मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७७ बैशाख २५ बिहीबार ०९:३०:००
Read Time : > 2 मिनेट
नयाँCity

लकडाउनमा सहरका हब : रंगविहीन ठमेल

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७७ बैशाख २५ बिहीबार ०९:३०:००

रात छिप्पिँदै जाँदा डिस्को र क्लबहरूमा भिड बढ्थ्यो । बिहानसम्मै विदेशी पर्यटक र नेपाली युवा–युवती संगीतको तालमा झुमिरहेका हुन्थे । राति ९ बजेपछि सुरु हुने रक ब्यान्डहरूको लाइभ प्रस्तुतिसँगै पूरै ठमेल सांगीतिक बन्थ्यो । तर, त्यो रंगीन ठमेल अहिले रंगविहीन बनेको छ । रातभर जाग्राम रहने काठमाडौं उपत्यकाको यो मुख्य पर्यटन गन्तव्य अहिले दिउँसै गहिरो निद्रामा रहेझैँ अनुभूति हुन्छ ।

जबसम्म विदेशी पर्यटक आउँदैनन्, तबसम्म ठमेल गुल्जार हुन सक्नेछैन । नेपाली नागरिकमाझ पनि ढुक्कसँग रेस्टुराँ र क्लब धाउने मनस्थिति तयार हुन समय लाग्नेछ ।

कोभिड–१९ को महामारीबीच ठमेल एक्लैले बेहोरिरहेको नियति होइन यो । ठमेल त्यसरी नै सुस्ताइरहेको छ, जसरी संसारभरका पर्यटकीय गन्तव्यमा सन्नाटा छाएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउनका कारण पर्यटक झुम्मिने ठमेलका पसल, रेस्टुराँ, होटेल र क्लब बन्द छन् । स्थानीय बासिन्दा फाट्टफुट्ट हिँडेको देखिए पनि विदेशी पाहुना देखिँदैनन् । ठमेलका गल्लीगल्ली चहार्दा पूरै बजारलाई कुकुरहरूले पहरा दिइरहेजस्तो लाग्छ ।

कोभिड–१९ का कारण लकडाउन हुनुुअघि केशरमहलबाट छिर्नेबित्तिकै चहलपहल सुरु हुन्थ्यो । कर्मचारी सञ्चयकोष अगाडिदेखि भिडभाड देखिन थाल्थ्यो । अहिले त नरसिंह चोक, काठमाडौं गेस्टहाउस हुँदै चाक्सीबारीसम्म पुग्दा पनि ठमेल आइपुगेको अनुभव हुँदैन । छाया सेन्टर मात्र होइन, अलफ्ट, म्यारियट, मनाङ, वैशाली, मलबेरी र मल्ल होटेलका गेटमा ताल्चा झुन्डिएका छन् । पसलहरू बन्द छन्, सटर अघिल्तिर घरभित्र बस्दा दिक्क भएर निस्केका एक–दुईजना सुस्ताइरहेको देखिन्छ । बैंकहरूका एटिएम बुथ खुला छन्, तर पैसा निकाल्ने ग्राहक देखिँदैनन् 

लकडाउनअघिसम्म ठमेल कहाँ यस्तो थियो र ! बिहानैदेखि सडकमा खचाखच विदेशी पर्यटक देखिन्थे । साँझ पर्न थालेपछि नेपाली ओइरिन थाल्थे । रेस्टुराँका टेबल भरिभराउ रहन्थे । ‘ऊँ मणि पद्मे हूँ’को मीठो धूनसँगै वनस्पती धूपको बास्नाले ठमेल मगमग हुन्थ्यो । सहरी युवा–युवतीले खोज्ने रात्रि जीवन ठमेलमै त उपलब्ध थियो ।

