मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ बैशाख २७ शनिबार १४:४२:००
Read Time : < 1 मिनेट
समाचार

३३ अर्बको बजेट ल्याउने कर्णाली प्रदेश सरकारको तयारी

Read Time : < 1 मिनेट
२०७७ बैशाख २७ शनिबार १४:४२:००

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३३ अर्बको बजेट ल्याउने तयारी गरेको छ। 

चालू आर्थिक वर्षको सञ्चित कोषमा जम्मा हुन सक्ने रकमसमेतलाई अनुमान गरी आर्थिक वर्ष ०७७/७८ का लागि झन्डै ३३ अर्बको बजेट ल्याउने तयारी गरिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए।

शनिबार कर्णाली फाउन्डेसनको आयोजनामा सुर्खेतमा भएको कार्यक्रममा मन्त्री ज्वालाले स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट निर्माण गरिने जानकारी दिए।

‘कोरोना महामारीको जोखिम न्यूनीकरण गर्न स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकता दिएर बजेट बनाइनेछ,’ उनले भने, ‘सरकारको प्राथमितामा स्वास्थ्य र शिक्षा नै रहन्छ। यी प्राथमिकतामा पनि रोजगारी सिर्जना गर्ने गरी बजेट बनाउने तयारी गरेका छौँ।’ 

उनले आगामी बजेटले कृषि उत्पादन र रोजगारी बढाउने दाबी गरे। कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मीले कर्णालीको गरिबी न्यूनीकरण र प्रतिव्यक्ति  आय बढाउने गरी बजेट निर्माण गरिने बताए ‘कर्णालीको विकासका लागि स्थानीय स्रोत पहिचान र परिचालनमा जोड दिने योजना बनाएका छाै‌ँ,’ उनले भने। 

अर्थविद् डा. अच्युत वाग्लेले कर्णाली प्रदेश देशका अन्य प्रदेशको तुलनामा हरेक दृष्टिले पछाडि पारिएको बताए । उनले प्रदेशलाई अघि बढाउन राजनीतिक इच्छाशक्ति जरुरी हुनेमा जोड दिए। कार्यक्रममा उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, कर्णाली फाउन्डेसनका अध्यक्ष नारायण भट्टराईलगायतले बोलेका थिए।