मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ बैशाख २६ शुक्रबार ०८:०६:००
Read Time : > 2 मिनेट
साहित्य

कोरोना संकटमा साहित्यिक अभ्यास

Read Time : > 2 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ बैशाख २६ शुक्रबार ०८:०६:००

ओ प्रिय कोरोना
संसार डुलिहिँड्नुपर्ने तिमी
के मेरो सानो संसारमा अटाउन सक्छौ ?

कोभिड–१९ का कारण लकडाउनमा बस्नुपर्दाको मनस्थितिलाई कवि राबतले ‘मेरो सानो संसार’ शीर्षकको कवितामा यसरी नै पोखे । सर्जकहरू कोभिड–१९ को महामारीलाई लक्षित गर्दै सिर्जनामा व्यस्त छन् ।

मनु मञ्जिल, श्रवण मुकारुङलगायत कविका कविता यही सेरोफेरोमा आएका छन् । र, अब प्रकृतितिरै फर्किनुपर्छ भन्ने चेत पछिल्ला सिर्जनामा झल्किन थालेको छ । ‘प्रकृतितिर फर्कने विषय पुरानो हो । पहिला यसमा खासै चासो पाइँदैनथ्यो । अब भने मानिस अलि गम्भीर बन्छन् कि !’ निबन्धकार तथा समालोचक कुमारी लामा भन्छिन्, ‘सम्भवतः जनयुद्धअघि र पछिको साहित्य भनिएजस्तै भविष्यमा कोरोनाअघि र पछिको साहित्य भनिन सक्छ ।’

कवि मुकारुङ पनि अब प्रकृतितिर फर्केर प्राकृतिक जीवन बाँच्नुपर्छ भन्ने उत्प्रेरणा भित्रैबाट आएको आकलन गर्छन् । भन्छन्, ‘कोरोना भाइरसले मानिसको ‘सुप्रिमेसी’माथि प्रश्न उठायो । हामी मात्र सबैथोक होइनौँ भन्ने देखायो ।’ मुकारुङको हालै प्रकाशित कविता ‘मानिसको मृत्यु’मा यतिवेला मानिसलाई मृत्युवरण गर्न सजिलो नभएको दृष्टान्त पस्किँदै उनी पोखिएका छन्-

तिमीले यतिन्जेल लुकाइराखेको 
तिम्रो खास चिज 
जसलाई दिन चाहन्छौ तिमी 
ऊ अहिले 
तिमीसामु आइपुग्न असमर्थ छ 
ऊ –
भर्खरै जन्मिएको आफ्नो सन्तानको टल्किरहेको नयाँ घरजस्तो मुस्कानभित्र लकडाउन छ । 

मानिस एकअर्कासँग डराइरहेको परिस्थितिले मानवीय मूल्य र मान्यताको आभास गराएको कवि मुकारुङको ठम्याइ छ । र, मानिस कति स्वार्थी छ भन्ने पनि कोरोना कहरले छर्लंग बनाएको उनी बताउँछन् ।

पर्यावरणलाई विषयवस्तु बनाइएको उपन्यास ‘हंश’का लेखक सञ्जीव उप्रेती अहिलेको विश्वदृष्टि नै मानवकेन्द्रित र फाइदामुखी भएको बताउँछन् । भन्छन्, ‘प्राकृतिक स्रोत र जंगल निजीकरण भइरहेका छन् । यो राम्रो कुरा होइन । यसमाथि राज्यको ध्यान खिचिनुपर्छ । भविष्यको साहित्य पनि त्यही प्रकृति वरिपरि रहेर आउनेछ ।’

सहर बनाउँछौँ, जहाँ चरा बस्ने ठाउँ छैन । विकासको नाममा प्रकृति ध्वस्त बनाइरहेका छौँ । अबको साहित्यलेखन सम्भवतः बढीजसो पर्यावरणसँग सम्बन्धित हुन्छ होला।

लेखक अमर न्यौपाने अहिलेको भयावह अवस्थापछि यो संक्रमण र घटना साहित्यमा आउने बताउँछन् । मानिस कृत्रिम बन्दै गएको उल्लेख गर्दै न्यौपाने भन्छन्, ‘सहर बनाउँछौँ, जहाँ चरा बस्ने ठाउँ छैन । विकासको नाममा प्रकृति ध्वस्त बनाइरहेका छौँ । अबको साहित्य लेखन सम्भवतः बढीजसो पर्यावरणसँग सम्बन्धित हुन्छ होला ।’

