मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
केदार दाहाल काठमाडौं
२०७७ बैशाख २२ सोमबार १०:४६:००
Read Time : > 4 मिनेट
अर्थ

कोभिड–१९ असर : निर्माणाधीन दर्जनौँ होटेलको ६४ अर्ब लगानी जोखिममा

Read Time : > 4 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ बैशाख २२ सोमबार १०:४६:००

नेपालमा सेराटन, हायात प्लेस, डबल ट्री बाई हिल्टनलगायत एक दर्जनभन्दा बढी पाँचतारे र चारतारे ठूला होटेल निर्माणाधीन छन्, निर्माणाधीन र सञ्चालनको तयारी गरिएका होटेलमा करिब ६४ अर्ब लगानी छ, जसमध्ये ४५ अर्ब बैंकको हो, कोभिड–१९ का कारण निर्माणकै चरणमा रहेका होटेलको लगानी जोखिमपूर्ण बनेको छ।

................................

कोरोना भाइरसका कारण मुलुकमा निर्माणाधीन दर्जनौँ ठूला होटेलको ६४ अर्ब रुपैयाँ लगानी जोखिममा परेको छ । सन् २०२० को भ्रमण वर्षलाई केन्द्रित गरेर पाँचतारे, चारतारेसहित डिलक्स रिसोर्टहरू निर्माणका चरणमा छन् ।

तीमध्ये अधिकांश होटेलहरू सन् २०२० को मध्यतिर र सन् २०२१ को सुरुवातमै सञ्चालनमा आउने तयारीमा थिए । तर, कोरोनाका कारण नेपाल भ्रमण वर्ष २०२० स्थगित मात्रै भएन, सम्पूर्ण पर्यटन क्षेत्र नै आगामी एक–डेढ वर्ष ठप्प हुँदा नयाँ होटेलहरूमा बैंकहरूको ४५ अर्बभन्दा बढी लगानी पनि जोखिममा परेको व्यवसायीहरू बताउँछन् । 

निर्माणाधीन होटेल सेराटन। तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दै निजी क्षेत्रलाई लगानी गर्न दुई वर्षअगाडि नै आह्वान गरेको थियो । सोहीअनुसार साना र ठूला लगानीकर्ताले होटेल क्षेत्रमा लगानी गरेका थिए । काठमाडौंसहित पोखरा, चितवन, भैरहवा, विराटनगर, नेपालगन्ज क्षेत्रमा सयौँको संख्यामा होटेलहरू निर्माणका चरणमा छन् । 

काठमाडौंमा सञ्चालनको अन्तिम चरणमा रहेको हायात प्लेस गत अप्रिल महिनाबाटै खुल्ने योजना थियो । तर, कोभिड–१९ को असरबाट आगामी अक्टोबरसम्मका लागि लम्बिएको छ । ४ अर्बभन्दा बढी लगानी रहेको पाँचतारे होटेल हायात प्लेसमा सबै किसिमका उन्नत सुविधा दिने तयारी रहेको लगानीकर्ता पवन गोल्यान बताउँछन् । ‘१ सय ५३ वटा रुम रहेको होटेल अब अक्टोबरमा उद्घाटन गर्ने गरी समय सारेका छौँ,’ गोल्यानले भने । 

निर्माणको चरणमा रहेको काठमाडौं बाराही आगामी सेप्टेम्बरबाट सञ्चालनमा ल्याउने लक्ष्य थियो । ९० करोड लगानी रहेको चारतारे होटेल बाराहीमा ८० रुम रहने लगानीकर्ता विप्लव पौडेल बताउँछन् । ‘७० प्रतिशत बैंकको लगानी छ, अब ब्याज र किस्ता तिर्न समस्या रहेको छ,’ पौडेलले भने । बाराही समूहले पोखरामा सराङकोट माउन्टेन लज पनि हालै सञ्चालनमा ल्याएको छ । 

