मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ बैशाख २४ बुधबार ०४:५५:००
Read Time : > 8 मिनेट
अर्थ

लकडाउनमा चार अर्बको तरकारी भारतबाट आयात

यता कृषिप्रधान देशका किसानको पसिना खेतबारीमै सुक्यो, स्थानीय तरकारी संकलन केन्द्र बन्द गरेर सरकार मूकदर्शक

Read Time : > 8 मिनेट
२०७७ बैशाख २४ बुधबार ०४:५५:००

नेपाली किसानले उत्पादन गरेको तरकारी बारीमा सुकिरहेको छ, सडिरहेको छ । तर, भारतबाट निर्वाध आएको तरकारी सीधै भान्सामा पुगिरहेको छ । नेपाली किसानको उत्पादन उठाउन नमान्ने बिचौलिया व्यापारीले फोनकै भरमा भारतबाट तरकारी मगाएर नाफा कमाइरहेका छन् । नेपाली किसानको पसिना खेतमै सुक्दा सरकार मूकदर्शक छ । 

  • लकडाउन सुरु भएपछि नेपालगन्जमा भारतबाट पाँच करोडको तरकारी आयात भएको छ । तर, व्यापारीले स्थानीय किसानको तरकारी उठाउन मानेका छैनन् । त्यसैले किसानको तरकारी खेतमै सुकेको छ । नेपालगन्ज उपमहानगर–१६ जयसपुरका मुनिर अहमद राहिनको करिब पाँच सय क्विन्टल बन्दागोभीमध्ये ८० प्रतिशत कुहिएर नष्ट भइसकेको छ ।

लकडाउनका कारण सहरी क्षेत्रमा तरकारीको उपभोग करिब ५० प्रतिशतसम्म घटेको छ । यस्तो अवस्थामा मुलुकभित्रै उत्पादित तरकारीले उपभोक्ताको माग धान्नुपर्ने हो । सामान्य अवस्थामा हुने तरकारी खपतमा स्वदेशी र आयातीत तरकारीको हिस्सा आधा–आधा हुन्छ । तर, अहिले तरकारीको उपभोग घटे पनि आयात घटेको छैन, मागको सबैजसो हिस्सा आयातीत तरकारीले कब्जा गरेपछि स्वदेशी किसान आफ्नै तरकारीबारीमा डोजर चलाउन बाध्य बनेका छन् । 

नेपाली तरकारी बजारको आधा तरकारी भारतबाट मात्र आउने गर्छ । गत फागुनमा मात्र पनि कुल खपतको ४८.२७ प्रतिशत तरकारी भारतबाट आयात भएको थियो । लकडाउन सुरु भएको चैत महिनामा मात्र भारतबाट दुई अर्ब ८१ करोड २९ लाख रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा ११ चैतदेखि लकडाउन सुरु भए पनि सीमानाका २ चैतदेखि नियन्त्रित भएका हुन् । 

चैतको तथ्यांक आधार मान्दा नेपालमा दैनिक नौ करोड ३७ लाख रुपैयाँको तरकारी आयात भइरहेको छ । त्यसैले लकडाउनयता २३ वैशाखसम्म ४२ दिनमा चार अर्ब १२ करोड ५५ लाख रुपैयाँको तरकारी आयात भएको मान्न सकिने भन्सारकै एक अधिकारीले बताए । तरकारी अत्यावश्यक वस्तु भएकाले आयात निर्वाध रूपमा भइरहेको भन्सार विभागका महानिर्देशक सुमन दाहालको भनाइ छ । 

चालू आर्थिक वर्षको नौ महिनामा अर्थात् चैत मसान्तसम्म मुलुकमा कुल २३ अर्ब ३९ करोड ४२ लाख रुपैयाँबराबरको तरकारी आयात भएको छ । त्यसअघि फागुनसम्ममा २० अर्ब ५८ करोड १३ लाख रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांक छ । 

तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार आलु र प्याजमा मुलुक परनिर्भर छ । अहिले पनि सहरी मागको ९५ प्रतिशतभन्दा बढी आलु र प्याज भारतबाट आयात भइरहेको छ । ३ देखि ५ प्रतिशत प्याज चीनबाट र सोही परिमाणको आलु भुटानबाट आयात हुने गरेको छ ।

