मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कलाकार नारद खतिवडा, उत्तम केसी, पुश्कल शर्मा र सुनिल गिरी
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख २४ बुधबार ०९:१०:००
Read Time : > 1 मिनेट
सप्तरंग

लकडाउनमा सेलिब्रेटी : कोही गीत लेख्दै, कोही पुस्तक पढ्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ बैशाख २४ बुधबार ०९:१०:००

हास्य कलाकार नारद खतिवडाले धेरै उतारचढाव देखे । ०३६ सालको जनमतसंग्रह, ०४६ सालको जनआन्दोलन, ०५८ सालको राजदरबार हत्याकाण्ड, ०६२÷०६३ सालको जनआन्दोलन, राजतन्त्रको अन्त्य, ०७२ सालको भूकम्प हुँदै कोरोना भाइरसको कहरसम्म । ती सबै देख्ने–भोग्ने उपयुक्त समयमा आफू जन्मे–हुर्केको अनुभूति गरेका छन् उनले ।

‘यो समयमा दुःख सबैलाई छ । दुःखी सबै छौँ । जहाँ छौँ, जस्तो अवस्थामा छौँ, सन्तुष्ट भएर सुरक्षित रहौँ ।’

कोभिड–१९ को महामारीको यस समयमा उनी विभिन्न ठाउँमा समस्यामा परेकाहरूलाई सहयोग गर्न पनि पुगिरहेका छन् । जीवनमै पहिलोपटक उनले मानिसहरूसँग भौतिक दूरीमा बस्न सिकेका छन् । उनी पुस्तक पढ्न रुचाउँछन् । त्यसैले लकडाउनको समयलाई अध्ययनमा लगाएका छन् । यसबीचमा म्याक्सिम गोर्कीका केही साहित्यिक कृति अध्ययन गरे । बुद्धिसागरको ‘कर्णाली ब्लुज’देखि कुमार नगरकोटीका पुस्तकमा हराए । यहीबीचमा करिब डेढ दर्जन गीत कोरे । 

कलाकार उत्तम केसी लकडाउन पालना गरेर घरमै बसेका छन् । घरवरिपरि घुम्ने र फूलबारी हेर्ने उनको दैनिकी बनेको छ । समय कटाउन कुनै वेला टिभी हेर्छन् र पुस्तक पनि पढ्छन् । मधुमेहको बिरामी भएकाले उनी धेरै सचेत छन् । सामान किन्न बाहिर निस्किनुपर्दा घर छिर्नासाथ साबुनपानीले हात धुन्छन् र स्यानिटाइजर लगाउँछन् । चामल बोकेर परेवालाई चारो दिँदा उनलाई आनन्दानुभूति हुन्छ । 

गायक सुनिल गिरी पनि घरमै बसेर आफ्नै गीतको म्युजिक प्रोडक्सन र एरेन्जमेन्टमा लागिपरेका छन् । दुईवटा गीतको एरेन्जमेन्ट गरिसकेका छन् । अब आफैँले एरेन्जमेन्ट गर्न सक्ने आत्मबल बढाएका छन् उनले । भन्छन्, ‘लकडाउन अर्थपूर्ण नै बनेको छ ।’ केही वर्षपछि व्यावसायिक रूपमै एरेन्जमेन्टमा लाग्ने योजना बुनेका छन् गिरीले यतिवेला । नयाँ गीत लेखेर त्यसको पनि म्युजिक कम्पोज गर्दै छन् उनी ।

लोकदोहोरी गायक पुश्कल शर्मा पनि पाल्पाको तानसेन–१२ स्थित घरमै बसिरहेका छन् । घर–गाउँमा हुँदा पनि उनी सिर्जनात्मक काममै व्यस्त छन् । सांगीतिक क्षेत्रमा लागेयता उनले यति लामो फुर्सदमा बस्न पाएका थिएनन् ।

भावी योजनाबारे सोच्ने फुर्सद लकडाउनले जुराइदिएको उनको भनाइ छ । ‘फुर्सदिलो भइयो भने धेरै कुरा सोच्न भ्याइनेरहेछ,’ उनी भन्छन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन सबै सचेत हुनुपर्ने उनी बताउँछन् । ‘यो समयमा दुःख सबैलाई छ । दुःखी सबै छौँ । तर, सबैभन्दा ठूलो आत्मसन्तुष्टि हो,’ उनी भन्छन्, ‘जहाँ छौँ, जस्तो अवस्थामा छौँ, सन्तुष्ट भएर सुरक्षित रहौँ ।’