भूकम्प र नाकाबन्दीका कारण निर्माण कार्यमा बाधा झेल्दै आएको काठमाडौं सेराटनको कोभिड–१९ को प्रभावका कारण सञ्चालनको अवधि झनै लम्बिएको छ । सन् २०१८ मै निर्माणको लक्ष्य राखेको होटेलको समयसँगै लगानीसमेत बढ्दै गएको एमआइटी ग्रुपको होल्डिङ्स नेपालका अप्रेसन म्यानेजर सुरेश चित्रकार बताउँछन् ।

‘सन् २०२१ को जनवरीमा सञ्चालनको लक्ष्य थियो, अब कम्तीमा ६ महिना पर धकेलिने देखिएको छ,’ चित्रकारले भने । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको लगानी रहेको होटेलको लगानी ८ अर्बबाट अहिले १२ अर्ब पुग्न लागेको चित्रकार बताउँछन् ।

होटेलको ९५ प्रतिशत काम पूरा भइसकेको छ । २ सय २२ वटा कोठा रहने सेराटन होटेलमा हालसम्मकै सबैभन्दा ठूलो लगानी भएको छ । ‘अमेरिकी डलरको भाउ झन्–झन् बढ्दै छ, हामीले प्रयोग गर्ने सामान त सबै डलर तिरेर ल्याउने हो, लगात बढेको बढ्यै छ,’ चित्रकारले भने । बेसमेन्टबाहेक १७ तला रहेको होटेलमा चारवटा रेस्टुरेन्ट, स्पा, स्विमिङ पुल, फिटनेस सेन्टर र सबैभन्दा ठूलो हल रहनेछ ।  

झापाको धुलाबारीमा एक महिनाअघि तयार भएको पाँचतारे स्तरको होटेल मेची क्राउनको उद्घाटन नै कोभिड–१९ का कारण रोकिएको छ । आठ बिघा जग्गामा २ अर्ब लगानीमा निर्मित उक्त होटेल वैशाखदेखि नै सञ्चालनमा ल्याउने तयारी थियो । मेची क्राउन पाँचतारे होटेलका रूपमा क्यासिनोसमेत सञ्चालन गर्ने तयारीमा छ । 

पोखराको बेगनास तालछेउमा निर्माणाधीन सांग्रिला भिलेज रिसोर्ट सञ्चालनमा पनि अन्योल छाएको छ । ४५ प्रतिशत निर्माण सम्पन्न भइसकेको होटेल सन् २०२१ को अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो ।

काठमाडौंको पाँचतारे होटेल सांग्रिलाका लगानीकर्ता पाण्डे समूहकै लगानी रहेको रिसोर्टको निर्माणको अवधि थप लम्बिने प्रवीण पाण्डे बताउँछन् । ‘पुरानै लगानी अन्योलमा रहेको अवस्थामा नयाँ लगानीकर्ताको नयाँ होटेलमा झनै समस्या आउनेछ,’ पाण्डेले भने । डिलक्स रिसोर्टको ३६ वटा भिल्ला रहने पाण्डेले बताए । 

चौधरी समूहको लगानी रहेको नगरकोटमा निर्माणाधीन भँगेरी दरबार रिसोर्ट पनि ५० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको छ । १ अर्ब लगानी रहने रिसोर्ट २०२२ मा मात्रै सञ्चालनमा आउने निर्देशक नवीन गुरुङ बताउँछन् ।

‘कोभिड–१९ का कारण निर्माणको चरणमा रहेको भँगेरी रिसोर्टमा अब लागतसमेत थपिन सक्छ,’ निर्देशक गुरुङले भने । ३६ वटा कोठा रहने रिसोर्ट सुविधासम्पन्न रहने गुरुङको भनाइ छ । 

चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा उद्योग विभागमा ४६ वटा होटेल तथा रेस्टुराँ दर्ता भएका छन् । दर्ता भएका होटेलको कुल लगानी प्रतिबद्धता ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । यी होटेलले कुल १९ सय ९३ जनालाई रोजगारी दिने उल्लेख गरेका छन् । दर्ता भएका होटेलमध्ये ६ वटा ठूला आकारका छन्, मझौला ३० वटा र साना १० वटा रहेका छन् । कुल होटेलमध्ये ३८ वटा होटेल शतप्रतिशत विदेशी लगानीका रहेका छन् । होटेल क्षेत्रमा अहिलेको मार्केट भ्यालुअनुसार १० खर्ब लगानी रहेको अनुमान गरिएको छ ।

