मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
सागर चन्द काठमाडाैं
२०७७ बैशाख २२ सोमबार १६:०६:००
Read Time : > 4 मिनेट
फिचर

लकडाउनले बल्झायो देश नहुनुको पीडा

Read Time : > 4 मिनेट
सागर चन्द, काठमाडाैं
२०७७ बैशाख २२ सोमबार १६:०६:००

सेराज अहमद पाकिस्तानको कराँचीमा १० कक्षामा पढ्थे । फाइनल परीक्षाको तयारीमा थिए । तर, सन् २०१३ को एक साँझ अचानक सेराजका बुबा नासिर अहमदले पाकिस्तान एयरलाइन्सको नेपाल जाने टिकट लिएर आए, पूरै परिवारका लागि । 

सेराजको आठजनाको परिवार नेपाल आइपुग्यो । सेराजको १० कक्षाको अन्तिम परीक्षा छुट्यो । त्यससँगै साथीभाइ, परिवार, आफन्तजन छुटे । देशसँगै भाषा पनि छुट्यो । 

त्यसपछि सेराजको परिवार अहिलेसम्म पाकिस्तान फर्किएको छैन । उनीहरूसँग अहिले पनि पाकिस्तानको पासपोर्ट छ । तर, पाकिस्तान फर्किन सक्दैनन् । किनभने सन् २०१३ मा सेराज र उनको परिवारले सदाका लागि पाकिस्तान छाडेको थियो । उनीहरू शरण खोज्दै नेपालसम्म आइपुगेका हुन् ।

सेराजको परिवार मुस्लिम समुदायभित्रको अल्पसंख्यक मानिने अहमदी समुदायको हो । सन् १९७४ मा जुल्फीकर अली भुट्टो नेतृत्वको पाकिस्तानी सरकारले संविधानबाटै अहमदी समुदायलाई गैरमुस्लिम घोषित गरेपछि पाकिस्तानमा अहमदी समुदायका मानिसमाथि अत्याचार सुरु भयो । अहमदियालाई गैरमुस्लिम घोषित गरिएकै वर्ष पाकिस्तानमा ३२ जना अहमदिया समुदायका मानिसको हत्या भयो ।

हत्या, महिलामाथि बलात्कार र सम्पत्ति कब्जा हुन थालेपछि पाकिस्तानी अहमदी समुदायका मानिस शरण खोज्दै विभिन्न देश गए । यसरी शरण खोज्दै २७ भन्दा बढी अहमदी परिवारका मानिस नेपाल आइपुगे ।

रमजानको पवित्र महिना चलिरहेको छ । तर, ६५ वर्षीय नासिर अहमदलाई भने यसपटक अल्लाह रिसाएका हुन् कि जस्तो लागिरहेको छ । रमजान मनाउन नसकेको–नपाएको पीडासँगै खाद्यान्नको अभाव खेपिरहेका छन्, नेपालमा रहेका पाकिस्तानी अहमदी शरणार्थी । 

शरणार्थीहरू त्यसै पनि सधैँ आर्थिक संकटमा हुन्थे । त्यसमाथि लकडाउन भएपछि त उनीहरू भोकै बस्नुपर्ने अवस्थामा पुगेका छन् । ‘४० दिनदेखि घरमा बन्द छौँ । के खानु, के लाउनु,’ नेपाली प्रस्ट बोल्न नसक्ने नासिर हिन्दी भाषामा भन्छन् । उनको बोलीमा वेला–वेला उर्दू शब्द पनि मिसिन्छन् । 

भोकभन्दा ठूलो पीडा हो आफ्नो पहिचान नहुनु । मुलुक नहुनु । नागरिक नहुनु । सबैभन्दा ठूलो असुरक्षा र अनिश्चितता हो अनागरिक हुनु । त्यसैले त नासिर हरेक कुरामा नोस्टाल्जिक हुन्छन् । ‘उनीहरूले हामीलाई नन मुस्लिम भने । हामीमाथि पाबन्दी लगाइयो,’ नासिर सुनाउँछन्, ‘नमाज पढ्न बन्देज गरियो । मस्जिद जान बन्देज लगाइयो ।’ पाकिस्तान मात्र होइन साउदी अरेबियाले पनि अहमदिया मुस्लिमलाई गैरमुस्लिम करार गर्दै हजयात्रामा प्रतिबन्ध लगाएको छ ।

