्यक्ष तिलबहादुर खत्रीले भने गाउँ गएपछि क्वारेन्टाइन बस्नुपर्ने जानकारी गराउँदा उनीहरू आफैँ राँकेबाट फर्किएका दाबी गरे। ‘उहाँहरूलाई राँकेमा चेकजाँच गर्दा केरकार भएछ,’ उनले भने, ‘गाउँ गएर पनि क्वारेन्टाइन बस्नुपर्छ भन्ने जानकारी गराएपछि उनीहरू आफैँ फर्किएका हुन्।’