सामान्य अवस्थामा देशभर दैनिक करिब १७ सय मेट्रिक टन तरकारी आयात हुने गरेको छ । त्यसमध्ये आलु, प्याज मात्र एक हजार मेट्रिक टन आयात हुन्छ । भन्सार विभागको तथ्यांकले लकडाउनपछि तरकारीको आयात सामान्य मात्र घटेको देखाउँछ । ११ चैतमा लकडाउन सुरु भएयता २० वैशाखसम्म ५३ हजार पाँच सय ६९ मेट्रिक टन तरकारी आयात भएको छ । यो हिसाबले अहिले पनि दैनिक औसत एक हजार तीन सय ४० मेट्रिक टन तरकारी आयात भइरहेको छ । ‘अहिले आयातीत तरकारीमध्ये आलु, प्याज ६ सय ५० टनजति, बाँकी गोलभेँडा, कागती, भिन्डी, परवल, करेला, खुर्सानी, काँक्रोलगायतका ताजा तरकारी आइरहेको छ,’ घिमिरेले भने । 

बजारमा अहिले कुनै पनि तरकारीको अभाव छैन, उपभोक्ताले खोजेजस्तो सबै तरकारी उपलब्ध भइरहेको पनि घिमिरेले बताए । काठमाडौंमा मात्र दैनिक एक सय ५० टन प्याज र दुई सय टन आलुका खपत भइरहेको उनले बताए । 

व्यापारीहरूले नेपाली किसानको उत्पादन किन्नुभन्दा भारतबाट आयात गर्नु सजिलो मान्ने गरेका छन् । काठमाडौंलगायत सहरी क्षेत्रका उपभोक्ताकहाँ पुग्ने तरकारी संकलनका लागि व्यवसायीले निश्चित ‘च्यानल’ प्रयोग गर्छन् । पहिले नै तय भएका ‘च्यानल’ भत्किएका छन् भने नयाँ ‘च्यानल’ बनेका छैनन् । त्यसैले विभिन्न जिल्लामा उत्पादित तरकारी बजारसम्म आउन सकेको छैन ।

चितवनको किसानले उत्पादन गर्ने तरकारी भरतपुरको तरकारी तथा फलफूल बजारमा जान्छ । अहिले सो बजार बन्द छ, तर त्यस क्षेत्रका किसानले उत्पादन गरेको तरकारी काठमाडौं ल्याउन कुनै पहल भएको छैन । ‘भारतमा तरकारी ल्याउन अवरोध छैन । त्यसैले पहिलेदेखि उताबाट ल्याउने व्यवसायीले ल्याइरहेका छन् । तर, स्वदेशका तरकारी संकलन केन्द्र बन्द भएका छन्, त्यसैले किसानको तरकारी उठेको छैन,’ एक व्यवसायीले भने, ‘नेपालका किसानलाई छुट्टाछुट्टै सम्पर्क गरेर तरकारी संकलन गर्नुभन्दा भारतमा बनिबनाउ च्यानलमा फोन गरेर तरकारी मगाउन सजिलो छ ।’

व्यापारीले स्वाभाविक रूपमा नाफा हेर्ने भएकाले नेपाली किसानको तरकारी संकलनबारे सरकारले नीति बनाउनुपर्ने उनको भनाइ छ । ‘किसानलाई कसरी राहत दिने भनेर व्यापारीले सोच्ने होइन, सरकारले सोच्ने हो । सरकारले बजार व्यवस्थित गरेमा किसानको तरकारी आफ्नै च्यानलबाट बिक्री हुन्छ,’ अर्का व्यापारी भन्छन् । आयातीत तरकारी ल्याउन पहिलेदेखि नै जनशक्ति, ट्रक, बजारलगायतका पूर्वाधारमा ठूलो लगानी भएकाले नियमित रूपमा आयात गर्नुको विकल्प नभएको व्यवसायीहरूको भनाइ छ । 

राजधानीको कालिमाटी फलफूल तथा तरकारी बजारमा अहिले थोक मात्र कारोबार भइरहेको छ । भिडभाड कम गर्न महानगरपालिकासँगको समन्वयमा खुद्राको पसल अन्यत्र सारिएको छ । यसले आपूर्तिमा झन् समस्या भएको व्यवसायीको भनाइ छ । कालिमाटीका थोक तरकारी व्यवसायी प्रकाश गजुरेलले अन्यत्र खुद्रा बजार हुँदा कहाँबाट कसरी तरकारी आइरहेको छ भन्ने यकिन हुनै नसकेको बताए । ‘कालिमाटीबाहिरका विभिन्न ११ ठाउँमा खुद्रा बजार लगाइएको छ । त्यहाँ कहाँ–कहाँबाट कति तरकारी कसरी आइरहेको छ भन्ने थाहै हुँदैन,’ गजुरेलले भने ।