लेखक तथा समालोचक युग पाठक पुँजीवादी विश्व व्यवस्थाले बनाएको व्याकरणलाई कोरोनाले ध्वस्त बनाइदिने बताउँछन् । भन्छन्, ‘त्यसपछि यसले जीवनको बाँकी सबै कुरामा प्रहार गर्छ ।’ ‘हल्ट’ भएको पुँजीवादको इन्जिन चल्न समय लाग्ने उनको बुझाइ छ । 

उनको बुझाइमा त्यसले रेमिट्यान्स र अर्थतन्त्रमा ठूलो असर पार्नेछ । ‘यस अवस्थाले जीवनको लयमा व्यापक उथलपुथल ल्याउनेछ,’ उनी भन्छन्, ‘रेमिट्यान्सले एक किसिमको सपना निर्माण गरेको थियो । त्यहाँ पनि अब ब्रेक लाग्नेछ । रेमिट्यान्स नआएपछि हरेक क्षेत्रमा असर गर्छ । त्यसको असर साहित्यमा स्वाभाविक रूपमा देखिन्छ नै ।’

मानिसले आफूलाई पुनर्मूल्यांकन गर्नुपर्ने अवस्था आएको मुकारुङको ठम्याइ छ । उनी भन्छन्, ‘यही अवस्थाबाट आउने दिनमा साहित्य लेखिनेछ ।’ रेमिट्यान्सको स्रोत बनेका लाखौँ युवा एकसाथ स्वदेश फर्किने वातावरण तयार हुँदै गर्दा त्यसको प्रभावले राजनीति र सामाजिक स्वरूपमा फेरबदल हुन सक्ने उप्रेतीको ठम्याइ छ । भन्छन्, ‘घरपरिवार छाडेर जान कसलाई मन लाग्छ र ? उनीहरू आउँदा हृदयले स्वागत गरेर व्यवस्थापन गर्नेबारे सत्ताले सोच्नुपर्छ ।’

यही चेतमा उभिएर कवि मनु मञ्जिल आफ्नो कविता ‘हेल्लो सरकार’मा पोखिएका छन्-

हेल्लो सरकार !
यौटा कुरो सुनाऊँ ?
यी मजदुरहरूले तिम्रो लकडाउन 
मानेकै छैनन् ।

हेल्लो सरकार !
यौटा कुरो सुनाऊँ ?
यिनीहरूले लकडाउन नमानेका हैनन् 
यिनीहरू राम्रा मानिस हुन् ।
यस्तो पनि हुन सक्छ कि
खासमा देशमा सरकार पनि छ भन्ने कुरा
यिनीहरूलाई थाहै छैन !

लेखक न्यौपाने विश्वमा युद्धको स्वरूप फेरिँदै गरेको र कोरोना भाइरसले अदृश्य युद्ध निम्त्याएको बताउँदै भन्छन्, ‘हामी जति कृत्रिम भइरहेका थियौँ, त्यसलाई चिरेर प्राकृतिक नभई धरै छैन ।’ लेखक उप्रेती पनि अब मानवकेन्द्रित विश्वदृष्टिलाई विस्थापित गर्नुपर्ने बताउँछन् । भन्छन्, ‘यसपछि निम्तिने मन्दीका कारण हुने मानवीय क्षति र दुखान्तबारे पनि साहित्य लेखिनुपर्छ र लेखिनेछ ।’ 

कोरोना कहरपछि निम्तिने मन्दीका कारण हुने मानवीय क्षति र दुःखान्तबारे पनि साहित्य लेखिनुपर्छ र लेखिनेछ।

मानिस कस्तो भविष्य बोकेर दगुरिरहेको थियो र कस्तो भविष्य ऊतिर आउँदै छ भन्ने कुरा अबको साहित्यमा आउनुपर्ने उनी बताउँछन् । भन्छन्, ‘ग्रिसमा कविहरूलाई भविष्यद्रष्टा मानिन्थ्यो । त्यसैले, अब कवि-लेखकले अहिलेको अवस्थाबाट माथि उठेर सोच्नुपर्छ ।’

अब साहित्यकारले सतहमा देखिने सुख–दुःखलाई पाल्छी भाषामा बयान गरेर मात्र नहुने पाठक बताउँछन् । मानिस सयौँ किलोमिटर बच्चा च्यापेर भोकभोकै हिँडिरहेको दृश्यले मजदुरको वास्तविक चित्र ‘हाइलाइट’ गरिदिएको उनको बुझाइ छ । ‘साहित्यले गुदीलाई हाइलाइट गरेर देखाइदिने हो, जुन साधारण जीवनको लयले छोपेर राखेको हुन्छ,’ उनी भन्छन्, ‘तर, अहिले त्यही कुरा बाहिर आइदियो । कवि लेखकले अब अझै गहिरो भएर सोच्नुपर्छ ।’