मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख २६ शुक्रबार २०:१७:००
Read Time : > 4 मिनेट
समाचार

साधारण विद्यालयमा पनि संस्कृत पढाइने, कक्षा १ को पाठ्यपुस्तक तयार

Read Time : > 4 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख २६ शुक्रबार २०:१७:००

नेपालमा पहिलोपटक कक्षा १ देखि नै संस्कृत विषय पढाइने भएको छ । साधारण धारका विद्यालयमा पनि आधारभूत तहको पहिलो कक्षादेखि नै भातृभाषा वा स्थानीय विषयअन्तर्गत संस्कृत विषय अध्यापन गराउन पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तकको विकाससमेत गरिसकेको छ । 

स्थानीय विषयअन्तर्गत संस्कृत भाषा पढाउन इच्छुक विद्यालयहरूले शैक्षिक वर्ष २०७७ मै कक्षा १ मा ‘अस्माकम् संस्कृतम्’ नाम दिइएको पाठ्यपुस्तक लागू गर्न सक्ने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।  यस वर्षदेखि विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू हुँदै छ । यस वर्ष देशभरका विद्यालयमा कक्षा १ र ११ मा र आगामी वर्ष कक्षा २, ३, ६ र १२ मा नायाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ । त्यसपछि क्रमिक रूपमा अन्य कक्षामा पनि नयाँ पाठ्यक्रम लागू गरिनेछ । 

पहिलोपटक कक्षा १ देखि नै संस्कृत भाषा
नेपालमा यसअघि पनि संस्कृत विषय पठनपाठन नभएको भने होइन । साधारण धारका विद्यालयमा संस्कृतको पठन–पाठन नभए पनि संस्कृत धारका विद्यालयमा निम्नमाध्यमिक तह (हालको आधारभूत तह ६–८) र माध्यमिक तहमा संस्कृतका विषयहरू पठनपाठन हुँदै आएका छन् । संस्कृत धारअन्तर्गत पनि साधारण संस्कृत (संस्कृत मावि) र वेदविद्याश्रम वा गुरुकुलमा फरक विषयहरू पढाइ हुँदै आएका छन् । यसअघि संस्कृत मावितर्फ कक्षा ६ देखि मात्र संस्कृत विषयको पठनपाठन हुँदै आएको छ भने वेदविद्याश्रम वा गुरुकुलतर्फ कक्षा ४ देखि नै संस्कृत पढाउने गरिएको छ । तर, अब भने भातृभाषा वा स्थानीय विषयका रूपमा संस्कृत भाषा पढाउन चाहने साधारण धारका विद्यालयले समेत कक्षा १ देखि नै संस्कृत विषय पढाउन सक्ने भएका हुन् । २०४९ को पाठ्यक्रममा साधारण धारतर्फसमेत निम्न माध्यमिक तहमा संस्कृतलाई अनिवार्य विषयका रूपमा राखिएको थियो । तर, माओवादी द्वन्द्वका कारण संस्कृत विषयको पठनपाठन अवरुद्ध बनेको थियो । पछि पाठ्यक्रम परिमार्जनका क्रममा साधारण धारबाट संस्कृत विषय हटाइएको थियो ।

सबै धारका विद्यालयले संस्कृत पढाउन सक्ने सुविधा
नयाँ पाठ्यक्रममा सबै धारका विद्यालयले आधारभूत तहअन्तर्गत कक्षा १ देखि नै संस्कृत विषय अध्यापन गराउन सक्ने व्यवस्था छ । कक्षा ५ सम्म विद्यालय शिक्षाको एउटै धार हुने व्यवस्था छ । कक्षा ६ देखि भने साधारण, संस्कृत, गुरुकुल, वेदविद्याश्रम, गोन्पा तथा विहार, मदर्सा गरी विभिन्न धार निर्धारण गरिएको छ । उल्लेखित सबै धारका विद्यालयले कुनै न कुनै रूपमा संस्कृत विषय पढाउन सक्ने सुविधा पाठ्यक्रमले दिएको छ । 

कक्षा १–३ का लागि ६ वटा विषय निर्धारण गरिएको छ । यसमध्ये मातृभाषा वा स्थानीय विषयअन्तर्गत संस्कृत भाषासमेत पढाउन सकिने व्यवस्था छ । यो विषयको पाठ्यघन्टा (क्रेडिट आवर) पाँच तोकिएको छ, जुन उच्चतम हो । यसबाहेक नेपाली भाषा विषयका लागि मात्र ५ पाठ्यघन्टा दिइएको छ । अन्य चारवटा विषयका लागि समान चार–चार पाठ्यघन्टा तोकिएको छ ।