भारतबाट ४२ दिनमा पाँच करोडको तरकारी भित्रियो, तर, नेपालगन्जको उत्पादन खेतमै नष्ट

  • रुपैडिया, सुनौली, रक्सौल र जोगबनी नाका मात्र होइन, महोत्तरीको जलेश्वर भन्सारमार्फत पनि भारतीय तरकारीका ट्रकहरू लाइन लागेर आइरहेका छन् । भारतीय तरकारीको आयात सीमित गर्ने सरकारको कुनै नीति छैन ।

लकडाउन भएयताका ४२ दिनमा नेपालगन्ज नाकाबाट पाँच करोड दुई लाखको भारतीय तरकारी नेपाल भित्रिएको छ । तर, नेपालगन्जआसपासकै गाउँका किसान आफ्नो बारीमा उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउन नसकेर नष्ट गर्न बाध्य छन् । 

खजुरा गाउँपालिका–२ सी–गाउँका किसान गेनालाल मुराऊले १० हेक्टरमा रोपेको गोलभेँडा गाईबस्तुलाई खुवाएका छन् । ‘लकडाउनले बजार लैजान सक्ने अवस्था भएन । घरमा खरिद गर्न आउँदा भिडभाड लाग्ने भएकाले गोलभेँडा रोपेको बारीमा गाईगोरु र भैँसी चरायौँ,’ उनले बाध्यता सुनाए । गत वर्ष यही सिजनमा उनको बारीमा प्रतिदिन ४० क्विन्टल गोलभेँडा उत्पादन हुन्थ्यो, प्रतिकिलो पाँच रुपैयाँमा बिक्री गरेर पनि नाफा कमाएका थिए । तर, यस वर्ष गोलभेँडा बजारमा पठाउने समयमा लकडाउन सुरु भयो । खजुरा गाउँपालिका–८ ए–गाउँका खगेन्द्र बुढाक्षेत्रीले पनि चार कट्ठा जग्गामा लगाएको गोलभेँडा बजारमा पुर्‍याउन नसक्दा कुहिन थालेको बताए । 

नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरका मुनिर अहमद राहिनले एक बिघा बारीमा लगाएको बन्दागोभी कुहिएर नष्ट भएको छ । ‘करिब पाँच सय क्विन्टल बन्दागोभीमध्ये ८० प्रतिशत कुहिएर नष्ट भइसक्यो,’ उनले दुःखेसो पोखे । बन्दा तरकारीसँगै चाउमिन, मःम, पकौडामा बढी खपत हुने गरेको छ । होटेल, रेस्टरेन्ट, बार, कटेज र खाजापसल बन्द भएकाले बिक्री नभएको उनले बताए । 

नेपालगन्ज भन्सार कार्यालयका आइटी अफिसर पवन थापाका अनुसार लकडाउनयता १९ लाख ६४ हजार एक सय २५ किलो विभिन्न जातका भारतीय तरकारी भित्रिएको छ । ‘अघिल्ला महिनाभन्दा तरकारी आयातमा थोरै कमी आए पनि निर्वाध रूपमा आयात भइरहेको छ, दैनिक कम्तीमा पाँच ट्रक तरकारी र फलफूल आउँछन्,’ उनले भने । 

बारीमै कुहियो झापाका कृषकको काँक्रा र खरबुजा

झापा शिवसताक्षी–६ का दीपक मण्डलले माई नदीको बगर क्षेत्रमा पाँच बिघा जग्गा भाडामा लिएर काँक्रा र खरबुजा लगाएका थिए । उत्पादन भएर बजार पठाउने वेला लकडाउन भयो, खरबुजा कुहिएर सकियो, काँक्रो बगरमा सुकिरहेको छ । 

बिघाको १० हजार भाडा तिरेर खेती गरेका मण्डलले उत्पादन हुँदासम्म करिब सात लाख लगानी गरेका थिए । ‘लकडाउनले त गर्नु गर्‍यो । साहुले लकडाउन भनेर छाड्दैन । अहिले त लकडाउन भए पनि तरकारी लान त पाइन्थ्यो । तर, हाम्रो कुहिने वेलासम्म त बारीमा जाँदा पनि पुलिसले लखेट्थ्यो,’ उनले भने, ‘यसपटक नराम्रोसँग घाटा लाग्यो । ऋण पो कसरी तिर्ने ?’ 

