मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २३ मंगलबार ०७:५८:००
Read Time : > 1 मिनेट
समाचार

सांसद यादव ‘अपहरण’ घटनामा अनुसन्धान गर्न बाटो खुल्यो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ बैशाख २३ मंगलबार ०७:५८:००

सरकारी वकिल कार्यालयले जाहेरी दर्ता गरेपछि प्रहरीमा पठाइँदै नेकपाका सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वमहानिरीक्षक खनालविरुद्ध मुद्दा चलाउन सकिने

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले दिएको अपहरणसम्बन्धी उजुरी जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सोमबार दर्ता गरेको छ । जाहेरी दर्ता भएसँगै अनुसन्धानको बाटो खुलेको छ । 

सांसद यादवले गत १६ वैशाखमै नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसन) तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी सरकारी वकिल कार्यालयमा दिएका थिए । सरकारी वकिल कार्यालयले अध्ययनपछि निर्णय गर्ने जनाएको थियो । जाहेरी दर्ता गरिएको र मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइने सहन्यायाधिवक्ता हरि रेग्मीले बताए ।

फौजदारी अपराध (कार्यविधि) संहितामा प्रहरीले जाहेरी दर्ता गर्न नमाने सरकारी वकिल कार्यालयले दर्ता गरेर प्रहरीमा पठाउन सक्ने उल्लेख छ । सोहीअनुसार प्रहरीमा पठाउन लागिएको हो । सरकारी वकिल कार्यालयले जाहेरी दर्ता गरेपछि घटनाको अनुसन्धान गर्न प्रहरी बाध्य हुने कानुनी व्यवस्था छ । गत १४ वैशाखमा डा.यादवसहित जनता समाजवादीका नेताहरू जाहेरी लिएर महानगरीय प्रहरी परिसर काठमाडौं गएका थिए । तर, महोत्तरीको कार्यक्षेत्र पर्ने भन्दै प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो । 

अबको प्रक्रिया के हुन्छ ? 

सरकारी वकिल कार्यालयले जाहेरी दर्ता गरेर पठाएपछि अनुसन्धान अघि बढाएर प्रहरीले त्यसलाई टुंगोमा पुर्‍याउनैपर्ने हुन्छ । सुरुमा अनुसन्धान अधिकृत तोकेर प्रहरीले प्रारम्भिक प्रमाण संकलन गर्नेछ । जाहेरी र अन्य प्रमाणका आधारमा प्रहरीले जाहेरी परेका व्यक्तिलाई पक्राउका लागि अदालतमा अनुमति माग्नेछ । अदालतले पक्राउ पुर्जी जारी गरेमा पक्राउ गरी बयान लिनेछ । बयान र प्रमाणहरू पर्याप्त भएमा सरकारी वकिल कार्यालयले मुद्दा चलाउने नत्र मुद्दा नचलाउने निर्णय गर्न सक्छ । 

सांसद अपहरण घटनामा मुद्दा चलाउन पर्याप्त आधार भएको अनुसन्धान अधिकृतहरू बताउँछन् । ‘कुनै पनि कार्य अपराध हुनका लागि आपराधिक मनसाय र आपराधिक कार्य हुनु जरुरी हुन्छ,’ ती प्रहरी अधिकारी भन्छन्, ‘यो केसमा दुवै कुरा प्रस्ट छन् । मनसाय पार्टी फुटाएर राजनीतिक फाइदा लिनेछ । महोत्तरीबाट विभिन्न दबाब र प्रलोभनमा पारेर काठमाडौंसम्म ल्याउनु आपराधिक कार्य हो ।’ 

गत १० वैशाख सांसद र पूर्वप्रहरी महानिरीक्षक खनाल यादवलाई लिन महोत्तरी गएका थिए । आफू नजाने बताउँदा पनि दबाब र प्रलोभनमा पारेर उनीहरूकै गाडीमा राखेर ल्याइएको यादवले बताएका छन् । काठमाडौं म्यारियट होटेलमा राखिएको र बिहान आफू भागेको उनको जाहेरीमा उल्लेख छ । सांसद बस्नेत र श्रेष्ठ तथा पूर्वमहानिरीक्षक खनालले भने राजीखुसीमै उनलाई काठमाडौं ल्याइएको दाबी गरेका छन् । 

यो घटनामा महोत्तरी प्रहरीले समेत सघाएको प्रदेश नम्बर २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवले बताएका छन् । जसअनुसार महोत्तरी प्रहरीमाथि समेत छानबिनको माग भएको छ । दुई साता हुँदा पनि प्रहरीले अनुसन्धानमा चासो नदिँदा प्रमाणहरू लोप हुन सक्ने जोखिम छ । 

बस्नेत, श्रेष्ठ र खनालले पनि दिए आयोगमा उजुरी

आफूहरूलाई पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको योजनामा फसाउन लागिएको भन्दै नेकपा सांसद बस्नेत र श्रेष्ठ तथा पूर्वमहानिरीक्षक खनालले सोमबार नै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी गरेका छन् । अपहरणको झुटा आरोप सामाजिक सञ्जालमा लेखेको भन्दै पूर्वप्रधानमन्त्री भट्टराईलगायतविरुद्ध दिएको जाहेरी पनि सरकारी वकिल कार्यालयले दर्ता गरेको छ । गत बिहीबार यादवले आयोगमा उजुरी दिएका थिए । उजुरीउपर आयोगले अझै छानबिन सुरु गरेको छैन ।