१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ बैशाख २५ बिहीबार १८:०५:००
Read Time : > 1 मिनेट
समाचार

किट अभावमा भैरहवास्थित जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण बन्द

Read Time : > 1 मिनेट
२०७७ बैशाख २५ बिहीबार १८:०५:००

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा किट अभावका कारण कोरोना संक्रमणको पहिचान गर्न गरिने स्वाब परीक्षण रोकिएको छ ।

जनस्वास्थ्य प्रमुख डा. राजेन्द्रप्रसाद गिरीका अनुसार अहिले ल्याबका लागि आवश्यक आरएनए किट सकिएको छ । परीक्षणका लागि आरटी पिसिआर र आरएनए किट आवश्यक पर्छ । उनले भने, ‘अहिले हामीसँग परीक्षणको पहिलो चरणमै चाहिने आरएनए किट छैन । किट आएसँगै परीक्षण सुचारु हुन्छ ।’

प्रयोगशालामा पिसिआर पाँच सय र आरएनए दुई सय ५० पिस आएको थियो । गिरीले भने, ‘पिसिआर कोरोना परीक्षणमा दोस्रो चरणमा चाहिने हो । पहिलो चरणमा चाहिने किट सकिएपछि समस्या भएको छ ।’ किट अभावमा ल्याब चार दिनदेखि बन्द छ ।

कोरोना परीक्षण तीव्र र प्रभावकारी बनाउन सरकारको निर्देशनअनुरूप चीनबाट ल्याइएको पिसिआर मेसिन सबै प्रदेशमा पठाइयो । सोही क्रममा भैरहवामा ल्याइएको मेसिनले दैनिक सरदर १२ वटा परीक्षण गर्दै आएको छ । यस्तै, २८ चैतमा बुटवलस्थित नेसनल प्याथ ल्याबले पनि प्रदेश सरकारलाई पिसिआर मेसिन उपलब्ध गराएको थियो । लगत्तै कृषिमन्त्री घनश्याम भुसालको पहलमा अर्को पनि पिसिआर मेसिन उपलब्ध भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् बिउविज्ञान प्रविधि महाशाखा खुमलटारको मोलेकुलर ल्याबमा भएको आरटी पिसिआर मेसिन २९ चैतमा भैरहवास्थित प्रदेश जनस्वास्थ प्रयोगशालामा ल्याइएको हो । अत्याधुनिक यो मेसिनले पाँच घन्टामा ९६ वटा परीक्षण गर्न सक्छ । यो मेसिन दैनिक १५ घन्टा चलाउँदा तीन सयवटा परीक्षण गर्न सकिन्छ । तर, यो मेसिन सञ्चालन हुन सकेको छैन ।

प्रदेश ५ मा एक सय ३० जना स्वास्थ्यकर्मीलाई स्वाब परीक्षणको तालिम दिइएको छ । भैरहवास्थित ल्याबमा हालसम्म तीन सय ५५ जनाको स्वाब संकलन गरिएकोमा तीन सय ५२ जनाको परीक्षण भएको छ । जसमध्ये एकजनामा कोरोना पोजेटिभ देखिएको छ भने तीनजनाको परीक्षण प्रोसेसिङमा छ ।

प्रदेश ५ मा कुल एक हजार तीन सय ६६ स्वाब संकलन भएको छ । संकलित स्वाबमध्ये एक हजार दुई सय ३८ जनाको परीक्षण नेगेटिभ आएको छ । त्यसैगरी २४ जनामा पोजेटिभ देखिएको छ भने एक सय चारजनाको परीक्षण गर्न बाँकी छ ।