गौरीगन्ज–१ स्थित माई खोलाकै बगरमा खरबुजा, काँक्रो र फर्सी लगाएका मोरङका कृषक मुन्ना चौधरी पनि उस्तै तनावमा छन् । करिब पाँच लाख खर्च गरेर तीन बिघामा उनले खेती गरेका थिए । ‘खरबुजा पाक्न थालेपछि लकडाउन सुरु भयो । विषादी लगाएर भए पनि केही दिन त थमायौँ । तर, लकडाउन नखुलेपछि वैशाख पहिलो हप्तासम्म त सबै खरबुजा कुहियो,’ उनले भने । चौधरी पाँच महिना बगरमै टहरा बनाएर बसे, अहिले बगरमै छन् । खरबुजा कुहियो । तर, लकडाउनले उनी घर जान सकेका छैनन् । ‘अहिले पो लकडाउनले यहाँ छु । घरमा गएपछि त साहुले छाड्दैन,’ उनले पीडा सुनाए, ‘हाम्रो त पेसै यही हो, अब एक वर्ष कसरी घर चलाउने ? ऋण कसरी तिर्ने ? सोच्नै सकेको छैन ।’

त्यस्तै, भद्रपुर–६ का सन्तोष राईले १० कट्ठा क्षेत्रफलमा भुइँकटहर लगाएका थिए । बैंकबाट ऋण लिएर गरेको खेती उठाउनै पाएनन् । लकडाउन सुरु हुन लाग्दा भुँइकटहर काठमाडौं लाने तयारी भइरहेको थियो, तर लकडाउनले रोक्यो । त्यसपछि लगातार पानी पर्दा बारीमै भुँइकटहर कुहिएको राईले बताए । ‘ऋण गरेर गरेको लगानी डुब्यो, कृषि पेसा नै गरेर कसरी ऋणबाट उस्किने ?’ उनले भने ।

गौरादहस्थित महारानी झोडामा एक सय दुई किसानले अर्गानिक खेती गर्छन् । उनीहरूले हिउँदे तरकारी बेचिसकेपछि लकडाउन सुरु भयो । तर, बर्खे तरकारी लगाउन उनीहरूलाई समस्या भएको छ । ‘लहरे खेती यतिवेला उत्पादन हुनुपर्थ्यो, तर हामीले १५ जेठ मा हुने गरी लगाएका छौँ । मौसम प्रतिकूल छ, उत्पादन त घट्ने नै भयो । लकडाउनले त कृषकलाई रुनु न हाँस्नु बनाएको छ,’ महारानी झोडा अर्गानिक कृषि समूहका अध्यक्ष बाबुराम दाहालले भने ।

  • झापा शिवसताक्षी–६ का दीपक मण्डलले माई नदीको बगर क्षेत्रमा पाँच बिघा जग्गा भाडामा लिएर काँक्रा र खरबुजा लगाएका थिए । उत्पादन भएर बजार पठाउने वेला लकडाउन भयो । उनको काँक्रो र खरबुजा बगरमा सुकेर कुहिँदै छ ।

झापाको मेची, बिरिङ, माईलगायत खोलाको बगरमा हजारौँ बिघामा फलफूल र तरकारी खेती गरिन्छ । यो सिजनमा काँक्रा, फर्सी, खरबुजा, बोडी, लौका, गोलभेँडालगायत तरकारी उत्पादन हुन्छ । जिल्लाभर मौसमी र बेमौसमी गरी आठ हजार हेक्टर क्षेत्रमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । 

काँकडभिट्टा नाका भने २६ चैतदेखि पूर्ण रूपमा ठप्प छ । भारतको पश्चिम बंगाल सरकारले नेपाल, बंगलादेश र भुटानसँगको नाका पूर्ण रूपमा ठप्प बनाउँदा यो नाकाबाट आउने सम्पूर्ण सामग्री रोकिएको छ । 