अहमदीलाई मुस्लिमभित्रको सुन्नी समुदायकै अंग मानिन्छ । धर्मको यो कहरबाट जोगिन नेपाल आइपुगेका सेराज (अ)नागरिक भएकै कारण जागिर पाउँदैनन् । उनी डराइडराई बोल्छन् । कतै केही गलत पो भइहाल्ने हो कि ! कतै यहाँबाट पनि निकाला गर्ने हुन् कि भन्ने चिन्ताले उनलाई सधैँ पिरोलिरहन्छ ।

सेराजले केएफसी, कल सेन्टर, फर्निचर शोरुममा जागिर गर्न खोजे । ‘यहाँको नागरिक होइनौ भन्दै जागिर दिएनन्,’ टुटेफुटेको नेपालीमा सेराज शरणार्थी हुनुको पीडा सुनाउँछन् ।

शरणार्थी हुनुको अप्ठ्यारो यतिमै कहाँ सकिन्छ र ! दुई वर्षअघि नासिरकी आमा र बुबाको पाकिस्तानमा मृत्यु भयो । सेराजका दुई भतिजाको मृत्यु भयो । फोनमै उनीहरूले आफन्तको मृत्युको खबर सुने । फोनमै उनीहरूले आँसु बगाए । आफ्नी अम्मी र अब्बुजानको अन्तिम संस्कारमा सामेल हुन नपाएका नासिर अल्लाह पुकार्दै भन्छन्, ‘यस्तो पनि जीवन हुन्छ भनेर सोचेकै थिएनौँ ।’

दुःख परेको वेला । संकटमा परेको समयमा यी शरणार्थी आफ्नो मुलुक सम्झिन्छन् । ‘कहिलेकाहीँ आमा, श्रीमती, भाउजू देश सम्झेर रुन्छन्,’ सेराज भन्छन् । उनी आमा, भाउजू रोएको चुपचाप हेरिबस्छन् ।
रोइरहेकी आमा, भाउजूलाई सम्झाउन पनि सक्दैनन्, बरु उनीहरूले नदेख्ने गरी सेराज पनि आँसु बगाउन थाल्छन् । ‘उनीहरू रोएको देखेर हामी पनि चुपचाप हेर्छौं, आफ्नो मन दुखाउनेबाहेक केही गर्न सक्दैनौँ,’ सेराज भन्छन् ।

ज्यान जोगाउन पाकिस्तान छोडेर आएका अधिकांश शरणार्थीको परिवार साथमा छैन । शरण खोज्दै जाँदा परिवार छिन्नभिन्न भयो । ६० वर्षका रसिद अहमद अहिले दुई छोरा र श्रीमतीसँग नेपालमा शरण लागेका छन् । तर, उनका दुईजना छोरी भने मलेसियामा छन् । उनीहरू पनि मलेसियामा शरणार्थी भएर गएका हुन् ।

रसिदका बुबा, भाइ पाकिस्तानमै छन् । ‘पूरा परिवार बिखरगया,’ बुढ्यौलीले छोपिसकेका रसिद मलिन स्वरमा भन्छन्, ‘पिताजी र भाइसँग फोनमा बात हुन्छ ।’ उता बस्नेलाई पनि सजिलो नभएको सुनाउँछन् रसिद । रसिद भन्छन्, ‘मेरो भाइ हरेक महिना नयाँ–नयाँ सहरमा बस्न जान्छ । एउटै सहरमा लामो समय बस्न सक्दैन ।’

५३ वर्षे निसार अहमदको कराँचीमा घर, जमिन थियो । गाडी थियो । टेक्सटाइल कम्पनीमा जागिर थियो । ती सबै छाडेर निसार अहिले यहाँ भाडाको कोठामा बसेका छन् । तिब्बती, भुटानी र रोहिंग्या शरणार्थी जसरी पाकिस्तानी शरणार्थी क्याम्पमा बसेका छैनन् । पाकिस्तानी शरणार्थीहरू कपन र गल्फुटार क्षेत्रमा फ्ल्याट भाडामा लिएर बसेका छन् ।