स्थानीय विषयअन्तर्गत मातृभाषा, स्थानीय इतिहास तथा संस्कृति, संस्कृत भाषा र स्थानीय ज्ञान, सीप, कला तथा प्रविधिमा आधारित विषयसँग सम्बन्धित क्रियाकलाप पर्ने पाठ्यक्रममा उल्लेख छ । यसअनुसार संस्कृत भाषा पढाउन नचाहने विद्यालयले मातृभाषा, स्थानीय इतिहास तथा संस्कृति तथा स्थानीय ज्ञान, सीप, कला तथा प्रविधिमा आधारित अन्य विषय पढाउन सक्नेछन् ।

विद्यालयहरूले संस्कृत भाषा र स्थानीय विषय दुवैको पठन–पाठन गराउन सक्ने बाटोसमेत खोलिएको छ । स्थानीय विषयअन्तर्गत संस्कृत विषयको पाठ्यक्रममा संस्कृत मात्र पढाउन चाहने विद्यालयका लागि र स्थानीय विषयसहित संस्कृत पनि पढाउन चाहने विद्यालयका लागि भनेर एकाइ छुट्याइएको छ । संस्कृतसहित स्थानीय विषयसमेत पढाउन चाहने विद्यालयले संस्कृतलाई तीन पाठ्यघन्टा र स्थानीय विषयलाई बाँकी दुई पाठ्यघन्टा दिनुपर्ने व्यवस्था गरिएको छ । कक्षा चार–पाँचका लागि भने भातृभाषा वा स्थानीय विषयका लागि चार पाठ्यघन्टा तोकिएको छ ।

कक्षा ६–८ मा साधारण धारका विद्यालयले मातृभाषा वा स्थानीय विषय वा संस्कृत भाषामध्ये कुनै एक पढाउनुपर्ने व्यवस्था छ । ‘संस्कृत शिक्षा–गुरुकुल–वेदविद्याश्रम शिक्षा’ धारका विद्यालयका लागि संस्कृत भाषा अनिवार्य गरिएको छ । यस्ता विद्यालयले संस्कृतका अन्य शास्त्रीय विषयहरू पनि पढाउने व्यवस्था छ । परम्परागत शिक्षाअन्तर्गतका ‘गोन्पा तथा विहार–मदरसा शिक्षा’ धारका विद्यालयले ‘भोटभाषा वा पाली भाषा वा संस्कृत वा अन्य भाषा वा उर्दू भाषा’मध्ये एक विषय पढाउनुपर्ने व्यवस्था छ । जुनसुकै धारका विद्यालयले पनि कक्षा आठसम्म संस्कृत भाषा विषय पढाउन सक्ने सुविधा नयाँ पाठ्यक्रमले दिएको छ ।

कक्षा १ को बहुभाषिक पाठ्यपुस्तक तयार
पाठ्यक्रम विकास केन्द्रले संस्कृत भाषा विषयको आधारभूत तह १–८ को पाठ्यक्रम र कक्षा एकको पाठ्यपुस्तक तयार गरेको छ । पाठ्यक्रम तथा पाठ्यपुस्तकमा संस्कृतलाई मूलतः नेपाली भाषाको आधार भाषाका रूपमा प्रयोगमा जोड दिइएको छ । कक्षा एकको पाठ्यपुस्तक बहुभाषिक बनाइएको छ, जुन नेपालको सन्दर्भमा नौलो प्रयोग हो । पाठ्यपुस्तकमा प्रयोग भएका संस्कृत भाषाका शब्दको अर्थ नेपाली र अंग्रेजी भाषामा समेत दिइएको छ । पाठ्यपुस्तकमा प्रयोग भएका वाक्य तथा अनुच्छेदको नेपाली भाषामा अनुवाद दिइएको छ । त्यसैगरी, हरेक क्रियाकलापका निर्देशन वाक्यहरू नेपाली भाषामा दिइएको छ ।