दुवै देशमा लकडाउन भए पनि २५ चैतसम्म पेट्रोलियम पदार्थ, एलपी ग्यास, फलफूल, तरकारीलगायत अत्यावश्यक सामग्री भने आयात भइरहेको थियो । अहिले यी सबै पनि रोकिएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुव विश्वकर्माले बताए । नाका ठप्प भएका कारण नेपाली उत्पादनले बजार पाएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले बताए । ‘लकडाउनको सुरुवाती समयमा केही समस्या भए पनि अहिले त कृषकले समस्या झेल्न परेको छैन,’ उनले भने, ‘हामीले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर पासविनै झापा र मोरङ तरकारी लैजाने व्यवस्था मिलाएका छौँ ।’

महोत्तरीमा भारतीय तरकारीकै भर

भारतबाट महोत्तरीमा आउने तरकारी लकडाउनमा निर्वाध आइरहेको छ । बरु, नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार पाएको छैन । जलेश्वर नगरपालिका–१० सारी टोलका किसान हनिफ अन्सारीले करिब पाँच कट्ठा खेतमा घिरौला, लौका, भिन्डी, काँक्रो, बोडीलगायत तरकारी लगाएका थिए । साइकलमा राखेर गाउँ डुलाउँदासमेत तरकारी बिक्री नभएको उनले बताए । भारतबाट आउने तरकारी स्थानीय उत्पादनभन्दा केही सस्तो पर्ने भएकाले उपभोक्ताले कम रुचि देखाउने गरेको उनले सुनाए । तरकारी खेती गर्न बिउदेखि मलसम्मका आवश्यक सामग्री भारतबाटै ल्याउनुपर्ने भएकाले स्थानीय तरकारी स्वस्थ्यकर भए पनि थोरै महँगो हुने उनले बताए । 

सहकारी वा त्यस्तै अन्य माध्यमबाट आफ्नो उत्पादन सोझै उपभोक्तासम्म पुर्‍याउन सके मूल्य केही सस्तो पर्ने कृषकहरू बताउँछन् । जिल्लाका जलेश्वर, मटिहानी, बल्वा, रामगोपालपुर र लोहारपट्टीलगायत पालिकामा तरकारी खेती धेरै गरिन्छ । तर, लकडाउनका कारण बजारसम्म ढुवानी नै हुन सकेको छैन । 

जलेश्वर भन्सार कार्यालयका प्रमुख गुणराज सुवेदीले मंगलबार मात्रै भारतबाट दुई ट्रक आलु, एक ट्रक फलफूल र दुई पिकअप हरियो तरकारी आयात भएको बताए । उनका अनुसार हरियो तरकारी दैनिक चार पिकअपसम्म आउने गर्छ । 

दाङमा क्विन्टल उत्पादन, किलोमा बिक्री

बारीमै क्विन्टलका हिसाबले तरकारी बिक्री गर्दै आएका दाङका कृषक यसपटक भने किलोमा बिक्री गर्न विवश छन् । लकडाउनका कारण व्यापारी नआउँदा फुटकरमा बिक्री गर्नुपरेको उनीहरूले बताए । घोराही उपमहानगरपालिका–१० दुन्द्राका कृषक नवराज केसीले लकडाउनमा तरकारी बेच्न नपाउँदा करिब ३० लाखबराबरको घाटा लागेको बताए । गत वर्ष तीन बिघामा लगाएको तरकारीबाट राम्रो आम्दानी भएपछि यस वर्ष उनले आठ बिघामा बन्दागोभी र कोरियन फर्सी लगाएका थिए । ‘लकडाउनका कारण बिक्री नहुँदा उखेलेर फाल्नुपरेको छ,’ उनले भने । 

दैनिक ५० क्विन्टल फर्सी उत्पादन भइरहेको छ भने फुटकरमा पाँच–सात किलो तरकारी मात्र बिक्री भइरहेको छ । ‘सामान्यतया ५० रुपैयाँ किलोमा बिक्री हुने फर्सी १० रुपैयाँमा बेच्नुपरेको छ,’ उनले भने । लकडाउनका कारण ३० लाखबराबरको तरकारी खेर गएको उनले बताए । 

घोराही–१० कै मनकलाल चौधरीको सात कट्ठा जमिनमा लगाएको भेडेखुर्सानी बारीमै कुहिएको छ । आफूले बिक्री गर्न लग्न नपाएपछि व्यापारीलाई सम्पर्क गरेको र उनीहरू पनि नआएको उनले बताए । ‘सबै व्यापारीलाई फोन गरेर अनुरोध गरेँ, कसैले चासो दिएनन् । अहिले बारीमै कुहिँदै छ,’ चौधरीले भने । जिल्लाका अन्य किसानको समस्या पनि उस्तै छ । लकडाउनले गर्दा तरकारी कृषक मर्कामा परेका छन् ।

