१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
कोभिड–१९ का बिरामीको उपचारमा संलग्न डा.निराजन शर्मा, डा. शेरबहादुर कमर र डा. पुजन बल्ल
मञ्जु टेलर काठमाडाैं
२०७७ बैशाख २४ बुधबार ०६:५४:००
Read Time : > 2 मिनेट
पालिका अपडेट

कोभिड–१९ विरुद्ध फ्रन्टलाइनका योद्धा : संक्रमितको उपचारमा अभ्यस्त बन्दै चिकित्सक

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ बैशाख २४ बुधबार ०६:५४:००

पहिलोपटक कोभिड–१९ का बिरामीको उपचारमा अघि सर्दा कैलाली धनगढीस्थित सेती प्रादेशिक अस्पतालका डा. निराजन शर्माको मनमा त्रास थियो । आफूसहितको टिमले उपचार गरेका पाँच जनामध्ये चारजना बिरामी तन्दुरुस्त भएर घर फर्किएयता उनको मनबाट त्रास पनि हटेको छ । ‘कोरोना भाइरस संक्रमितका लागि आवश्यक व्यवस्थापनदेखि उपचारसम्मका कुरा बिस्तारै सिक्दै छौँ,’ उनी भन्छन्, ‘त्यसले आत्मबल पनि बढाएको छ । जोखिम व्यवस्थापनमा चिकित्सकको मनोविज्ञानले पनि ठूलो अर्थ राख्छ ।’

कोरोना भाइरसको प्रकृतिबारे अझै पनि अन्योल रहेकाले बिरामीको उपचारका क्रममा पूर्ण सजगता अपनाउनुको विकल्प भने चिकित्सकसँग नरहेको उनको ठम्याइ छ । कोभिड–१९ पुष्टि नभइसकेका बिरामीको जाँचमा भने उनी अझै जोखिम देख्छन् । उनको भनाइमा लक्षण नदेखिएका बिरामीको जाँच गर्दा कुनै किसिमका सुरक्षा सामग्री प्रयोगमा ल्याइँदैन । ‘कोरोना पुष्टि नहुन्जेलसम्म बिरामी कतिजनाको सम्पर्कमा रह्यो भन्ने यकिन गर्न गाह्रो छ,’ उनी भन्छन्, ‘त्यस्तो बिरामीबाट चिकित्सक मात्र नभई अस्पतालका कर्मचारी पनि संक्रमणको जोखिममा रहन्छन् ।’

‘कोरोना भाइरस संक्रमितका लागि आवश्यक व्यवस्थापनदेखि उपचारसम्मका कुरा बिस्तारै सिक्दै छौँ,’ उनी भन्छन्, ‘त्यसले आत्मबल पनि बढाएको छ । जोखिम व्यवस्थापनमा चिकित्सकको मनोविज्ञानले पनि ठूलो अर्थ राख्छ।’

सोही अस्पतालका डा. शेरबहादुर कमरलाई स्थिति बिस्तारै सामान्य बन्दै गएको महसुस भएको छ । लकडाउनयता कति मानिस भारतबाट भित्रिएर उनीहरूको स्वास्थ्य स्थिति कस्तो छ भन्ने यकिन नहुँदा सजग भने हुनुपर्ने डा. कमरको बुझाइ छ । ‘फ्लुको लक्षण देखिएका र आफैँ जाँच गराउन आएकाहरूमा मात्र कोभिड–१९ को परीक्षण भइरहेको छ,’ उनी भन्छन्, ‘अन्य व्यक्तिमा पनि कोरोना संक्रमण छ कि छैन भन्ने आधार नभएकाले सजग हुनैपर्छ ।’

सेती अस्पतालमा अब एकजना मात्र कोभिड–१९ का बिरामी उपचाररत छन् । करिब महिना दिनदेखि उपचाररत महिलाको रिपोर्ट लगातार पोजिटिभ आइरहेको छ । उनमा कोभिड–१९ को लक्षण भने केही देखिँदैन । ‘उनको उपचारमा पूरै ध्यान दिइरहेका छौँ,’ डा. कमर भन्छन्, ‘तर, बिरामीको चाप धेरै नभएकाले ड्युटीको समय छोट्याएका छौँ ।’ उनका अनुसार बिरामी राखिएको कक्षमा सिसिक्यामेरा जडान गरिएको छ । बिरामीलाई ज्वरो र अक्सिजन नाप्ने तरिका सिकाइएको छ । ‘बाहिरैबाट बिरामीको निरन्तर अनुगमन गरिरहेका छौँ,’ डा. कमर भन्छन्, ‘अब कोरोनासँग जुध्न सकिन्छ भन्ने आत्मबल बढेको छ ।’

सेती अस्पतालका नर्स, प्राविधिकलगायत कर्मचारी अस्पतालले उपलब्ध गराएको क्वार्टरमै बसिरहेका छन् । आफूमा संक्रमण नसरोस् भन्नेमा उनीहरू सजग देखिन्छन् । र, आफूमार्फत संक्रमण समाजमा नपुगोस् भन्नेमा पनि सतर्कता अपनाएका छन् ।

बाग्लुङस्थित धौलागिरि अस्पतालका डा. पुजन बल्ल कोभिड–१९ का बिरामीको उपचारमा खटिँदा चुनौतीसँगै नयाँ विधि पनि सिक्न पाएको बताउँछन् । ‘हामी सिक्दै काम गरिरहेका छौँ, पिपिईजस्ता विषयमा ध्यान दिइयो भने संक्रमण नफैलिने रहेछ भन्ने पनि जानकारी पायौँ,’ उनी भन्छन् । संक्रमणको व्यवस्थापन, संक्रमितको उपचारजस्ता विषय चिकित्सा क्षेत्रका लागि परीक्षा साबित भएको उनको बुझाइ छ ।

‘पहिलो बिरामी अस्पतालमा भर्ना हुँदा निकै डर लागेको थियो । हामीसँग पर्याप्त स्रोत–साधन थिएनन् । आइसोलेसन, भेन्टिलेटर, पिपिईजस्ता अत्यावश्यक सामग्रीको कमी थियो,’ उनी भन्छन्, ‘बिस्तारै आत्मबल बढ्दै गएको छ ।’ अस्पतालहरूमा पर्याप्त मात्रामा सुरक्षा सामग्री उपलब्ध भएमा जस्तोसुकै बिरामीको उपचार पनि सहजै गर्न सकिने मनोबल प्राप्त भएको उनी बताउँछन् । भन्छन्, ‘कोरोना भाइरसप्रति त्रासको मनोविज्ञान सामान्य बन्दै गएको छ ।’

साबुनपानीले हात धुनुपर्ने विषय नेपाली समाजमा वर्षौँदेखि व्यापक प्रचार–प्रसारमा थियो । ‘तर, धेरैले बेवास्ता गर्दै आएका थिए, कोभिड–१९ को महामारीले त्यसको महŒव कति रहेछ भन्ने सिकाइदिएको छ,’ डा. बल्ल भन्छन् ।