देशमा पहिलोपटक प्रारम्भिक कक्षादेखि नै संस्कृतको पठनपाठन सुरु भएको सन्दर्भमा अधिकांश विद्यालयमा संस्कृत विषय अध्यापन गराउने जनशक्ति उपलब्ध नभएकाले संस्कृत नपढेका शिक्षकले समेत अध्यापन गराउन सकून् भन्ने उद्देश्यले पाठ्यपुस्तकलाई बहुभाषिक बनाइएको केन्द्रको भनाइ छ । नेपाली वा अंग्रेजी भाषाका शिक्षकले पनि स्वध्ययनमार्फत सजिलै संस्कृत विषय अध्यापन गराउन सक्ने गरी पाठ्यपुस्तक विकास गरिएको केन्द्रको दाबी छ ।

मातृभाषा वा स्थानीय विषयको पाठ्यक्रम तथा पाठ्यपुस्तक विकासको दायित्व स्थानीय तहलाई दिइए पनि त्यसअन्तर्गत संस्कृत भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तकको विकास पाठ्यक्रम विकास केन्द्रले केन्द्रीयस्तरबाटै गरिदिएको हो । विश्वको प्राचीनतम भाषाको रूपमा मानिएको संस्कृत भाषालाई नेपाली भाषाको जननी भाषा हो । नेपालमा बोलिने अन्य भाषामा पनि संस्कृतको प्रभाव मजबुत छ । विश्वका प्रमुख भाषामा धेरथोर संस्कृतको प्रभाव रहेको भाषाविद्को बुझाइ छ । सबै स्थानीय तहमा संस्कृतका विशेषज्ञ उपलब्ध नभएकाले पनि यो विषयको पाठ्यक्रम तथा पाठ्यपुस्तक केन्द्रीयस्तरबाटै विकास गरिदिएको केन्द्रको भनाइ छ ।

मुलुकमा गणतन्त्रको स्थापना र संघीय शासन प्रणलीको अवलम्बनपछि पहिलोपटक नयाँ पाठ्यक्रम लागू गरिँदै छ । हालसम्म ०६३ मा परिमार्जित पाठ्यक्रमअन्तर्गत विद्यालय तहमा पठन–पाठन हुँदै आएको थियो । परिवर्तित समयको आवश्यकता र विकसित नवीनतम वैज्ञानिक प्रविधिअनुकून पाठ्यक्रममा परिमार्जनको आवश्यकतालाई महसुस गरी सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले निर्दिष्ट गरेका सिद्धान्त तथा स्वरूपमा आधारित भई नयाँ पाठ्यक्रम विकास गरेको हो । वि. सं. २०७५ मा तयार गरिएको कक्षा १–३ को एकीकृत ढाँचाको यो पाठ्यक्रम शैक्षिक वर्ष २०७६ मा कक्षा १ मा परीक्षण गरी सो परीक्षणबाट प्राप्त पृष्ठपोषणसमेतलाई आधार मानेर परिमार्जित स्वरूपमा तयार गरी नेपालका सम्बन्धित सबै विद्यालयमा शैक्षिक वर्ष ०७७ देखि कक्षा १ बाट कार्यान्वयन प्रारम्भ हुने गरी राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदबाट २ माघ ०७६ मा स्वीकृत गरिएको हो । यसअन्तर्गत कक्षा १–३ मा समावेश गरिएको मातृभाषा र स्थानीय विषयको पाठ्यक्रम छनोट तथा विकास गरी कार्यान्वयन गर्ने दायित्व सम्बन्धित स्थानीय तहलाई दिइएको छ ।
  
वैशाखको पहिलो सातादेखि नै शैक्षिक वर्ष सुरु भई पठन–पाठन प्रारम्भ हुनुपर्नेमा कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण देश लकडाउनमा रहेकाले यस वर्ष विद्यार्थी भर्ना अभियान नै सुरु हुन सकेको छैन । कोरोना भाइरसको खतरा बढेसँगै सरकारले गत शैक्षिक वर्ष २०७६ को वार्षिक परीक्षा ५ चैतभित्र लिइसक्न निर्देशन जारी गरेको थियो । सोहीबमोजिम सबै स्थानीय तहले आफूमातहतका विद्यालयलाई वार्षिक परीक्षा लिन लगाएका थिए । त्यसलगत्तै ६ चैतदेखिका लागि निर्धारित एसइई परीक्षासमेत स्थगित गरी देशभरका शिक्षण संस्था बन्द गरिएको थियो । ११ चैतदेखि घोषणा गरिएको देशव्यापी लकडाउन जारी नै रहँदा विद्यालयहरूले वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न र नयाँ शैक्षिक वर्षका लागि भर्ना अभियान सुरु गर्नसमेत पाएका छैनन् ।