मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवराज मैनाली काठमाडौं
२०७७ बैशाख २६ शुक्रबार १२:५७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

सांसद ‘अपहरण’को जाहेरी सरकारी वकिल कार्यालयबाट चलानी, प्रहरी कार्यालयमा पुगेन 

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ बैशाख २६ शुक्रबार १२:५७:००

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले दिएको अपहरणसम्बन्धी उजुरी जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले तीन दिन अघि प्रहरीमा चलानी गरे पनि पुगेकाे छैन् । 

प्रहरीले जाहेरी प्राप्त भइनसकेको जनाएको छ । गत २२ वैशाखमा जिल्ला सरकारी वकिल कार्यालयले अपहरणको जाहेरी दर्ता गरेको थियो । सहन्यायाधिवक्ता हरि रेग्मीका अनुसार भोलिपल्टै जाहेरी प्रहरीमा चलानीको निर्णय भइसकेको छ । ‘भोलिपल्टै चलानी भइसकेको थियो, प्रहरीमा पुग्नुपर्ने हो,’ उनले भने ।  

बबरमहलमा रहेको सरकारी वकिल कार्यालयबाट टेकुमा रहेकाे महानगरीय प्रहरी परिसरमा तीन दिनसम्म पनि जाहेरी पुगेको छैन । काठमाडौं परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले जाहेरी प्राप्त नभएको बताए । 

सांसद यादवले नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसन) तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी सरकारी वकिल कार्यालयमा दिएका थिए । प्रहरीले जाहेरी नलिएपछि उनले सरकारी वकिल कार्यालयमा दिएका थिए । 

फौजदारी अपराध (कार्यविधि) संहितामा प्रहरीले जाहेरी दर्ता गर्न नमाने सरकारी वकिल कार्यालयले दर्ता गरेर यथाशीघ्र प्रहरीमा पठाउनुपर्ने उल्लेख छ । सोहीअनुसार प्रहरीमा पठाउने निर्णय भएको हो । सरकारी वकिल कार्यालयले पठाएको जाहेरी दर्ता गर्न प्रहरी बाध्यकारी हुन्छ । गत १४ वैशाखमा डा. यादवसहित जनता समाजवादीका नेताहरू जाहेरी लिएर महानगरीय प्रहरी परिसर काठमाडौं गएका थिए । तर, महोत्तरीको कार्यक्षेत्र पर्ने भन्दै प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो । 

अनुसन्धानमा ढिलाइ 
सरकारी वकिल कार्यालयले जाहेरी दर्ता गरेर पठाएपछि अनुसन्धान अघि बढाएर प्रहरीले त्यसलाई टुंगोमा पुर्याउनैपर्ने हुन्छ । सुरुमा अनुसन्धान अधिकृत तोकेर प्रहरीले प्रारम्भिक प्रमाणहरू संकलन गर्नेछ । जाहेरी र अन्य प्रमाणका आधारमा प्रहरीले जाहेरी परेका व्यक्तिलाई पक्राउका लागि अदालतमा अनुमति माग्नेछ । अदालतले पक्राउ पुर्जी जारी गरेमा पक्राउ गरी बयान लिनेछ । बयान र प्रमाणहरू पर्याप्त भएमा सरकारी वकिल कार्यालयले मुद्दा चलाउने नत्र मुद्दा नचलाउने निर्णय गर्न सक्छ । अपहरणसम्बन्धी मुद्दाको अनुसन्धानको हदम्याद ६ महिना हुन्छ । प्रारम्भिक अनुसन्धानमा पर्याप्त प्रमाण नपुगेकामा सरकारी वकिल कार्यालयको रायमा प्रहरीले जाहेरी दरपीठमा राख्न सक्ने प्रावधानसमेत छ । 

यो घटनामा मुद्दा चलाउन पर्याप्त आधार भएको अनुसन्धान अधिकृतहरू बताउँछन् । ‘कुनै पनि कार्य अपराध हुनका लागि अापराधिक मनसाय र आपराधिक कार्य हुनु जरुरी हुन्छ,’ ती प्रहरी अधिकारी भन्छन्, ‘यो केसमा दुवै कुरा प्रस्ट छन् । मनसाय पार्टी फुटाएर राजनीतिक फाइदा लिनेछ । महोत्तरीबाट विभिन्न दबाब र प्रलोभनमा पारेर काठमाडौंसम्म ल्याउनु आपराधिक कार्य हो ।’ 

गत १० वैशाखमा सांसद र पूर्व प्रहरी महानिरीक्षक खनाल डा. यादवलाई लिन महोत्तरी गएका थिए । आफू नजाने बताउँदा पनि दबाब र प्रलोभनमा पारेर उनीहरूकै गाडीमा राखेर ल्याइएको उनले बताएका छन् । काठमाडौं म्यारियट होटेलमा राखिएको र बिहान आफू भागेको उनको जाहेरीमा उल्लेख छ । सांसद र पूर्वमहानिरीक्षक खनालले भने राजिखुसीमै उनलाई काठमाडौं ल्याइएको दाबी गरेका छन् । 

यो घटनामा महोत्तरी प्रहरीले समेत सघाएको प्रदेश नम्बर २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवले बताएका छन् । जसअनुसार महोत्तरी प्रहरीमाथि समेत छानबिनको माग भएको छ । दुई साता हुँदा पनि प्रहरीले अनुसन्धानमा चासो नदिँदा प्रमाणहरू लोप हुन सक्ने जोखिम छ । 

काठमाडौं परिसरका अधिकांश प्रहरी भने यो जाहेरी दरपीठमा राख्ने पक्षमा रहेको स्रोत बताउँछ । सत्तारुढ दलका प्रभावशाली सांसद तथा आफ्नै पूर्वहाकिमविरुद्धको जाहेरी भएकाले उनीहरूले यसमा अनुसन्धान अघि बढाउन चासो दिएका छैनन् । 

पीडित सांसद डा. यादवले भने आफूमाथि सुरक्षा जोखिम रहेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी दिइसकेका छन् ।