मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव वीरगन्ज
२०७७ बैशाख २५ बिहीबार ०६:१७:००
Read Time : > 1 मिनेट
प्रदेश

वीरगन्जमा एकै परिवारका १७ जनामा कोरोना संक्रमण पुष्टि

Read Time : > 1 मिनेट
२०७७ बैशाख २५ बिहीबार ०६:१७:००

पर्सामा एकै परिवारका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो । बुधबार संक्रमण पुष्टि भएका सबै उनकै परिवारका सदस्य हुन् । उनका बाबु, आमा, दाजु, भाइ, भाउजू, छोरा र भतिजामा संक्रमण पुष्टि भएको हो । 

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले आइतबार कोरोना संक्रमण पुष्टि भएकाको परिवारका सदस्य र सम्पर्कमा रहेका गरी ३२ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि गत सोमबार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको जानकारी दिए । उनका अनुसार परीक्षणका लागि पठाइएकामध्ये १७ जनाबाहेक सबैको निगेटिभ रिपोर्ट आएको छ । 

संक्रमित सबै अस्पतालमा

पिसिआर रिपोर्ट पोजेटिभ आएका १७ जनालाई बुधबार साँझ भर्ना गरिएको नारायणी अस्पतालले जनाएको छ । वीरगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २४ पुगेको छ । तीमध्ये वीरगन्जका २१ र तीनजना भारत उत्तर प्रदेश र दिल्लीका जमाती हुन् । वीरगन्ज–३ छपकैयामा मात्रै संक्रमितको संख्या १९ पुगेको छ । वीरगन्ज–२ छपकैया र इनर्वाका एक÷एकजना छन् । २४ संक्रमितमध्ये दुईजना भारतीय डिस्चार्ज भइसकेका छन् । २२ जनाको अस्पतालको आइसोलेसन वार्डमा उपचार भइराखेको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले वीरगन्जमा एउटै परिवारमा संक्रमण पोजेटिभ देखा परेपछि चुनौती थपिएको बताए । अब वीरगन्जमा पनि पिसिआर परीक्षणको दायरा बढाउन आवश्यक रहेको उनको भनाइ छ । नारायणी अस्पतालका २५ बेड सबै बिरामीले भरिएको उपाध्यायले बताए । 

वीरगन्जवासीमा त्रास, संक्रमित भेटिएका वडा सिल
छपकैयाका एकै परिवारका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि वीरगन्जवासीमा त्रास फैलिएको छ । स्थानीय सन्दीप यादवले वीरगन्जमा एकैपटक धेरै संख्यामा संक्रमित भेटिएपछि गाउँमा त्रास फैलिएकाले मुख्य सडकमा बाहिरका व्यक्तिलाई प्रवेशमा रोक लगाउँदै अवरोध गर्न थालिएको बताए । छपकैयामा घरबाहिर मानिस निस्कन छाडेका छन् । नगरको छपकैया, मुर्ली, लक्ष्मणवा, इनर्वा, श्रीपुरलगायत स्थानमा बाहिरका व्यक्तिलाई आवागमनमा रोक लगाइएको स्थानीयको भनाइ छ ।

छपकैयामा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएपछि वडालाई सिल गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । विगतजस्तै एउटै वडामा बढी संक्रमण भेटिएकाले थप फैलन नदिने गरी छपकैया टोलमा बिहीबारदेखि अर्को व्यवस्था नहुन्जेलसम्म पूर्णरूपमा सिल भएको उनको भनाइ छ । ‘वीरगन्जसहित जिल्लाका विभिन्न स्थानमा विगतभन्दा बढी कडाइ गरिएको छ,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालयबाट पास लिएकाहरू मात्र बाहिर आवतजावत गर्न पाउने व्यवस्था मिलाइएको छ ।’