१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ बैशाख २३ मंगलबार ०८:२७:००
Read Time : > 2 मिनेट
नयाँCity

लकडाउनमा सक्रिय वृद्धवृद्धा

Read Time : > 2 मिनेट
२०७७ बैशाख २३ मंगलबार ०८:२७:००

बालुवाटारका ९२ वर्षीय कीर्तनकृष्ण भट्टराई न आफू बाहिर निस्किन्छन्, न त अरूलाई घरमा आउन दिन्छन् । लकडाउनकै बीचमा शारीरिक व्यायाम छाड्न नहुने चेत उनमा छ । त्यही चेतले उनलाई करेसाबारीसम्म डो-याउँछ । बारीमा पनि मास्क छुटाउँदैनन् । दुई ठूला भूकम्प र नाकाबन्दी भोगेका उनलाई कोभिड–१९ को महामारी भने सकसपूर्ण लागेको छ । सीधै जीवनसँग जोडिएको भएर तातो र झोलिलो खानेकुरा बढी खान्छन् । शरीरमा रोग प्रतिरोधात्मक क्षमता जो बढाउनु छ ।

बालाजु ढुंगेधाराकी ७४ वर्षीया सुशीला स्थापितले लकडाउनको पहिलो सातादेखि नै लिपि सिक्न थालिन् । उनले सिकिरहेको रञ्जना लिपि त धेरैले सुनेका छन्, ‘कुटा अक्षर’बारे भने कमैलाई जानकारी होला । सामाजिक सञ्जालका कक्षामार्फत उनले यी लिपिमा आफूलाई एकाग्र गराएकी छिन् । लिपिप्रतिको उनको रुचि फेसबुकको ‘कालिग्राफी जात्रा’ नामक पेजले पूरा गरिदिएको छ ।

काठमाडौं गणबहालकी ८४ वर्षीया दिलहीरा तुलाधरको दैनिकी छ, बत्ती कात्ने र नातिनीसँग खेल्ने । ‘उमेर र शरीरले नै घरबाहिर जान दिँदैन,’ उनी भन्छिन्, ‘म त सधैँ घरभित्रै छु ।’ अहिले परिवारका सबै सदस्य घरभित्रै भएकाले उनी हर्षित छिन् ।

‘अजिज’ नामक सामाजिक संस्थाले ज्येष्ठ नागरिकले तयार पारेका सामग्रीलाई अनलाइन स्टोर र विक्रेतामार्फत बजारीकरणमा पनि सहयोग गर्छ । उनीहरूका लागि स्वास्थ्य र खुसी प्रवर्द्धनका लागि मञ्च उपलब्ध गराउँछ संस्थाले ।

७६ वर्षीय नन्द स्थापित भने लेखपढमा रुचि राख्छन् । उनी अहिले नेपाल भाषामा लिखित प्रेमबहादुर कसाँको लोक कथासंग्रह ‘न्यहं कँ ह बाँख’ (कथाहरू सुन र भन)को नेपाली अनुवाद गरिरहेका छन् । उनलाई साथ दिएकी छिन्, नातिनी लिभाना तुलाधरले । यस्तै, पोखराकी ८० वर्षीया सञ्चाली तामाङ काम नलाग्ने प्लास्टिकबाट सुकुल बनाउन पोख्त छिन् । लकडाउनका वेला आफ्नो सीपलाई आकार दिनमा व्यस्त छिन् ।

स्वयम्भुकी ६९ वर्षीया शीलाहीरा तुलाधर भजन–कीर्तन समूहबाट एक्लिएकी छिन् । तर, एक्लै हुँदाको लाभ उठाइरहेकी छिन्, हार्मोनियम बजाउँदै भजन गाएर । यस्तो वेला भजन–कीर्तनले तनाव हटाएर मनलाई शान्त बनाउने उनको ठम्याइ छ ।

उनीहरू सबैलाई जोडेको छ, ‘अजिज’ नामक सामाजिक संस्थाले । नेपाल भाषामा यसको अर्थ हुन्छ, हजुरआमाको मञ्च । यस संस्थाले ज्येष्ठ नागरिकहरूको सीपबाट तयार भएका सामग्रीलाई अनलाइन स्टोर र विक्रेतामार्फत बजारीकरणमा पनि सहयोग गर्छ । उनीहरूका लागि स्वास्थ्य र खुसी प्रवर्द्धनका लागि मञ्च उपलब्ध गराउँछ संस्थाले । ‘लकडाउनको समयमा के गर्दै छन् हाम्रा हजुरबुबा, हजुरआमा ?’ अहिले अजिजले सामाजिक सञ्जालमा चलाएको अभियानको नाम हो यो । यस अभियानमार्फत ज्येष्ठ नागरिकले यतिवेला गरिरहेको गतिविधि नजिकबाट नियालिरहेकि छिन्, अजिजकी सहसंस्थापक लोरिना स्थापित ।

‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बूढाको’ भन्ने उखानलाई पछ्याइरहेकी छिन् स्थापितले । उनले ज्येष्ठ नागरिकका कला, सीप, ज्ञान र अनुभवलाई पोडकास्टमार्फत सुनाउने गरेकी छिन् संस्थाको फेसबुक पेज तथा अजीज् पोडकास्ट युट्युब च्यानलमार्फत। अजीज्मा करिब ३० जना ज्येष्ठ नागरिक प्रत्येक रुपमा अजीज्मा विभिन्न प्रकारका सामान मेकरको रुपमा संलग्न छन् । यद्यपि, मेकर्स बाहेक पनि सयभन्दा बढी वृद्धवृद्धा फेसबुक पेज मार्फत अजीज्सँग जोडिएको छन् ।

डेढ वर्षअघि ‘अजिज’ सुरु गर्दा उनले आफ्नै हजुरआमाको मोजा बुन्ने कौशललाई फेसबुकमार्फत बाहिर ल्याएकी थिइन् । ‘उहाँले बुन्नु भएको मोजा फेसबुकमार्फत बेचेर हजुरआमाको हातमा पैसा दिँदा उहाँको मुहारमा छाएको कान्ति र उत्साह बयान गरिसाध्य थिएन,’ स्थापित भन्छिन्, ‘उहाँको त्यस खुसीले मलाई उहाँजस्तै हजुरबा, हजुरआमा खोज्न साहस दियो ।’ उनको त्यही प्रयासले लकडाउनको समयलाई ज्येष्ठ नागरिकले उत्पादनशील बनाइरहेका छन् ।