काभ्रेमा पाँच रुपैयाँ किलो पनि बिकेन काउली

लकडाउनका कारण बजार बन्द हुँदा काभ्रेका किसानले न्यूनतम मूल्यमा पनि तरकारी बिक्री गर्न पाएका छैनन् । बनेपा नगरपालिका–४ का अष्टकाजी श्रेष्ठले दुई रोपनी जग्गामा लगाएको काउली खेर गइरहेको बताए । ‘लकडाउनले बजारमा बिक्री नहुँदा पाँच रुपैयाँ किलोमा बिक्री गर्न बाध्य भएका छौँ, त्यो पनि बिक्री भइरहेको छैन,’ उनले भने । लकडाउनअघि ६० रुपैयाँ किलोसम्म बिक्री हुने गरेको थियो । 

उनले तरकारी लैजाने ठेकेदारलाई काउली सित्तैमा लग्न र काउली टिप्ने खेतालालाई ज्याला मात्रै दिन भनेका थिए । तर, ठेकेदारले त्यो पनि नमानेको उनले बताए । ‘ठेकेदारलाई काउली सित्तैमा लैजानुस् काउली टिप्ने खेतालाको ज्याला दिनुस् भन्दा पनि मानेनन्,’ उनले भने, ‘पाँच रुपैयाँ किलोमा बेचेर काउली टिप्ने खेतालालाई खाजा खुवाउन पनि पुग्दैन ।’ 

कृषक सोवन कर्माचार्यले तीन रोपनी जग्गामा लगाएको काउली सित्तैमा बाँडेको बताए । ‘केही गाईवस्तुलाई खुवाएँ, केही सित्तैमा बाँडेँ र केही कुहाएर मल बनाएको छु,’ उनले भने, ‘लकडाउनले त बिगारेकै थियो, मौसमले पनि साथ दिएन । काउली टिप्ने वेला असिना परेर सबै कालो बनायो ।’

पनौती नगरपालिकाकी मीना तामाङले जग्गा भाडामा लिएर उत्पादन गरेको च्याउ न्यून मूल्यमा बिक्री गरेको बताइन् । प्रतिकिलो तीन सयमा बिक्री गर्नुपर्ने वेला एक सय रुपैयाँमा बिक्री गर्न बाध्य भएको उनले सुनाइन् । अन्य किसानको अवस्था पनि उस्तै छ ।  

गाईबस्तुलाई तरकारी खुवाउँदै तनहुँका कृषक

लकडाउनका कारण तनहुँका किसानको तरकारी बारीमै कुहिन थालेको छ । बन्दीपुर गाउँपालिका–५ का कृषक कृष्णप्रसाद घिमिरेले बारीमा तरकारीको हालत देख्दा रुन मन लाग्ने बताए । ‘फर्सी र काँक्रो आठ रुपैयाँमा पनि बिक्री नभएपछि गाईबस्तुलाई खुवाइरहेका छौँ,’ उनले भने । 

यसअघि गाउँमै पुग्ने व्यापारी लकडाउनका कारण आएका छैनन् । गाउँबाट बजारमा लान दिइएको छैन । केही समयअघि तनहुँमा अन्य जिल्लाबाट आउने तरकारीमा रोक लगाइएको थियो । तर, अभाव हुन थालेपछि बागमती प्रदेशका लागि खुला गरिएको छ । अन्य जिल्लाबाट आएको तरकारी बिक्री भइरहे पनि जिल्लाकै कृषकले उत्पादन गरेको तरकारी खेर गइरहेको कृषक रमा शर्माले गुनासो गरिन् । ‘हाम्रै तरकारी बजारसम्म ल्याउन वातावरण बनाइदिए त हुन्थ्यो,’ उनले भनिन् । 

बाँकेमा विश्वराज पछल्डङ्ग्या झापामा चिरञ्जिवी घिमिरे महोत्तरीमा रञ्जन भण्डारी दाङमा भूपेन्द्र वली काभ्रेमा इन्द्र थापा  तनहुँमा उपेन्द्र पौडेल