चालू आर्थिक वर्षको आठ महिनासम्ममा होटेलमा बैंकिङ क्षेत्रको लगानी (कर्जा प्रवाह) १ खर्ब ६ अर्ब ९५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १७.१ प्रतिशत अर्थात् १५ अर्ब ६५ करोड १६ लाख रुपैयाँले बढी हो । 

गत आर्थिक वर्ष ०७५-७६ सम्म होटेलमा बैंकको लगानी ९१ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । जुन आव ०७४-७५ को भन्दा ३५.१ प्रतिशत अर्थात् २३ अर्ब ७१ करोडले बढी भएको राष्ट्र बैंकको तथ्यांक छ ।

३ हजार तारे होटेल ६ महिना बन्द गर्ने प्रस्ताव, ७ लाख मजदुर प्रत्यक्ष प्रभावित

तारे होटेलहरूको साझा संस्था होटेल संघ नेपाल (हान)ले देशभरका ३ हजार होटेल ६ महिना बन्द गर्ने प्रस्ताव गरेको छ । हानले आफ्ना सदस्य रहेका ३ हजार पर्यटकस्तरका होटेलहरू वैशाख १ गतेदेखि ६ महिनासम्म बन्द गर्ने प्रस्ताव सरकारलाई पठाउने निर्णय गरेको हो । ‘६ महिना होटेल बन्द गर्ने प्रस्ताव सरकारलाई दिने निर्णय गरेका छौँ, अन्य निर्णय सरकार–मजदुर संगठनसँगको छलफलपछि हुनेछ,’ हानका प्रथम उपाध्यक्ष विनायक शाहले भने । 

कोभिड–१९ को असरले एक वर्ष पर्यटक नआउने निष्कर्ष निकाल्दै हानले बन्द गर्ने निर्णय गरेको हो । यसले ७ लाखभन्दा बढी मजदुर प्रभावित हुनेछन् । उनीहरूलाई ६ महिनासम्म १२.५ प्रतिशत तलब मात्रै दिने प्रस्तावसमेत हानको छ ।

सरकारले तोकेको १३ हजार ७ सय ५० रुपैयाँको १२.५ प्रतिशत तलब दिने प्रस्ताव हानले गरेको शाहले जानकारी दिए । मजदुरले सेवाशुल्कबापतको १० प्रतिशत रकम भने पाउनेछन् । ‘बाँकी सरकारले सहयोग गर्नुपर्छ भन्ने हो, आम्दानी नभएपछि जीवन धान्नका लागि मात्रै मजदुरलाई पैसा दिने निर्णय गरेका हौँ,’ उपाध्यक्ष शाहले भने । 

श्रमिक युनियनसँग १२.५ प्रतिशतका दरले पारिश्रमिक लिन सहमत नभएको अवस्थामा सबै सदस्य होटेलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीका लागि प्रक्रिया चलाई सूचना दिई आंशिक वा पूर्ण रूपमा बिदा दिनेसमेत हानले निर्णय गरेको छ । ‘निर्णय गरेको प्रस्ताव सोमबार सरकारसमक्ष बुझाएर छलफल हुनेछ, त्यसपछि मात्रै निर्णयहरू कार्यान्वयनमा जानेछन्,’ शाहले भने । 

केही दिनअघि सरकारले अहिले ५० प्रतिशत र लकडाउन खुलेपछि ५० प्रतिशत तलब दिनुपर्ने निर्णय गरेपछि उनीहरूले होटेल बन्द गर्ने निर्णयमा पुगेको बुझिएको छ । अन्य उद्योगहरू लकडाउनपछि खुले पनि होटेललाई त्यसरी मान्न नसकिने निष्कर्षसमेत हानले निकालेको छ ।