‘ठमेल हिजो लाइभ थियो, आज सुनसान,’ पर्यटन व्यवसायी सुमन पाण्डे भन्छन्, ‘अहिलेको ठमेल दिउँसै निदाइरहेको छ ।’ यहाँका साना–ठूला दर्जनौँ होटेल बाह्रैमास विदेशी पर्यटकले भरिभराउ रहन्थे । ठमेल बिहानैदेखि गुल्जार रहनुको कारण पनि त्यही थियो । ठमेलमा रात बिताउने पर्यटक बिहानै साइटसिन र ट्रेकिङमा निस्किन्थे । स्वदेश फर्किनु अघिल्लो रात पनि उनीहरूले ठमेलमै बिताउँथे ।

बिहानैदेखि यहाँका रेस्टुराँले पर्यटकलाई ब्रेकफास्ट सर्भ गर्थे । दिउँसो किनमेलमा निस्किने उनीहरूका लागि नेपाली मौलिक सरसामान र कलाकृति मुख्य आकर्षण हुन्थे । अनि साँझ परेपछि रेस्टुराँ, क्लब, डान्सबार, दोहोरी र गजल साँझमा रक, पप र हेभी मेटलसहित झ्याउरे र लोकभाकाको लयमा कम्मर मर्काउँथे । ठमेल २४सै घन्टा गुल्जार रहन्थ्यो । यहाँका होटेल, रेस्टुराँ र क्लबहरूमा बर्सेनि बढ्दो लगानीको कारक पनि त्यही पर्यटकीय आकर्षण हो । छाया सेन्टर र अलफ्ट होटेलमा मात्र करिब पाँच अर्ब लगानी भएको सञ्चालक पृथ्वीबहादुर पाँडे बताउँछन् । मेरियट होटेलमा एक अर्बभन्दा बढी लगानी भएको छ ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले कान्तिपथमा आठ अर्ब लागतमा पाँचतारे होटेल सेराटन बनाउँदैछन् । पोखराका व्यवसायी विप्लव पौडेलले केशरमहलअगाडि अर्को तारे होटल बनाइरहेका छन् । ठमेल विकास परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाका अनुसार यहाँ साना–ठूला गरी करिब तीन सय ५० वटा होटेल, करिब तीन सय रेस्टुराँ तथा रात्रि जीवनलाई लक्षित गरी खोलिएका करिब ७५ वटा क्लब, डिस्को, गजलबार र दोहोरी साँझ छन् । पसल–कबलहरूसमेत जोड्दा करिब चार हजार व्यवसाय ग्रेटर ठमेलभित्र सञ्चालित छन् । 

ठमेल र नजिकैको दरबारमार्गमा पछिल्लो समय ठूलो लगानी गरेर अन्तर्राष्ट्रियस्तरका क्लब खोल्ने लहर चलेको छ । एलओडी, डेजाभु, सर्कल, इबिज्जा, ओएमजी, फायर, पर्पल हेज, कर्मा, शिक्षा, काउजी, फरेन हाइटलगायत क्लबमा ठूलो लगानी छ । नेपाली र विदेशी पर्यटकलाई लक्षित गरेर क्लब तथा लाउन्जमा लगानीकर्ता आकर्षित भएको रिफ लाउन्ज र एलओडीका सञ्चालक रवीन श्रेष्ठ बताउँछन् ।

सरकारले लकडाउन खुकुलो पार्दै लग्यो भने पनि ठमेलले तत्काल आफ्नो लय समाउन सक्नेछैन । किनकि, ठमेलका मुख्य पाहुना चीन, भारत, युरोप र अमेरिकाका पर्यटक तत्काल देशाटनमा निस्किने छैनन् । ‘जबसम्म विदेशी पर्यटक आउँदैनन्, तबसम्म ठमेल गुल्जार हुन सक्नेछैन,’ पर्यटन व्यवसायी पाण्डे भन्छन्, ‘ढुक्कसँग रेस्टुराँ र क्लब धाउने मनस्थिति नेपाली नागरिकमाझ नै पनि तयार हुन समय लाग्नेछ ।’

तस्बिर : दिपेन्द्र ढुंगाना / नयाँ पत्रिका