मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २२ सोमबार २०:२८:००
Read Time : > 1 मिनेट
अर्थ

समस्या सम्बोधन नभए भयावह अवस्था आउने होटेल संघको चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २२ सोमबार २०:२८:००

होटेल संघ नेपाल (हान)ले होटेल व्यवसायीको समस्या सम्बोधन नभए भयावह अवस्था आउने चेतावनी दिएको छ ।

६ महिनासम्म होटेल बन्द गर्ने गरी गरेको निर्णयप्रति सरकारले असहमति जनाएपछि हानले यस्तो चेतावनी दिएको हो । आइतबार हानले ६ महिना होटेल व्यवसाय बन्द गरी श्रमिकहरूलाई १२ प्रतिशत तलब दिने र त्यसमा असहमति जनाए कामदार नै कटौती गर्ने निर्णय गरेको थियो ।

हानको उक्त निर्णयप्रति असहमति जनाउँदै नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हानसँग सोमबार छलफल गरेको थियो । छलफलमा हानका पदाधिकारीहरूले व्यवसायी र श्रमिक दुवै पक्षका कुराहरू सम्बोधन नभए भयावह अवस्था सिर्जना हुने चेतावनी दिएका छन् ।

विश्वका धेरै होटेल र पर्यटन व्यवसाय बन्द हुँदा कर्मचारी कटौती गरिरहे पनि नेपालमा त्यो अवस्था सिर्जना हुन नदिन उचित निर्णय हुनुपर्ने हानले बताएको छ । अहिलेको समस्यालाई सबैले इमानदारीपूर्वक सम्बोधन गर्नुपर्ने होटेल संघ नेपाल (हान)का कानुनी सल्लाहकार गान्धी पण्डितले बताए ।

पण्डितले होटेल व्यवसायीको समस्यामा आँखा चिम्लेर बसे अन्य क्षेत्रमा पनि आगो सल्किन सक्ने चेतावनीसमेत दिए । उनले भने, ‘समस्यालाई सबैले इमानदारीपूर्वक सम्बोधन गरेमा ठूलो समस्या हुँदैन, तर आँखा चिम्लेर बस्यो भने भयावह अवस्था आउन सक्छ ।’ यो समस्या होटेल व्यवसायीको मात्रै नभई सबैको भएको भन्दै उनले यसलाई समयमै सरकार र सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताए ।

सोमबार हानका पदाधिकारी र सरकारी पक्षबीच आठ–दश महिनासम्म होटेल व्यवसाय बन्द भए के गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल भएको उनले बताए । उनले लामो समय होटेल व्यवसाय बन्द हुने अवस्थामा सरकारले गर्न सक्ने सहयोगका विषयमा पनि छलफल भएको बताए ।

व्यवसायी र श्रमिक दुवै पक्षलाई राहत पुग्ने गरी सहमतिमा पुग्न सकिने संकेत आजको छलफलबाट मिलेको उनको भनाइ छ । उनले भने, ‘समस्या होटेल सञ्चालकहरूको मात्रै होइन । श्रमिक, व्यवसायी र राज्यको पनि हो ।’ सम्भावित बेरोजगारीको अवस्थालाई त्रिपक्षीय रूपमा छलफल गरेर होटल, श्रमिक कसैलाई पनि मार नपरोस् भनेर सोमबार छलफल भएको पण्डितले बताए ।

अर्को बैठक २९ वैशाखमा बस्ने भएको छ । हानले आइतबार आगामी असोज मसान्तसम्म होटेल व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो । पूर्णरूपमा होटेल बन्द हुने अवस्थामा कामदारलाई १२ दशमलव ५ प्रतिशत मात्रै तलब दिने, तर कामदारले त्यसमा असहमति जनाए आंशिक वा पूर्ण रूपमा कामदार कटौतीको प्रक्रिया सुरु गर्ने निर्णय पनि गरेको थियो । कोभिड– १९ को असर अहिले होटेल व्यवसायमा पनि परेको छ ।