एउटा फ्ल्याटको १५ हजार रुपैयाँसम्म भाडा तिर्छन् । क्याम्पमा बस्नलाई उनीहरूको संख्या धेरै छैन । उनीहरूलाई नेपाल सरकारले शरणार्थीको मान्यता दिएको छैन । उनीहरू शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको पत्रको आधारमा बसिरहेका छन् ।

लकडाउनले मजदुरी गर्न नपाएका यी शरणार्थीलाई अब कोठाभाडा तिर्ने समस्याले पिरोलेको छ । निसार भन्छन्, ‘अहिले हाम्रो शरमा (टाउकोमा) दुई महिनाको रेन्ट छ, लकडाउन बढ्दै गएको छ । पैसा तिर्न सकेन भने त हामीलाई घरबाट निकाल्छन् ।’

कसैगरी यी शरणार्थीले भाडा तिर्न सकेनन् भने सडकमा आउनेछन् । निसारका तीनजना छोराले मजदुरी गरेर कमाउँथे । तर, लकडाउनले उनीहरूले पाउने काम रोक्यो । रसिद भन्छन्, ‘हामीलाई त अरू कसैले गर्न नसक्ने काम गर्न बोलाउँछन् ।’ 

सेराज घरमा मार्बल बोक्ने काम गर्थे । अग्लो घरमा मार्बल बोक्दा सुन्निएको खुट्टा देखाउँदै उनी भन्छन्, ‘हार्ड वर्क गरेर यो खुट्टा सुन्नियो ।’ यस्तै परिश्रमको काम गरेर सेराजका दाइको खुट्टाको अप्रेसन नै गर्नुपर्‍यो ।

अधिकांश शरणार्थी निर्माण मजदुरको काम गर्छन् । जहाँ न ज्याला सुरक्षित न ज्यान । ‘काम पनि चाहिएको वेला पाइँदैन । काम पाइयो ज्याला समयमा पाइँदैन,’ निसार भन्छन् । लकडाउनमा खानाको समस्यासँगै घरभाडाले पिरोलेका यी शरणार्थीलाई शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको नेपालस्थित कार्यालयले प्रतिव्यक्ति तीन हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । यो पैसा त खाद्यान्नको जोहो गर्नमै ठिक्क भयो ।

पाकिस्तानी शरणार्थीका पहिलो पुस्ताका नासिर, निसार र रसिदलाई अब आफ्नो जीवनमा खुसियाली फर्केला भन्ने आस छैन । तर, छोराछोरीको जीवन भने यसरी शरणार्थी भएर नबिते हुन्थ्यो भन्ने कामना गर्छन उनीहरू । 

‘ना हम इस देश के ना किसि और देश के,’ आफ्नो छोरा सेराजतर्फ हेर्दै नासिर भन्छन्, ‘लेकिन हमारे बच्चौं के साथ य नाइन्साफी ना हो ।’

पाकिस्तानमा अहिले २५ लाख जति अहमदिया मुस्लिम छन् । मुस्लिम समुदायभित्र अल्पसंख्यक मानिने अहमदिया पाकिस्तानबाहेक इन्डोनेसिया, अल्जेरियामा पनि छन् ।

मिर्जा गुलाम अहमद (१८३५–१९०८)का अनुयायी अहमदियामाथि सन् २०१६ यता भने पाकिस्तान सरकार थोरै नरम देखिन थालेको छ । पाठ्यपुस्तकबाट समेत नाम हटाइसकिएका नोबेल पुरस्कार विजेता अहमदी अब्दुस सलामको नाममा सन् २०१६ मा पाकिस्तानमा एक विश्वविद्यालय खोल्ने अनुमति दिइएको छ । 

उनको चिहानमा समेत मुस्लिम लेख्ने अनुमति दिइएको छ । यसअगाडि उनको चिहानमा लेखिएको मुस्लिम मेटाइएको थियो । सलामले सन् १९७९ मा भौतिक विज्ञानतर्फबाट पुरस्कार जितेका थिए । 

तस्बिर : दीपेन्द्र ढुंगाना