मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हदिश खुद्दार
२०७५ माघ १२ शनिबार ०६:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बसमा करेन्ट लाग्दा ६ जन्तीको मृत्यु

बसको छतमा राखिएको ट्यांकाले ११ हजार भोल्टेज करेन्ट प्रवाह भइरहेको तारमा छुँदा घटना

Read Time : < 1 मिनेट
हदिश खुद्दार
२०७५ माघ १२ शनिबार ०६:२६:००

धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियाबाट जन्ती लिएर सिन्धुली फर्कँदै गरेको बसमा करेन्ट प्रवाह हुँदा ६ जनाको मृत्यु भएको छ । ५ जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा सिन्धुली दुधौलीकी ३० वर्षीया लीला अधिकारी, ३५ वर्षीय रामबाबु अधिकारी, १९ वर्षीय आक्रोश कुँवर, २२ वर्षीया पूजा अधिकारी र रेश्मादेवी कुँवर छन् ।

रामबाबुको उपचारका लागि ल्याउँदै गर्दा ज्यान गएको हो । मध्यरातसम्म बाँकी एकजनाको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक गोविन्द थपलियाले घटनामा अन्य ६ जना घाइते भएको जानकारी दिए । उनीहरूको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बसका चालक भने फरार रहेको एसपी थपलियाले बताए ।

शुक्रबार सिन्धुली दुधौली जितपुरका रामप्रसाद अधिकारीका छोरा रमण अधिकारी र सबैला बिल्टयाका रामभरोष कुँवरकी छोरीको वैवाहिक कार्यक्रम सकिएपछि फर्किने क्रममा साँझ ६ बजेतिर बसको छतमाथि राखिएको टिनको बाकसमा ११ हजार भोल्टेज प्रवाह भइरहेको बिजुलीको तारले छुँदा करेन्ट प्रवाह भएको थियो । त्यसवेला बसमा ३६ जना जन्ती थिए । करेन्ट प्रवाह भएसँगै बसमा आगो लागेको थियो । अधिकांशले ढोका र  झ्यालबाट फाल हानेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

एसपी थपलियाले बेहुला रमण र बेहुली सरस्वती अर्को गाडीमा रहेकाले सकुशल रहेको जानकारी दिए । ‘वैवाहिक कार्यक्रम सम्पन्न भएपछि फर्किँदै गरेका जन्ती चढेको बसको हुटमा राखिएको ट्यांकामा करेन्ट प्रवाह भइरहेको तारले छुँदा घटना भएको हो,’ एसपी थपलियाले नयाँ पत्रिकासँग भने । करेन्ट लागेको बसबाट फाल हालेर ज्यान जोगाएकाहरूले दिएको जानकारीअनुसार दाइजोमा दिइएको टिनको बाकस (ट्यांका) बसको छतमा राखिएको थियो । सोही बाकसले नांगो तार छुँदा करेन्ट प्रवाह भएको हो ।